के मानिसको मृत्युपछि पनि शुक्रकीटले काम गर्छ ?

हेल्थपोस्ट
प्रकाशित
२०७६ माघ ११ गते १३:१८

एक अध्ययनमा प्राप्त प्रमाणका आधारमा वैज्ञानिकहरूको टिमले मानिसको मृत्युपछि पनि शुक्रकीटले काम गर्ने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरूले मानिसको प्राण गएको ४८ घण्टासम्म शुक्रकीटलाई गर्भधारणमा प्रयोग गर्न सकिने अध्ययनबाट पुष्टि गरेका हुन् ।

‘मानिसको मृत्यु भएको ४८ घण्टासम्म निकालिएको शुक्रकीट (स्पर्म) बाट स्वस्थ शिशु जन्मिन सक्ने रहेछ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।

जर्नल अफ मेडिकल एथिक्समा प्रकाशित सो प्रतिवेदनअनुसार मानिसको जीवन समाप्त भइसकेपछि ती व्यक्तिबाट शुक्रकीट निकालेर ‘स्पर्म बैंक’मा जम्मा गर्न सकिनेछ । यो विधिलाई ‘नैतिक रूपमा’ स्वीकार गर्न सकिएमा स्पर्म बैंकमा शुक्रकीटको मात्रा बढाउन सकिन्छ ।
‘निधनपछि पुरुषलाई शुक्राणु दान गर्न अनुमति दिनुपर्छ,’ जर्नलमा जोड दिइएको छ ।

यो कदम केही देशका लागि महत्त्वपूर्ण मानिएको छ । ‘स्पर्म डोनेसन’ सम्बन्धमा कडा कानुन भएका कारण ती देशका स्पर्म बैंकमा शुक्रकीटको मात्रा घटिरहेको छ । त्यस्ता देशका लागि यो अवधारणा सहयोगी बन्ने जर्नलको निष्कर्ष छ ।

बिबिसीका अनुसार मृत्यु भएको ४८ घण्टाभित्र दुई तरिकाले शुक्राणु निकाल्न सकिने वैज्ञानिकहरूले ठहर्याएका छन् । अध्ययनमा सर्जरीमार्फत शुक्राणु निकाल्न र सुरक्षित रूपमा प्रयोग गर्न सकिने बताइएको छ ।

यो अध्ययनमा ब्रिटेनको लेस्टर विश्वविद्यालयका डा. नाथन हड्सन र मेनचेस्टरस्थित एक सरकारी अस्पतालका डा. जोसुआ पार्कर सामेल थिए । ‘यसलाई अंगदानकै रूपमा सम्झिन सकिनेछ,’ हड्सन र पार्करले भनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय