जापान जाने थप १३ सय नर्सिङ केयर गिभरको परीक्षा मार्चमा
नर्सिङ केयर गिभरमा रोजगारीका लागि जापान जान चाहने २ हजार ३ सय जनाले मार्च सम्ममा परीक्षा दिन पाउने भएका छन् । जनवरीमा एक हजार जनाको परीक्षा लिने जापान फाउण्डेशनले मार्चमा थप १३ सय जनाको परीक्षा लिने भएको हो ।
जनवरिको ७, ८, १४, १६, २१, २३, २८ र २९ तारिखमा एक हजार जनाले र मार्चको ३, ५, ९, ११, १२, १५ र १९ तारिखमा १ हजार ३ सय जनाले परीक्षा दिन पाउने छन् ।
परीक्षा केन्द्र युनिभर्सल कम्प्युटर एण्ड ल्याङ्ग्वाइज इन्स्टिच्युट डिल्लीबजार तोकिएको छ । यसअघि एक हजार जनाले परीक्षा दिइसकेका छन् ।
रोजगारीका लागि जापान जान चाहने नेपालीको संख्या धेरै भएका कारण जापान फाउण्डेसनले परीक्षामा सहभागी हुनेको कोटा पहिले नै निर्धारण गर्दै आएको छ।
नेपाल र जापानबीच श्रम समझदारी भएपछि सरकारी तहबाटै जापानमा नर्सिङ क्षेत्रमा कामदार पठाउन छनोट परीक्षा भइरहेको हो ।
पहिलो चरणमा जापानले नर्सिङ केयरमा मात्रै नेपाली श्रमिक लिने भएको हो । जापान जानका लागि जापानिज भाषा सँगै नर्सिङ अध्ययन गरेका अथवा नर्सिङ केयरको तालिम लिएको हुनु पर्छ।
भाषा परीक्षामा सहभागी हुन ए टू लेभलको जापानिज भाषा सिकेको हुनुपर्छ। २५० पूर्णाङ्क रहेको परीक्षा उत्तिर्ण गर्न २०० अङ्क ल्याउनु पर्नेछ। कम्प्युटरमा आधारिक परीक्षामा सुहभागी हुन २५०० रुपैयाँ शुल्क लाग्छ। परीक्षामा उत्तिर्णहरुको थप प्रक्रिया पूरा गरेर रोजगारीमा जान पाउने वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालले बताए।
Anm