स्वास्थ्यका कर्मचारीको समायोजन गुनासो नलिने मन्त्रालयको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यसेवाका कर्मचारीको समायोजनसम्बन्धी कुनै पनि निवेदन दर्ता नगर्ने निर्णय गरेको छ । समायोजनपश्चात् गुनासो रहेका कर्मचारीको गुनासो लिने काम यसअघि नै भइसकेको जनाउँदै मन्त्रालयले सोमबार सचिवस्तरीय निर्णय गरी अब थप निवेदन दर्ता नगर्ने तथा गुनासोउपर कुनै कारबाही नगर्ने जनाएको हो ।

मन्त्रालयका प्रवक्ता एवम् गुनासो व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक महेन्द्र श्रेष्ठले सोमबार सूचनामार्फत गुनासो निवेदन नलिने निर्णयको जानकारी गराएका हुन् । तर, दरबन्दीभन्दा बढी भई फिर्ता भएका, फाजिलमा रहेका, समायोजन नै नभएका र सामान्य त्रुटि भएकाको हकमा भने गुनासो गर्न सकिने मन्त्रालयको निर्णयमा उल्लेख छ ।
संघीयता कार्यान्वयनका क्रममा गत चैत र वैशाखमा सरकारले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम स्वास्थ्य सेवाका कर्मचारीको समायोजन गरेको थियो । पुनःसंरचित संगठन संरचनाअनुसार सार्वजनिक गरिएको करिब २७ हजार कर्मचारीको समायोजन सूचीमा धेरै त्रुटि देखिएको थियो । १३ वर्षअघि नै मृत्यु भइसकेका कर्मचारीको समेत समायोजन गरिएको लगायत विविध प्राविधिक तथा व्यावहारिक त्रुटि भएकाले राम्ररी अध्ययन गरेर मात्र समायोजन टुंग्याउन कर्मचारीका संघ–संगठनहरूले माग गरेका थिए ।

समायोजित हुने कर्मचारीमा व्यापक असन्तुष्टि तथा समायोजनमा व्यावहारिक समस्यासमेत देखिएपछि मन्त्रालयले असोजमा समायोजनबारेका गुनासो दर्ताका लागि म्याद दिएको थियो । तर, गुनासो दर्ता गराउन आउनेक्रम नरोकिएपछि पछि एकमुष्ट लिइएको थियो । समिति नै बनाएर गुनासो अध्ययन गरी सामायोजन सच्याइँदा पनि अझै ७ हजारको हाराहारीमा समस्या बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

2 thoughts on “स्वास्थ्यका कर्मचारीको समायोजन गुनासो नलिने मन्त्रालयको निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय