कसरी आयो कोरोना?

चीनको उहान सहरलाई निकै आतंकित बनाएको ‘कोरोना भाइरस’ को त्रास अहिले विश्वभर फैलिइरहेको छ।

दिनहुँ उहानमा यो भाइरसबाट संक्रमित भएर मृत्यु हुने मानिसको संख्या बढिरहेको छ।

आमचिकित्सा विज्ञानलाई नै चुनौती दिनेगरी एकाएक फैलिएको कोरोना भाइरसले संसारलाई त्रसित बनाइरहेको छ।

चीनबाट बाहिरिएका समाचारअनुसार अहिलेसम्म उहानमा ८० भन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ।

२ हजार ८ सयभन्दा बढी मानिस उहानमै संक्रमित भइसकेको चीनका आधिकारिक समाचार एजेन्सीहरूले जनाएका छन्।
संक्रमित हुने र मृत्यु हुनेको संख्या सँगसँगैजसो बढिरहेको छ।

कसरी पत्ता लाग्यो?
अनुसन्धानको कुनै पनि निष्कर्षले यसको यकिन जवाफ दिन सकेको छैन।

सुरुमा उहान सहरबाट फर्किएका एकजना बिरामी परेका थिए। सुरुमा उनलाई निमोनियाको आशंका गरियो। निमोनियाकै उपचार भइरहेको थियो।

तर, उनलाई निको भएन। अन्त्यमा ५० वर्षीय उनको मृत्यु भयो। याे गत अघिल्लाे साेमबारकाे घटना थियाे।

विश्व स्वास्थ्य संगठनले त्यसको नमुनाको प्रयोगशाला परीक्षण गरेपछि ‘कोरोना भाइरस’ भएको पुष्टि भयो।

संगठनले २०१९ डिसेम्बर ३१ मा यसको पुष्टि गरिसकेकाे थियो।

त्यो बेला धेरै मानिस संक्रमित भएर थला परिसकेका थिए।

२०२० मध्य जनवरीतिर त्यसबाट मानिस भकाभक बिरामी हुन थाले। मृत्यु हुनेको संख्या बढ्दै गयो।

निमोनियाले ग्रसित ती मानिस उहान नजिकैको एउटा सामुद्रिक बजारका थिए।

त्यहाँ समुद्रका जीव किनबेच हुने ‘माछा बजार’ छ।

वैज्ञानिकहरूले यो भाइरस त्यस्तै समुद्रका कुनै जीवबाट मानिसमा सरेको हुनसक्ने आशंका गरेका छन्।

किनकि, सन् २००० सुरुवाततिर चीनमै फैलिएको भाइरस ‘सार्स’ पनि एउटा जंगली बिरालोबाट मानिसमा सरेको पुष्टि भएको थियो।

त्यो भाइरसले चीनमा मात्रै करिब ८ सय मानिसको ज्यान लिएको थियो।

त्यस्तै लक्षणबाट संक्रमित पार्ने अर्काे भाइरस ‘मर्स’ २०१२ तिर मध्यपूर्वका देशमा फैलिएको थियो।

यो भाइरस पनि एउटा उँटबाट मानिसमा सरेको पुष्टि भयो।
कोरोना भाइरस के हो?
‘कोरोना’ ग्रिक शव्द ‘कोरोन’ (korone) को अपभ्रंश रूप हो। जसको अर्थ ताज वा मुकुट अर्थात्, ‘क्राउन’(crown) हुन्छ।

भाइरसको स्वरूपको आधारमा यसलाई यो नाम दिइएको हो।

‘कोरोना’ खासगरी जनावर, पंक्षी तथा जलीय जीवबाट मानिसमा सर्ने भाइरस समूह हो।

अहिले देखिएको यो भाइरस पनि यसै समूहको एक सदस्य हो।

योसहित अहिलेसम्म यस्ता सात भाइरस फेलापरिसकेका छन्।

यसलाई वैज्ञानिकहरूले ‘नोबेल कोरोना’ पनि भनेका छन्। यसको अर्थ ‘नयाँ भाइरस’ भन्ने पनि हुन्छ।

यसलाई ‘उहान कोरोना भाइरस’ पनि भनिएको छ। र, यसलाई ‘एनसिओभी’ भनेर पनि चिनाइएको छ।

यसको उपचार सम्भव छ?
यसको ठ्याक्कै मिल्ने औषधी वा भ्याक्सिन अझै पत्ता लागेको छैन।

केही दिनअघि चीनले आफ्ना वैज्ञानिक उक्त भाइरसविरुद्धको भ्याक्सिन पत्ता लगाउन निकै प्रयासरत रहेको बताएको थियो।

तर, अहिलेसम्म त्यसविरुद्धको कुनै औषधी पत्ता लागेको छैन।

निमोनिया तथा सामान्य रुघाखोकीजस्ता लक्षणले ग्रस्त बनाउने यो भाइरसले सुरुमा फोक्सोमा आक्रमण गर्छ, जसका कारण स्वासप्रश्वासमा निकै अफ्ठ्यारो हुन्छ।

विश्व स्वास्थ्य संगठनको नयाँ रोग अनुसन्धान युनिटका डा. मारिया भ्यान केरखोभ भन्छिन्, ‘कोरोना भाइरसको ठ्याक्कै त्यस्तो कुनै उपचार छैन। तर, यसका लक्षणको भने केही हदसम्म उपचार गर्न सकिन्छ।’

डाक्टरहरूको सल्लाह छ– ‘सकेसम्म यसबाट आफैं बच्ने हो। जस्तो कि, राम्रोसँग हात धुने, जनावरहरूको संगत र सम्पर्कबाट टाढा रहने आदि।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय