कोरोना भाइरसबाट बच्न पर्यटन मन्त्रालयले जारी गर्‍यो १२ बुँदे निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोनाभाइरसविरुद्ध उच्च सतर्कता अपनाउन १२ बुँदे निर्देशन जारी गरेको छ । विदेशी पर्यटक तथा विदेश गएर फर्किएका नेपालीले कोरोनाभाइरसको संक्रमण भित्र्याउन सक्ने जोखिमलाई मध्यनगर गर्दै मन्त्रालयले सतर्कताका लागि निर्देशन जारी गरेको हो । विशेषगरी, चीनबाट आउनेलाई लक्षित गरी मन्त्रालयले त्रिभुवन विमानस्थल र उत्तरी सीमानाकामा चनाखो रहन निर्देशन गरेको छ ।

अन्तर्राष्ट्रिय हवाई प्रवेश विन्दुका रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा Dedicated Health Check Desk का लागि आवश्यक पर्याप्त स्थान उपलब्ध गराउने, समन्वय एवम् सहजीकरण गर्ने, नेपालमा स्थलमार्गबाट समेत पर्यटक प्रवेश गर्ने स्थानहरु खासगरी रसुवा, यारीनाकालगायत उत्तरी सीमानाकाहरु समेतमा उल्लेखित सतर्कता र पूर्वसावधानीहरु अपनाउन मन्त्रालयको निर्देशन छ ।

त्यसैगरी, विमानस्थलमा कार्यरत कर्मचारीहरुले कार्यस्थलमा मास्क, पन्जा र आवश्यकताअनुसारका अन्य स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्ने, चिनियाँ पर्यटकको बढी उपस्थिति हुने काठमाडौं, पोखरा, चितवन, लुम्बिनीजस्ता स्थानहरुमा विशेष पूर्वसावधानी अवलम्बन गर्ने–गराउने र पर्यटकलाई सेवा दिने निजी क्षेत्रका सबै संस्थाहरुले यस भाइरसबारे अवलम्बन गर्नुपर्ने सजगता एवम् पूर्वसावधानी सम्बन्धमा आफ्ना कर्मचारीलाई तत्काल सुसूचित गर्ने गराउनेलगायत निर्देशन मन्त्रालयले दिएको छ ।

चीनमा फैलिरहेको कोरोनाभाइरसका कारण ८० भन्दा बढी व्यक्तिको ज्यान गुमाइसकेका छन् भने २ हजार ५ भन्दा बढीमा संक्रमण पाइएको छ । नेपालसहित विश्वका एक दर्जनभन्दा बढी देशमा भाइरसको संक्रमण देखिएको छ ।

१२ बुँदे निर्देशन

१. मूलुकको अन्तर्राष्ट्रिय हवाई प्रवेश विन्दुको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा Dedicated Health Check Desk का लागि आवश्यक पर्याप्त स्थान उपलब्ध गराउने, समन्वय एवम् सहजीकरण गर्ने ।

२. विशेषगरी छिमेकी मित्रराष्ट्र चीनबाट आएका पर्यटकमा यस भाइरसको संक्रमणको अनुमान गर्न सकिने कुनै पनि लक्षण देखिएमा होटेल, ट्राभलरट्रेकिङ एजेन्सीलगायत सरोकारवालाबाट यथाशङघ्र तोकिएको स्वास्थ्यसंस्थामा पुर्याउने व्यवस्था मिलाउने ।

३. नेपाल आउने हवाईजहाजहरु अवतरण गर्नुपूर्व यात्रुहरुलाई Dedicated Health Check Desk मा गई आधारभूत जाँच गराउन Announce गर्ने व्यवस्था तथा विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्डबमोजिम अवतरणको समयमा Aircraft Disinfection गर्ने व्यवस्था त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले तत्काल मिलाउने ।

४. पर्यटकलाई सेवा दिने निजी क्षेत्रका सबै संस्थाले यस भाइरसबारे अवलम्बन गर्नुपर्ने सजगता एवम् पूर्वसावधानी सम्बन्धमा आफ्ना कर्मचारीलाई तत्काल सुसूचित गर्ने–गराउने ।

५. कुनै पनि स्वास्थ्यसम्बन्धी उल्लेखित भाइरसबाट आउन सक्ने समस्याका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएका सूचना एवम् गर्नुपर्ने आवश्यक सहयोगमा पूर्ण सक्रियताका साथ कार्य गर्ने–गराउने ।

६. नेपालमा स्थलमार्गबाट समेत पर्यटक प्रवेश गर्ने स्थानहरु खासगरी रसुवा, यारीनाकालगायत उत्तरी सीमानाकाहरु समेतमा उल्लेखित सतर्कता र पूर्वसावधानी अपनाउने ।

७. उल्लेखित भाइरसको सम्भावना भएका बिरामीलाई तत्काल क्ष्कयबितष्यल मा राख्नुपर्ने भएकाले यस सम्बन्धमा सबैले पूर्वसावधानी एवम् सजगताका साथ कार्य गर्ने–गराउने ।

८. विमानस्थलमा कार्यरत कर्मचारीहरुले कार्यस्थलमा मास्क, पन्जा र आवश्यकतानुसारका अन्य स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्ने ।

९. चिनियाँ पर्यटकको बढी उपस्थिति हुने जस्तै काठमाडौं, पोखरा, चितवन, लुम्बिनीजस्ता स्थानहरुमा यस सम्बन्धमा विशेष पूर्वसावधानी अवलम्बन गर्ने–गराउने ।

१०. कोरोनाभाइरसबाट बच्ने र बचाउने उपायका सम्बन्धमा जनचेतना वृद्धि गर्ने किसिमका क्रियाकलापहरु सबैले गर्ने–गराउने ।

११. मानिसहरुको धेरै आवत–जावत हुने धार्मिक, सांस्कृतिक स्थानहरुमा सचेतनामूलक प्रचार–प्रसार कार्य सञ्चालन गर्ने ।

१२. कोरोनाभाइरससम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेका पोस्टर, पम्पलेट, सूचनामूलक अन्य प्रचार सामग्री पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको समन्वयमा प्राप्त गरी प्रमुख होटेल तथा ट्राभलर ट्रेकिङ कम्पनीका कार्यस्थलमा पर्यटकले देख्ने गरी राख्ने व्यवस्था मिलाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय