‘समायोजनले अझै कति रुवाउने हो !’

काखमा सानो बालक, छेउमा ब्याग, सामुन्ने एक युवक, दिउँसो मन्द घाम तापेर बसेकी एक महिला ।  सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रांगणमा देखिएको दृश्य हो यो । दाङकी शादरा भण्डारी समायोजनको गुनासो लिएर शुक्रबारदेखि मन्त्रालय धाइरहेकी छिन् । मन्त्रालयमा दिनभर रुँगेर बेलुकी होटेलमा फर्किनेक्रम तीन दिनदेखि जारी छ ।

सल्यानको देवस्थल आयुर्वेद औषधालयमा कविराज पदमा कार्यरत भण्डारीको गुल्मीको रुरु गाउँपालिकामा समायोजन पदस्थापन भएको छ । ‘काखमा ३ महिनाको बच्चा छ, घरपरिवार छोडेर कसरी यति टाढा गएर काम गर्नु ?’ भण्डारीको गुनासो छ ।

भण्डारीले चारपटक समायोजन गुनासोको निवेदन दिइसकिन् । पटक–पटक आफ्नो समस्या लिएर मन्त्रालयका कोठा–कोठा चहारिसकिन्, तर उनको गुनासो सम्बोधन भएको छैन । गुनासो सम्बोधन होला भन्दा त झन् मन्त्रालयका कर्मचारीको हप्काइ खानुपरिरहेको उनी बताउँछिन् । ‘तपाईं समायोजन भएको ठाउँमा गएर काम गर्नुहोस्, होइन भने आफ्नो इच्छा गर्नुहोस्,’ कर्मचारीको भनाइ उद्धृत गर्दै उनी भन्छिन्, ‘सुनुवाइ गर्ने निकायको यस्तो अभिव्यक्तिले मन दुखेको छ ।’

यही क्रम दिनहुँ दोहोरिरहेको छ । ‘कतिवेला गुनासो सुनाउन पाइन्छ भनेर कुरेर बस्यो, कुरै नसुनी समायोजन भएकै ठाउँमा काम गर्नुहोस्, अर्को कुनै विकल्प छैन भन्ने जवाफ दिन्छन्,’ भण्डारीको गुनासो छ, ‘बुढाबुढी, अशक्त, अपांगता भएका, साना बाच्चा भएका महिलालाई राज्यले नै पायक पर्ने ठाउँमा समायोजन गर्ने भनिएको थियो । तर, गुनासो लिएर पटक–पटक आउँदा पनि मेरो समस्या बुझिदिने कोही भएन ।’

घरपायक पर्ने दाङको स्वास्थ्यसंस्थामा पदस्थापन गरिदिनुपर्ने माग भण्डारीको छ । ‘घरनजिकको स्वास्थ्यसंस्थामा काम गर्ने एक कर्मचारी तराईमा खाली पदमा जान राजी भएका छन्, उहाँको ठाउँमा मलाई मिलाइदिन आग्रह गर्दै आएकी छु, तर समस्या कसैले बुझिदिएनन्,’ बच्चा काखी च्यापेर श्रीमान्का साथमा पटक–पटक दाङदेखि गुनासो सुनाउन मन्त्रालय आएकी भण्डारी भन्छिन्, ‘यहाँ चिनजानको कोही हुनुहुन्न, होटेलको वास छ । यो समायोजनले अझै कति रुवाउने हो !’

यतिवेला भण्डारी सुत्केरी बिदामा छिन् । ‘बिदा सकिन अब मात्र १५ दिन बाँकी छ । त्यसपछि समायोजन भएको ठाउँमा जानुपर्ने बााध्यता छ,’ काखको शिशुको मुख हेर्दै भण्डारी भन्छिन्, ‘यो नाबालकलाई लिएर कसरी जाऊँ, कहाँ छोडेर जागिर खाऊँ, त्यो एकान्तमा कसले हेरविचार गर्छ ?’

समायोजनले भण्डारीलाई जागिर निल्नु न ओकल्नु बनाएको छ । ‘जीवनमा ठूलो संघर्ष गरेर खाएको जागिर न छोड्नै सक्छु, न त सरकारले समायोजन गरेको ठाउँमा गएर काम गर्न नै सक्ने अवस्थामा छु,’ उनी भन्छिन् । भण्डारीजस्ता धेरै कर्मचारी दिनहँ समायोजन गुनासो लिएर मन्त्रालयको चक्कर काटिरहेका छन् । स्वास्थ्यमा अझै ७ हजार कर्मचारीको गुनासो सम्बोधन हुन बाँकी छ ।

समायोजन मिलाउन मन्त्रालयको यस्तो योजना
समायोजनमा पद नमिलेको, कर्मचारीको योग्यताअनुसार समायोजन नभएकोजस्ता समस्या सुल्झाउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । केही साताअघि हेल्थपोस्टसँगको कुराकानीमा मन्त्री भानुभक्त ढकालले समायोजनलाई जतिसक्दो चाँडो टुंगोमा पुर्याउने गरी मन्त्रालयले काम गरिरहेको बताएका थिए । हिजो जुन कर्मचारी जुन पदमा थिए, त्यसभन्दा तल नझार्ने गरी समायोजन गर्दा २ हजारको हाराहरीमा समस्या हल गर्न सकिने मन्त्री ढकाल बताउँछन् ।

‘पहाडी र हिमाली जिल्लाहरूमा जहाँ दरबन्दी खाली छन्, जहाँ म जान पाऊँ भनेर कर्मचारीले माग गरेको अवस्था छ, त्यस्ता कर्मचारीलाई प्रेरित गरेर खाली हुने ठाउँबाट सेवा सञ्चालन गर्न सक्छौँ,’ मन्त्री ढकाल भन्छन्, ‘कतिपय गुनासोमा गहिरो अध्ययन गरेर र समस्या समधान नहुने हिसाबको गुनासो भए यो कारणले सम्बोधन गर्न सकिँदैन भनेर मन्त्रालयले जानकारी दिन्छ ।’ यति गर्दा पनि समस्या बाँकी भएमा कतिपय डाक्टर तथा स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरेर अत्यावश्यक भएको क्षेत्रमा सेवा दिलाउने गरी योजना बनाएको मन्त्री ढकालको भनाइ छ ।

संघीयता कार्यान्वयनका क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुनःसंरचित संगठन संरचनाअनुसार गत चैत तथा वैशाखमा विभिन्न चरणमा गरी स्वास्थ्यका करिब २७ हजार कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको थियो । मन्त्रालयले असोजमा समायोजनसम्बन्धी गुनासो दर्ताका लागि म्याद दिएको थियो । तर, गुनासो दर्ता गराउन आउनेक्रम नरोकिएपछि पछि एकमुष्ट लिइएको थियो ।  समिति नै बनाएर गुनासो अध्ययन तथा अव्यवस्थापनका लागि सिफारिस गरेर सामायोजन सूची सच्याइँदा पनि अझै ७ हजारको हाराहारीमा समस्या देखिएका थिए । समायोजन र त्यसपछिको गुनासो सम्बोधनका क्रममा समेत आर्थिक चलखेलले काम गरेकाले पनि समस्या थप बल्झिएको विश्लेषण गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय