प्यानल होइन, असल उम्मेदवार छान्नुहोस्

अहिले सामाजिक सञ्जालमा नेपाल चिकित्सक संघको चुनाव हाबी भइरहेको छ । चिकित्सकहरूको संस्था नेपाल चिकित्सक संघको २८औँ कार्यकारिणी समितिको चुनावको चर्चा टिभी, पत्रपत्रिका, अनलाइनलागायत सञ्चारमाध्यममा पनि उत्तिकै छ । आ–आफ्ना एजेन्डासहित उम्मेदवारहरू भोट माग्न तल्लीन छन् ।

सबैजना म नै राम्रो र मैले नै चिकित्सा क्षेत्रका बेथिति सुल्झाउन सक्छु भन्ने नारा घन्काइरहेका देखिन्छन् । यसले उनीहरूको आत्मविश्वास प्रतिविम्बित गर्ने भएकाले सकारात्मक रूपमा हेर्न सकिन्छ । तर, जेजति कुरा गरे पनि चिकित्सकका धेरै समस्या समाधान हुन बाँकी छन्, जसलाई चिरफार गर्ने चुनौती हामीसामु छ ।

संघ राजनीतिक अंशबण्डाबाट अछुत रहन सकेन
संघको चुनावमा मुख्यतया लोकतान्त्रिक सामावेशी समूह (कांग्रेसनिकट) र पेसागत समावेशी समूह ( कम्युनिस्टनिकट) भएर दुई प्यानल मैदानमा छ । केही स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा उत्रिएका छन् ।

सबैजना प्रतिस्पर्धात्मक व्यवस्थामा एकै ठाउँमा आउनुलाई सकारात्मक रूपमा हेर्नुपर्छ । तर, चिकित्सकीय सेवा दिने बौद्धिक वर्ग कहिलेसम्म पार्टीनिकट भएर आमने–सामने हुने ? कहिलेसम्म राजनीतिक आस्था बोकेर हिँड्ने ? केही व्यक्तिको स्वार्थका कारण चिकित्सा क्षेत्रले कहिलेसम्म दुःख भोग्ने ? यस्ता गम्भीर प्रश्नमा हामी सबैले सोच्नुपर्छ ।

जबसम्म पार्टीगत राजनीतिबाट मुक्त भएर विशुद्ध पेसागत संगठनका रूपमा संघलाई स्थापित गरिँदैन, तबसम्म चिकित्सक र चिकित्सा क्षेत्रका समस्या यथावत् रहन्छन् ।

चिकित्सक संघमा पनि उम्मेदवारले राजनीतिक पार्टीले जस्तै भोट माग्ने, भोटका लागि चिनेजानेका मानिस लगाउने, जातिका आधारमा भोट माग्ने पुरानै शैलीले जग बसेको छ जब कि उम्मेदवारले मतदातामाझ आफ्नो बौद्धिकता परीक्षण गराउनुपर्ने थियो । यस्ता कुरामा सिनियर चिकित्सकले चासो नदेखाउनु चिकित्सा क्षेत्रको हितमा देखिँदैन । यसको मूल्य भावी पुस्ताले चुकाउनुपर्नेछ ।

पूरै प्यानललाई भोट दिनुभन्दा असल उम्मेदवार छान्नु उपयुक्त
व्यक्ति असल भयो भने संस्था राम्रो हुन्छ । उदाहरणका लागि विद्युत् प्राधिकरणका कुलमान घिसिङ र चिकित्सा क्षेत्रका अग्रज भगवान् कोइरालालाई लिन सकिन्छ । सबै चिकित्सक साथीहरूलाई मेरो आग्रह छ– कुनै पूर्वाग्रह नराखी, नातावाद, क्रिपावाद, जातिवादजस्ता कुराबाट माथि उठेर असल व्यक्तिलाई भोट दिनुहोस् ।

असल उम्मेदवार चयन गर्दा ध्यान दिनुपर्ने कुरा
१. मताधिकारको प्रयोग गरौँ, आफन्तवाद, जातिवादबाट माथि उठेर आफ्नो विवेक प्रयोग गरौँ ।

२. सामाजिक सञ्जालबाट उम्मेदवारले गरेको प्रतिबद्धता मात्र नहेरी, उसले चिकित्सा क्षेत्रमा गरेको योगदानतर्फ पनि ध्यान दिऔँ ।

३. उम्मेदवारले कत्तिको सामाजिक काम गरेका छन्, कुन–कुन संस्थामा रहेर के काम गरेका छन्, मूल्यांकन गरौँ ।

४. चिकित्सा क्षेत्रको समस्या हल गर्न कुन व्यक्ति सक्षम छ, परिवर्तन ल्याउने क्षमता भएको व्यक्तिलाई मात्र नेतृत्वमा पुर्याउने गरी सूक्ष्म मूल्यांकन गरेर मात्र मतदान गरौँ ।

हामी सबै मिलेर असल उम्मेदवार छान्न सक्यौँ भने मात्र चिकित्सा क्षेत्रको भविष्य राम्रो होला र समग्र स्वास्थ्य क्षेत्रको मुहार फेर्न सकिएला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय