श्रीमतीलाई मर्न दिन त कसरी सक्छु र !

पलपल निल्न खोजिरहेको मृत्युसँग कति लड्नु र, जब अस्पतालको ‘बेड’ मृत्युशय्या बनिसकेको हुन्छ ।

के ठेगान जीवनका पलहरू कहाँनेर झिपिक्क निभिदिन्छन् ।

ट्रमा सेन्टर, बेड नम्बर ५१४ ।

जहाँ एउटा अर्धमृत शरीर ढलिरहेको छ, भेन्टिलेटरमा सास फुक्दै ।

त्यो चेली तामाङको शरीर हो ।

डाक्टरले भनिसकेका छन्, ‘अब चेलीको जीवन सम्भव छैन ।’

सास फेर्ने नसा घाँटीको नसाबाट आएको हुन्छ । त्यो घाँटीको नसा नै चुँडिएको छ । भेन्टिलेटरको सहायताविना यस्ता बिरामी बाँच्न सक्दैनन् । सास फेराउने नसा जुन छ, पेसमेकर राख्नसम्म डाक्टरले प्रयास गरेका थिए ।

उनको उपचारमा संलग्न डा. राजीव झाका अनुसार पहिले नर्भिकमा लैजाँदा उनले सास फेर्न सकेकी थिइनन् । उनको स्पाइनल कर्ड बीचबाटै चुँडिएको छ ।
यसका लागि नेपालमा न उपकरण छ, न विज्ञ नै ।

उनका लागि पनि पेसमेकर राख्न डाक्टर बोलाइएको थियो । उनीहरूले आएर प्रयास पनि गरे, तर त्यो सम्भव भएन । डा. झा भन्छन्, ‘बिरामीको नसा मरेका कारण यो प्रविधिले काम गरेन ।

अब चेलीसामु एउटा मात्र विकल्प छ, जीवनभर भेन्टिलेटरबाटै सास फेर्ने । भेन्टिलेटर नभए २० मिनेटमै उनको सास रोकिन्छ । अहिले चेलीका लागि विदेशीको सहयोगमा ‘पोर्टेबल भेन्टिलटेर’ प्रयोग गरिएको छ, जुन घरमा लगेर पनि राख्न सकिन्छ । एकपटक चार्ज भएपछि चार घण्टासम्म काम गर्छ ।

चेलीको पनि बाँच्ने आशा त छैन नै । श्रीमान्सँग भनिरहेकी हुन्छिन्, ‘अब होस्, मेरा लागि खर्च नगर्नुस् । कि दुर्घटना भएकै ठाउँमा लगिदिनस् कि प्रहरीचौकीमा लगेर छाडिदिनुस्, म त्यहीँ मर्छु ।’ २०७३ चैत २४ गते दिउँसो बानेश्वरमा मोटरसाइकलले ठक्कर दिएर उनलाई कोमामा पुर्यायो । ठक्कर दिने मोटरसाइकल चेलीलाई जेब्राक्रसमै ढालेर भाग्यो । तत्काल एभरेस्ट अस्पतालमा लगियो ।

धत् ! के सोचेछु त्यस्तो…
चेलीका श्रीमान् वसन्तकुमार शाही त्यसवेला मलेसियामा काम गर्थे । श्रीमान्ले पठाएको पैसा झिकेर फर्किंदा चेली दुर्घटनामा परिन् । पाँच दिनपछि नेपाल फर्किने तयारीमा रहेका वसन्तले बाटोखर्च राखेर कमाइजति सबै श्रीमतीका नाममा पठाएका थिए ।

उनीहरूकी नौ वर्षकी छोरी छिन् । छोरी पढाउन काठमाडौंको पेप्सीकोला बसेकी चेली ब्युटी पार्लरमा काम गर्थिन् । घरखर्च उनैको कमाइले चल्थ्यो । वसन्तको कमाइ बचत हुन्थ्यो । त्यो रकमले काठमाडौंमा घडेरी किन्ने सल्लाह गरेका थिए । तीनवर्षे करार सकेर एक वर्ष थपेका वसन्तको घर फर्किने दिन नजिकिएको थियो । तर, जब उनी घर फर्किने तयारी गर्न थाले, यता चेलीको फोन अफ भयो । त्यतिवेला वसन्तले सोचे, ‘सबै पैसा कुम्ल्याएर श्रीमती अर्कैसँग टाप कसिछन् ।’ केही दिन निरन्तर फोन अफ नै भइरह्यो ।

‘ऊ अर्कैसँग गएकी रहिछे भने म किन नेपाल जानु ?’
त्यो सोचाइमा वसन्तलाई अहिले पनि ग्लानि हुन्छ, ‘मैले पाप सोचेको रहेछु, उनी दुर्घटनामा परेकी रहिछिन् । सालीलाई फोन गरेपछि थाहा पाएँ । उनी त अचेत अवस्थामा अस्पतालमा रहिछिन् ।’ वसन्त घर फर्किन लागेकाले परिवारले उनलाई त्यो दुःखद खबर सुनाएका थिएनन् ।

‘जब त्यो खबर सुनेँ शरीर गलेर आयो, कतिवेला नेपाल पुगेर उनको अनुहार हेरौँजस्तो भयो । तर, ५ दिनपछि मात्रै नेपाल फर्किने टिकट लिएको थिएँ,’ वसन्तले त्यो विवशता सुनाए । क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेपछि हतार–हतार थापाथलीस्थित नर्भिक अस्पताल पुगे । त्यहाँ बेहोस अवस्थाकी चेलीको उपचार भइरहेको थियो । उनको गर्धन भाँचिएको थियो । शरीर सबै सुन्निएको थियो ।

रसिला आँखा, मलिन अनुहार, साँच्चै जीवनदेखि हारेको जस्तै देखिन्थिन् चेली । डाक्टरहरूले ‘नसा च्यापिएको छ, अप्रेसन गरेपछि ठिक हुन्छ’ भनेका थिए । त्यतिवेला उनीहरूलाई आर्थिक समस्या थिएन । तीन वर्षको कमाइ पूरै बचेको थियो । जति खर्च लागे पनि उपचार गरिदिनू भन्ने अवस्थामा थिए वसन्त ।

‘अब मलाई दुर्घटना भएकै ठाउँमा मर्न दिनुस्’
ठक्कर दिने चालकलाई केही समयपछि प्रहरीले समायो । चेलीका आफन्त र उनीहरूबीचमा बानेश्वर प्रहरी वृत्तमा छलफल भयो । छलफलमा चेलीको उपचार खर्च बेहोर्ने, मृत्यु भएमा छोरीको पढाइ खर्च बेहोर्ने र १० लाख रुपैयाँ दिने सहमति भएको थियो ।

सहमतिअनुसार चालकले खर्च बेहोर्दै थिए । कहिले २० हजार, कहिले ५० हजार रुपैयाँ दिन्थे । सहमति भएकै कारण वसन्तले अदालतमा मुद्दा गरेनन् । तर, ९० दिनपछि प्रहरी र चालकको कुरा फेरिन थालेको वसन्त बताउँछन् ।

‘दुर्घटनामा संलग्न व्यक्ति बिस्तारै सम्पर्कविहीन भए, प्रहरीले पनि ‘रेस्पोन्स’ गर्न छाड्यो,’ वसन्त भन्छन्, ‘प्रहरी र दुर्घटना गराउने व्यक्ति मिलेर मलाई एक्ल्याए ।’
जीवनदेखि थाकिसकेकी चेली भनिरहन्छिन् ‘अब मलाई बचाउनुपर्दैन ।’ खर्च सकिँदै गएपछि वसन्तले चेलीलाई नर्भिकबाट ट्रमा सेन्टरमा सारेका छन् । दुई वर्षदेखि ट्रमामै चेलीको उपचार भइरहेको छ ।

ट्रमामा ल्याएको एक वर्षसम्म आइसियुमै राखियो । विदेशमा कमाएर ल्याएको रकम सकिसकेको थियो । वसन्तले हारगुहार गरेपछि विदेशमा रहेका नेपाली र नेपालबाटै पनि सहयोग जुट्यो । पछि त्यही सहयोग पनि आउन छोड्यो । ऋण पनि थपिँदै गयो ।

श्रीमतीको स्याहारसँगै ट्रमामा जागिर
उनीहरूको अवस्था देखेर अस्पतालले बिरामी फर्काउन सकेन । दिनहुँ थपिएको उधारो तिर्न सक्ने अवस्थामा वसन्त थिएनन् । बरु यो परिवारका लागि अस्पतालले नै विकल्प खोजिदियो । वसन्तले ट्रमामा सुरक्षा गार्डको काम पाए । मासिक १८ हजार तलबमा वसन्तले जागिर पाए ।

मृत्युसँग लडिरहेकी चेलीको उपचारमा यो कमाइ केही पनि होइन, तथापि वसन्तका लागि यो जागिर मन भुलाउने मेसो बनेको छ । अचेल वसन्तको दैनिकी श्रीमतीको स्याहारसँगै ट्रमा सेन्टरको सुरक्षामा बित्छ ।

ड्युटीमा भएका वेला चेलीलाई गाह्रो भयो भने नजिकैका बिरामी कुरुवाले फोन गरिदिन्छन् । अनि वसन्त काम छाडेर हतार–हतार चेलीको स्याहारमा फर्किन्छन् । छोरी चेलीकी बहिनीसँग जडीबुटीमा बस्छिन् । आमासँग भेट गराउन उनलाई वेला–वेला अस्पताल ल्याइरहन्छन् । अचेत आमासँग भेट गराउँछन् र फर्काउँछन् ।

‘म कसरी चेलीलाई मर्न दिन सक्छु ? यी अबोध (छोरी) ले पछि मलाई के भन्लिन् ?’ छोरी सम्झिँदै वसन्त भन्छन् ‘यो भेन्टिलेटरसँगै म उनलाई घर लैजान सक्छु, तर त्यो भनेको सीधै मार्न लैजानुजस्तै हो ।’ घर लगेर के गर्नु ! वसन्तलाई त्यो उपकरण चलाउनसमेत आउँदैन ।

तीन वर्ष अस्पताल बस्दा वसन्तले धेरैथरि बिरामी र कुरुवाको संगत गरेका छन्, ‘कसैले बेहोस श्रीमतीलाई बेडमै छाडेर भागेको देखेँ, कसैले बा–आमालाई अस्पतालमै छाडेर भागे ।’ सास हुँदासम्म आश त कहाँ मर्छ र ? वसन्त पनि त्यो आश मार्न सक्दैनन्, ‘मेरी छोरीले मलाई आफ्नी आमालाई मार्यो नभनून् ।’

तामाङ चेली र ठकुरी वसन्तले १४ वर्षपहिले लगनगाँठो कसेका थिए । चेली आफ्नो दाइको होटेलमा काम गर्थिन्, जहाँ वसन्त खाना खान गइरहन्थे । त्यहीँ उनीहरूको चिनजान भयो । चिनजान माया–प्रेमसम्म पुग्यो । अनि त्यही प्रेम पछि विवाहमा परिणत भयो ।

११ वर्षसम्म जीवन ठिकठाक चलिरहेकै थियो । तर, दुर्घटनाले परिवारको खुसी नै बिथोलिदियो । वसन्तलाई थाहा छ, बिथोलिएको त्यो खुसी पनि चाँडै खोसिनेछ ।
चेलीको उपचारमा देश–विदेशबाट पाएको सहयोगबाहेक वसन्तको आफ्नै ४० लाख रुपैयाँ पनि सकिसकेको छ ।

‘कहिलेसम्म खर्च गर्नुहुन्छ ?’
श्रीमतीको मृत्युसँग जुधिरहेका वसन्तलाई यो प्रश्न निकै गह्रुंगो लाग्छ । वसन्तको जवाफ आउँछ, ‘जबसम्म उनको सास चलिरहन्छ ।’

वसन्तलाई सहयोग गर्न :
खाता नम्बर : 00602405 pd (प्राइम कमर्सियल बैंक लिमिटेड), वसन्तकुमार शाही
सम्पर्क नम्बर : 9849532421

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय