बाल मृत्युदर घटाउन प्रादेशिक अस्पताल जनकपुरमा शिशु ‘सुसार’ कार्यक्रम

दिपेन्द्रप्रसाद सिंह
प्रकाशित
२०७६ माघ १४ गते ४:५०

प्रदेश २ मा बाल मृत्युदर संख्या न्यूनीकरण गर्न शिशु स्याहार कार्यक्रम ‘सुसार’ लागू हुने भएको छ। यो प्रदेशमा मातृ तथा नवजात शिशु मृत्युदर अन्य प्रदेशको तुलनामा उच्च रहेको भन्दै कार्यक्रम लागू गर्न लागिएको हो।

जनकपुर प्रादेशिक अस्पतालमा हाल दैनिक ४० देखि ५० जनाले बच्चा जन्माउने गरेको र तीमध्ये सातदेखि १० वटा शल्यक्रियामा हुने गरेको अस्पतालका प्रमुख डा. नागेन्द्र यादवले बताए। अस्पतालमा सुसार कार्यक्रम लागू भएपछि वर्तमान अवस्थामा सुधार ल्याई विभिन्न ज्ञान, सीप तथा प्रविधिका माध्यमबाट गर्भवती अवस्थादेखि प्रसुति नहुन्जेलसम्म नियमित निगरानी गरिने छ।

नियमित मातृ स्याहार र शिशु स्याहार गरिँदा प्रसुति सेवालाई प्रभवकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमै उचित निर्णय लिन स्वास्थ्यकर्मीहरूलाई समेत सशक्त बनाउने सुसार कार्यक्रमकी प्रबन्धक रेजिना गुरुङले बताइन्। उक्त कार्यक्रमपछि मातृ तथा शिशु स्याहारमा संलग्न स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि तालिम दिने, भु्रणको मुटुुको धड्कन जाँच्न मोयो, नवजात शिशुको मुटुको धड्कन जाँँच्न नियोबिट तथा जन्मँदा श्वास फेर्न नसकेका शिशुलाई कृत्रिम श्वासप्रश्वास गराउन अपराइट ब्याग–मास्कजस्ता आधुनिक उपकरण प्रयोगद्वारा सेवाको गुणस्तर बढाउने लक्ष्य लिएको कार्यक्रमकी सञ्चार विशेषज्ञ शृजना शर्माले जानकारी दिइन्।

मुलुकमा हाल वार्षिक ६ लाख बच्चा जन्मिने गरेको तथ्यांक छ। तीमध्ये ११ हजार शिशु मृत अवस्थामै जन्मिने गर्छन् भने उचित स्याहार अभावले १३ हजार नवजात शिशुको एक महिना नपुग्दै मृत्यु हुने गरेको छ।  सरकारले सन् २०३० सम्ममा हालको सरदर नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई घटाएर जीवित जन्ममा १२ र मृत जन्ममा प्रतिहजार १३ मा झार्ने लक्ष्य लिएको छ।

सरकारको लक्ष्यलाई सहयोग गर्न गोल्डेन कम्युनिटीले सुसार कार्यक्रममार्फत् बढिभन्दा बढी गर्भवती जाँच र प्रसुति गराउने अस्पतालमा यो कार्यक्रम लागू गरेको कम्युनिटीका प्रतिनिधि प्रतीक्षा भट्टराईले जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय