कोरोना भाइरसका बिरामी राख्न सक्षम छैनन् अस्पताल

नेपालमा कोरोना भाइरस भित्रिएको पुष्टि भएपछि सरकारले सरकारी तथा निजी अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सरकारले चीनबाट आएका मानिसलाई विशेष निगरानीमा राख्न काठमाडौं शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, पाटन, सशस्त्र प्रहरी बल, टिचिङलगायत अस्पताललाई तयारी अवस्थामा रहन शनिबार निर्देशन दिएको हो ।

तर, अधिंकाश अस्पतालमा सुविधा सम्पन्न आइसोलेसन वार्ड नभएका कारण बिरामी राख्न सक्षम नभएको अस्पतालले जनाएका छन् ।

अस्पताल भन्छ– बिरामी राख्न हामी सक्षम छैनौं
शिक्षण अस्पताल
शिक्षण अस्पताल (टिचिङ) मा सुविधासम्पन्न आइसोलेसन वार्ड छैन । त्यस्तो वार्ड नभएका कारण तत्कालै बिरामी राख्न नसकिने अस्पतालका निर्देशक प्रा. डा. प्रेम खड्काले बताए ।
‘हामीकहाँ अन्य बिरामीको धेरै चाप छ, सरुवा रोगका बिरामी भएका कारण आइसोलेसन वार्ड चाहिन्छ,’ डा. खड्काले भने, ‘विश्व स्वास्थ्य संगठनले तोकेबामोजिमको आइसोलेसन वार्ड छैन । तत्कालै सरुवा रोगका बिरामी राख्न सक्ने अवस्था छैन ।’

यद्यपि, अस्पतालले क्षयरोगका लागि प्रयोग गरिएकोे आइसोलेसन वार्डलाई पछि आवश्यक परेको खण्डमा प्रयोग गर्ने जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार उपचार गराइरहेका एक बिरामीबाट अर्को बिरामीलाई रोग फैलिन नदिन हरेक अस्पतालले आइसोलेसन वार्ड स्थापना गरी उपचार गर्नुपर्छ । छुट्टै जुत्ता, गाउन, मास्क, पन्जा प्रयोगको सुविधा भएको र बिरामीलाई जाँच्न प्रयोग गरिने स्टेथेस्कोप, थर्मामिटर, भेन्टिलेटर, अक्सिजन सिलिन्डर, मोनिटरलगायत उपकरण छुट्टै हुनुपर्छ ।

वीर अस्पताल
आइसोलेसन वार्ड छैन, बेड खाली गर्ने तयारीमा छौं
वीर अस्पतालमा पनि सरुवा रोगका बिरामीलाई चाहिने छुट्टै आइसोलेसन वार्ड छैन । सरकारले निर्देशन दिएकाले बेड मिलाउने तयारीमा जुटेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरी बताउँछन् ।
‘हामीकहाँ सरुवा रोगका बिरामीलाई चाहिने उपकरण तथा सुविधा छैन,’ डा. सेञ्चुरीले भने, ‘मन्त्रालयले निर्देशन दिएको हुनाले आवश्यक परे अन्य बेड खाली गराइ बिरामी राख्न सक्छौं ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६ बेडको आइसोलेसन वार्ड छ, तर सुविधा सम्पन्न भने छैन । आइसोलेसन वार्डलाई आवश्यक पर्ने स्टेथेस्कोप, थर्मामिटर, भेन्टिलेटर, अक्सिजन सिलिन्डर, मोनिटरलगायत उपकरण छुट्टै व्यवस्था भएको हुनुपर्छ ।
तर, अस्पतालले माथिका यी उपकरण प्रर्याप्त मात्रामा नभएको जनाएको छ । विश्व स्वास्थ्य संगठनले तोकेबमोजिमको मापदण्ड हामीले पूरा गर्न नसकेको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।  ‘आइसोलेसन वार्डमा हाल ६ थान बेड छन्,’ डा. पाण्डेले भने, ‘बिरामी बढेको खण्डमा सुरक्षित तरिकाले राख्न सक्षम छैनौं ।’

कस्तो हुनुपर्छ आइसोलेसन वार्ड ?
विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार उपचार गराइरहेका एक बिरामीबाट अर्को बिरामीलाई रोग फैलिन नदिन हरेक अस्पतालले आइसोलेसन वार्ड स्थापना गरी उपचार गर्नुपर्छ । छुट्टै जुत्ता, गाउन, मास्क, पन्जा प्रयोगको सुविधा भएको र बिरामीलाई जाँच्न प्रयोग गरिने स्टेथेस्कोप, थर्मामिटर, भेन्टिलेटर, अक्सिजन सिलिन्डर, मोनिटरलगायत उपकरण छुट्टै हुनुपर्छ ।

संगठनले नेपाललगायत विकासोन्मुख मुलुकमा हेपाफिल्टरसहित आइसोलेसन वार्ड हुनुपर्ने बताउँछ । त्यसैगरी वार्डमा हावा आहोरदोहोर हुनु हुँदैन ।

‘पहिलो प्राथमिकतामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग राखेका छौं,’ उनले भने,‘त्यसपछि वीर, पाटन, सशस्त्र प्रहरी बल, टिचिङलगायत अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौं ।’ उपत्यकाभित्रका सरकारी तथा निजी अस्पताललाई तीन दिनभित्र योजना बनाएर वार्ड खाली गरी बिरामी राख्ने तयारीमा जुट्न निर्देशन दिइएको उनले बताए ।

मन्त्रालय भन्छ– देशभरका अस्पताललाई तयार रहन निर्देशन दिएका छौं
चीनबाट आउने हरेक व्यक्तिको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थर्मल स्क्यानर मेसिनको व्यवस्था र पदैल यात्रुमा स्वास्थ्यकर्मीमार्फत् जाँच गर्ने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको लक्षण देखिए सिधै आइसोलेसन वार्डमा पुर्याइने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
‘पहिलो प्राथमिकतामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग राखेका छौं,’ उनले भने,‘त्यसपछि वीर, पाटन, सशस्त्र प्रहरी बल, टिचिङलगायत अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौं ।’ उपत्यकाभित्रका सरकारी तथा निजी अस्पताललाई तीन दिनभित्र योजना बनाएर वार्ड खाली गरी बिरामी राख्ने तयारीमा जुट्न निर्देशन दिइएको उनले बताए ।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार आइसोलेसन वार्ड नभएको मन्त्रालयको भनाइ छ ।

सक्दिनँ भन्ने अस्पताललाई कारबाही
रोग नियन्त्रण गर्ने जिम्मेवारी सबैको भएका कारण कसैले म बिरामी हेर्दिनँ, अस्पतालमा बिरामी राख्ने ठाउँ छैन भन्छ भने त्यसलाई कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।  ‘आवश्यकता परे अस्पतालले बिरामी राख्नुपर्ने हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘बिरामी आएको अवस्थामा उपचार गर्दिनँ भन्ने अस्पताललाई कारबाही हुन्छ ।’

सोमबारबाटै कोरोना भाइरस परीक्षण नेपालमा
कोरोना भाइरस परीक्षण गर्न चाहिने केमिकल भारतबाट भालि  सोमबारसम्ममा आउने मन्त्रालयले जनाएको छ ।  ‘हामीसंँग उपकरण (पिसिआर) मेसिन छ तर जाँच गर्न आवश्यक केमिकल भने नभएकाले भोलिसम्ममा भातरबाट ल्याउँछौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘केमिकल आएपछि यहीँ जाँच गर्छौं ।’

नेपालमा कोरोना भाइरसबाट एकजना संक्रमित भएको पुष्टि भइसकेको छ । तर, अस्पतालको विशेष निगरानीमा अहिले उनी डिस्चार्ज गरिएको टेकु अस्पतालले जनाएको छ ।

त्यसबाहेक थप दुईजनामा कारोना भाइरस संक्रमणको आशंका गरिएको छ । उनीहरूलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको छ । चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म ५७ जनाको ज्यान गइसकेको छ । कोरोना फ्रान्स, अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, भारत, हङकङलगायत १३ देशमा देखापरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाबाट चीनमा २ हजारभन्दा धेरै मानिस संक्रमित भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय