नेपालमा भित्रियो कोरोनाभाइरस, चीनबाट फर्किएका नेपाली विद्यार्थीमा संक्रमण पुष्टि

चार सातादेखि चीनमा फैलिरहेको कोरोनाभाइरस नेपालमा भित्रिएको छ । चीनको उहान सहरबाट फर्किएका एक नेपाली विद्यार्थीमा संक्रमण पुष्टि भएको हो । मानिसबाट मानिसमा सर्ने यो भाइरसले चीनको उहान राज्यमा महामारीको रुप लिइरहेको छ । चिनियाँ अधिकारीका अनुसार अहिलेसम्म भाइरसका २५ जनाले ज्यान गुमाइसकेका छन् भने ८ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
केही दिनअघि भाइरसको उद्गमस्थल उहानबाट फर्किएका ती विद्यार्थीमा लक्षण देखिएपछि उनको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । नेपालमा भाइरस परीक्षण प्रविधि उपलब्ध नहुँदा नमुना विदेश पठाउनुपरेको हो । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिएका ती विद्यार्थी उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
नेपाली विद्यार्थीमा कोरोनाभाइरस पुष्टि भएसँगै जनमानसमा रोगको भय बढेको छ । यद्यपि, भाइरससित आत्तिने नभई सजग हुन विज्ञहरुले सुझाब दिइरहेका छन् । निश्चित सावधानी अपनाएर भाइरसबाट बच्न सकिने भएकाले बच्ने उपाय अवलम्बन गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सचेतनामूलक सामग्री जारी गरिसकेको छ ।
भाइरसको संक्रमण पुष्टि भइसक्दा पनि अहिलेसम्म स्वदेशमै परीक्षण भने थालिएको छैन । विमानस्थलमा सतर्कता आपनाइए पनि परीक्षण प्रविधि अभावमा हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी लक्षणको अवलोकनमा मात्र सीमित छन् । यद्यपि, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केही दिनमै विश्व स्वास्थ्य संगठनको सहयोगमा भाइरस परीक्षण थाल्ने तयारी गरिरहेको बताएको छ ।
जनवरी अन्तिम सातादेखि उहानबाट सुरु भएको नयाँ भाइरसले यतिवेला चीनलाई आक्रान्त पारेको छ । चीनबाहेक पनि विश्वका आधा दर्जनभन्दा बढी देशमा संक्रमित पाइएका छन् । यद्यपि, डब्लुएचओले वैश्विक स्वास्थ्य आपत्काल घोषणाको अवस्था भने नरहेको शुक्रबार बताएको छ । चीनबाहेकका देशमा युहानबाटै फर्किएका केही व्यक्तिमा मात्र संक्रमण भेटिएको र उनीहरुबाट अन्य व्यक्तिमा नसरेकाले ग्लोबल हेल्थ इमर्जेन्सीको अवस्था नरहेको डब्लुएचओको ठहर छ ।
चीनमा भने इमर्जेन्सीकै आवस्था रहेको डब्लुएचओले जनाएको छ । भाइरसको संक्रमण फैलिँदै गएपछि चीन सरकारले उहान राज्यलाई बन्द गरेको छ । उहानबाट छुट्ने विमान, रेल, बस, डुंगामा प्रतिबन्ध लगाइएको छ । सहरवासीलाई अन्यन्त जरुरी नपरी घरबाट ननिस्कन भनिएको छ भने सहर छोड्न रोक लागाइएको छ ।
भाइरसबाट बच्न स्
– बिरामी तथा रुघाखोकी लागेका मानिसको सम्पर्कमा नआउने,
– मास्क लगाएर मात्र हिँड्ने,
– सकभर भिडभाडमा नजाने,
– साबुनपानीले बारम्बार हात धुने, साबुनपानी उपलब्ध नभएमा अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग गर्ने,
– जीवित वा मृत जनावर तथा खासगरी नपकाएको मासुको सम्पर्कबाट टाढा रहने,
– अण्डालगायत पशुजन्य पदार्थको राम्ररी पकाएर मात्र सेवन गर्ने,
– संक्रमित क्षेत्रको सकेसम्म भ्रमण नगर्ने,
– रुघाखोकी र ज्वरोको लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्यसंस्थामा जाने,
– सरकारले अद्यावधिक गर्ने सूचनासित निरन्तर जानकार रहने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय