चीनबाट फर्किएकी ४८ वर्षीया महिलामा कोरोना भाइरस आशंका, मंगलबार परीक्षण गरिने

चीनबाट स्वदेश फर्किएकी ४८ वर्षीया नेपाली महिलामा कोरोना भाइरस आशंका गरिएको छ । उनी चीनमा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किएकी थिइन् ।

शनिबार केही लक्षणसहित टेकु अस्पताल पुगेकी उनको मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिने अस्पतालका एक चिकित्सकले जानकारी दिए । प्रयोगशालाले सोमबार स्वदेशमै भाइरस परीक्षण सरु गरेको छ । सोमबार गरिएको दुई परीक्षणमा दुवै नतिजा ‘नेगेटिभ’ आएको छ ।

संक्रमण नदेखिपछि एक अमेरिकनसहित चीनलाई ट्रान्जिट बनाएर विदेशबाट फर्किएका २८ वर्षीय पुरुषलाई सोमबार नै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यसअघि चीनको उहानबाट फर्किएका ३३ वर्षीय एक नेपाली विद्यार्थीमा संक्रमण पुष्टि भएको थियो ।

पहिलो संक्रमण प्रमाणित भएका पुरुष परीक्षणको रिपोर्ट आउनुअघि नै डिस्चार्ज भइसकेका थिए । अहिले उनको अवस्था सामान्य रहेको तर टेकु अस्पतालको नियमित सम्पर्क र निगरानीमा रहेको चिकित्सकहरूले बताएका छन् ।

चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ८० जनाको ज्यान गइसकेको छ । चीनबाहेक पनि फ्रान्स अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, भारत, हङकङ, नेपाललगायत १३ देशमा संक्रमित फेलापरिसकेका छन् । सबै संक्रमित चीनबाट फर्किएको पाइएको छ । डिसेम्बर अन्तमा देखिएको यो नयाँ भाइरसबाट चीनमा २ हजार ५ भन्दा बढी मानिस संक्रमित भइसकेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । यद्यपि, यो संख्या अझै बढी रहेको दबी अन्तर्राष्ट्रिय विज्ञहरूको छ ।

नेपाल सरकारले विमानस्थललगायत सीमानाकाहरूमा उच्च सतर्कता अपनाइएको जानकारी दिएको छ । सरकार तथा विज्ञहरूले भाइरसबाट आत्तिनेभन्दा पनि सावधानी अपनाउन आमजनमा अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय