कोरोनाभाइरसले १७ को मृत्यु पुष्टि, १ करोड १० लाख जनसंख्याको युहान सहर बन्द, बहिर्गमनमा रोक

चीनमा फैलिरहेको कोरोनाभाइरस विश्व स्वास्थ्यकै निम्ति चुनौती बन्ने खतरा बढेको छ । युहान राज्यबाट निमोनियाको जस्तै लक्षणसहित सुरु भएको नयाँ भाइरसको संक्रमण संयुक्तराज्य अमेरिकासहित विश्वका ६ देशमा पुष्टि भइसकेको छ । भाइरसको संक्रमणबाट कम्तीमा १७ जनाको मृत्यु भएको र ५७० भन्दा बढी संक्रमित फेला परेको चिनियाँ अधिकारीले पुष्टि गरेका छन् । यद्यपि, यो संख्या अझै बढी रहेको अनुमान अन्तराष्ट्रिय विज्ञहरूको छ । सबै मृत्यु हुबेई प्रान्तमा भएको छ । चीन सरकारले युहान सहरलाई बन्द गरेको छ ।

१ करोड १० लाख जनसंख्याको सहर बन्द, युहानमा प्लेनदेखि डुंगासमेतमा प्रतिबन्ध
चिनियाँ अधिकारीले बिहीबार युहान सहरलाई पूर्णतः बन्द गरेका छन् । करिब १ करोड १० लाख जनसंख्या भएको सो प्रमुख बन्दरगाह सहरलाई हवाई, सडक, रेल र जलमार्गबाट सम्पर्क टुटाइएको छ । हुवानबाट छुट्ने हवाईजहाज, बस, रेल, डुंगामाथि रोक लगाइएको छ भने सबैखाले सहायक मार्गसमेत बन्द गरिएका छन् ।
सहर बन्द गरिएसँगै स्थानीयमा भय बढेको युहानका बासिन्दाले जनाएका छन् । कतिपय मानिसले सहर छोड्ने कोसिससमेत गरेका छन् ।
डिसेम्बरको अन्ततिर देखिएको नयाँ भाइरसको संक्रमण अहिलेसम्म अमेरिकासहित ६ वटा देशमा देखिएको छ । ताइवान, जापान, थाइल्यान्ड, दक्षिण कोरियामा पनि संक्रमित भेटिएका हुन् । नयाँ भाइरसले २००२ र ००३ मा सार्सले चीनमा लिएको जस्तै माहामारीको रूप लिने खतरा बढाएको छ ।

हवाई ट्राफिक तथ्यांकअनुसार दैनिक करिब ३० हजार मानिस युहानबाट उड्छन् । योभन्दो ठूलो संख्याले दैनिक सडक, रेल र जलमार्गबाट युहान छाड्छन् । चीनको मध्य भागमा रहेको युहान उद्योग र वाणिज्यको हब हो । युहानमा यो क्षेत्रकै ठूलो विमानस्थल र गहिरो पानीको बन्दरगाह छ ।
चीनमा लुनार नयाँवर्षको बिदा शुक्रबार सुरु हुँदै छ । अचानकको प्रतिबन्धले नयाँवर्षमा हुने दशौँ लाख चिनियाँको भ्रमण प्रभावित हुने भएको छ । चीन सरकारले युहानको विमानस्थल र ट्रेन स्टेसनहरू प्रस्थानका लागि बन्द रहने जनाएको छ । सरकारले युहानवासीलाई अति जरुरी नभई सहर नछोड्न आग्रह गरेको छ ।

मृत्यु हुनेमा अधिकांश पाका उमेरका र दीर्घरोग भएका, यस्ता थिए लक्षण
भाइरसबारेको सूचना नियन्त्रित गरिरहेको चीनको स्वास्थ्य आयोगले बिहीबार भाइरसका कारण मृत्यु हुनेको अहिलेसम्मको विस्तृत विवरण सार्वजनिक गरेको छ । आयोगको विवरणमा भाइरसको संक्रमणका कारण अहिलेसम्म १७ जनाको मृत्यु भएको र ५७० जनामा संक्रमण पाइएको उल्लेख छ ।

मृत्यु हुने १७ जनामध्ये अधिकांश पाका उमेरका छन्, जो पहिलेदेखि नै कुनै न कुनै रोग पालिरहेका थिए । उनीहरूमा लिभर सिरोसिस, उच्च रक्तचाप, मधुमेह, पार्किन्सन्सलगायत दीर्घरोग थियो । मृत्यु भएका सबै हुबेई प्रान्तका हुन् जहाँ युहान सहर पनि सामेल छ ।

नयाँ भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएका पहिलो व्यक्ति ६१ वर्षका पुरुष थिए । ज्वरो र खोकीका कारण निकै कमजोर उनलाई २७ डिसेम्बर २०१९ मा युहानको एक अस्पताल लगिएको थियो । अवस्था बिग्रिँदै गएपछि उनलाई अर्को अस्पतालमा रेफर गरिएको थियो । उनको शरीरमा मेसिन लगाइयो जसले रगतमा अक्सिजन सञ्चार गर्न मद्दत गर्यो । तर, अवस्था थप बिग्रिँदै गयो र उनको ९ जनवरीमा मृत्यु भयो ।

भाइरस संक्रमणले मृत्यु पुष्टि भएकामा १३ पुरुष र ४ महिला छन् । उनीहरूको उमेर ४८ देखि ८९ वर्ष छ । सोमबार यिन थर भएकी ४८ वर्षीया एक महिलाले भाइरसका कारण ज्यान गुमाइन् । ८९ वर्षीय दुई पुरुषले शनिबार र आइतबार ज्यान गुमाएका थिए ।

चीनको स्वास्थ्य आयोगका अनुसार मृत्यु भएका अधिकांश ज्वरो र खोकीसहित अस्पताल पुगेका थिए । तर, ३ जनामा भने अस्पताल पुग्दासम्म ज्वरो थिएन ।

‘युवा र स्वस्थ व्यक्तिको मृत्यु नहुनु सकारात्मक’
प्रारम्भिक अध्ययनमा स्वास्थ्य विज्ञले नयाँ भाइरसबारे केही हदसम्म सकारात्मक तथ्य फेलापारेका छन् कि भाइरसले अहिलेसम्म युवा र स्वस्थ व्यक्तिको मृत्यु भएको छैन । यद्यपि, नयाँ भाइरसको वास्तविक स्वरूप र यसबारेको पूर्ण धारणा अझै अज्ञात नै छ ।

पहिले नै कुनै रोगले पीडित र उमेर बढी भएका मानिसलाई नै यसले सिकार बनाएको छ । यसले भाइरसलाई परास्त गर्ने उपायको खोजीमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
‘केही हदसम्म आश्वस्त गर्ने संकेत देखिएको छ कि घातक केसमध्ये अधिकांश पाका उमेरका र संक्रामक रोगको संवेदनशीलता बढाउन मद्दत गर्ने पुरानो रोग भएका छन्,’ न्युयोर्कको कोलम्बिया युनिभर्सिटी मेलम्यान स्कुल अफ पब्लिक हेल्थमा कार्यरत इपिडिमियोलोजिस्ट डा. डब्लु इयान लिप्किन भन्छन् ।

यथार्थ लुकाउन खोजेको स्थानीयकै आरोप
चिनियाँ अधिकारीले भाइरस संक्रमितको संख्या कम देखाइरहेको स्थानीयले समेत आरोप लगाएका छन् । ज्वरो र खोकीका लक्षण लिएर अस्पताल गएका कतिपय बिरामीमा भाइरस परीक्षण नै गर्न नमानेको समेत आरोप उनीहरुको छ । न्यु योर्क टाइम्सका रिपोर्टरले ग्राउन्ड रिपोर्टिङका क्रममा स्थानीय तथा संक्रमितका आफन्तलाई उद्धृत गर्दै यसको पुष्टि गरेका छन् ।
अन्तर्राष्ट्रिय विज्ञ तथा एजेन्जीहरुले चिनियाँ अधिकारीले भाइरस संक्रमणको यथार्थ अवस्था लुकाइरहेको दाबी गरिरहँदा युहानवासीले समेत त्यसको आशंका गरेका हुन् । राज्यनियन्त्रित मिडियाले सही समाचार सम्प्रेषण नगरेको र सरकारले संक्रमित र मृत्यु हुनेको संख्या कम देखाउन खोजिरहेको एजेन्सीहरुको दाबी छ ।

विश्व स्वास्थ्य संगठनले समेत भाइरसको संक्रमणबारे पर्याप्त सूचना अभावमा अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणाबारे निर्णय गर्न असहज भएको बताएको छ । डब्लुएचओका अधिकारीले संक्रमण फैलिएको क्षेत्रबाट यथार्थ जानकारी संकलन गर्ने प्रयास भइरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय