प्रसाईंविरुद्ध डा. गिरीको मानहानि मुद्दा, डा. गिरीविरुद्ध प्रसाईंको भ्रष्ट्राचार र अकुत आर्जन उजुरी

चिकित्साशिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । २३ पुसमा प्रसाईंले पत्रकारसम्मेलन गरी बी एन्ड सीको सम्बन्धनका लागि डा. गिरीले आफूसित २० करोड रूपैयाँ घुस मागेको बताएसँगै सुरु भएको द्वन्द्व सम्पत्ति शुद्धीकरण विभाग, अख्तियार र अदालतसम्म पुगेको छ ।

डा. गिरीले प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मानहानिको मुद्दा दर्ता गरेका छन् । उता प्रसाईंले डा. गिरीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा भ्रष्टाचार र अकुत आर्जनमा उजुरी दिएका छन् ।  खुलेआम रूपमा ‘डा. गिरीले निकै मोटो रकम (२० करोड) घुस मागे, एक–डेड करोड भए त दिन पनि सक्थेँ’ भन्दै थोरै हुँदा आफू घुस खुवाउन राजी भएको तर डा. गिरी मोटै रकम नपाई सहमतिमा आउन नचाहेको संकेत गरेका प्रसाईंको चर्तिकला हेर्दा ‘सर्पको खुट्टा सर्पले नै देख्छ’ भन्ने लोकोक्तिअनुरूप यी दुई एकअर्काविरुद्ध उत्रिएको स्पष्ट अनुमान लगाउन सकिन्छ ।

तर, अनौठो पक्ष त यो छ कि– सत्तारूढ दलका प्रवक्ता र बहालवाला विभागीय मन्त्रीलाई समेत मुछेर चिकित्साशिक्षालाई आमूल सुधारका निम्ति भएको वर्षौंको संघर्षबाट स्थापित आयोगको कार्यकारी उपाध्यक्षमाथि यत्रो ठूलो रकम घुस मागेको आरोप लाग्दा सरकार न छानबिनको कुनै पहल गर्छ, न त मिडिया बोलाएरै ‘म थोरै भए त घुस दिन्थेँ’ भन्नेलाई कुनै कारबाही गर्छ । यसमा सरकार र घुस प्रकरणमा नाम जोडिएका नेताहरूको समेत मौनताले सत्ताकै संरक्षणमा यी दुई भिडिरहेका हुन् कि भन्ने शंकासमेत उब्जाएको छ । सत्ताभित्रकै प्रतिस्पर्धीबीच एकले अर्कालाई सिध्याउने कसरतमा आफ्ना पुराना विश्वासपात्र प्रसाईंको प्रयोग भएको अनुमान विश्लेषकहरूले लगाउन थालेका छन् ।

डा. गिरीले प्रसाईंविरुद्ध मंगलबार जिल्ला अदालतमा मानहानिको मुद्दा दिएका हुन् । उनी प्रसाईंले आफ्नो चरित्रहत्या गर्ने मनसायले आफूमाथि घुस मागेको कपोलकल्पित आरोप लगाएको बताउँदै आएका छन् । प्रसाईंलाई आरोपसिद्ध गर्न चुनौती दिएका डा. गिरीले आरोप लागेकै दिन आफू कानुनी उपचारमा जाने बताएका थिए । मुद्दा दर्ता गरेसँगै उनले आफूमाथि कल्पनै नगरेको आरोप लागेकाले आमजनमानसलाई भ्रमबाट मुक्त गर्न पनि कानुनी बाटो रोज्नुपरेको प्रतिक्रिया दिए ।

उता प्रसाईंले भने यसअघि नै डा. गिरीविरुद्ध अख्तियार र सम्पत्ति शुद्धीकरणमा उजुरी दिइसकेका छन् । सोमबार अख्तियार र आइतबार सम्पत्ति शुद्धीकरणमा डा. गिरीविरुद्ध विभिन्न समयमा भ्रष्टाचार गरी अकुत आर्जन गरेको आरोपसहित उनले उजुरी दर्ता गराइसकेका छन् ।
प्रसाईं यतिमा मात्र रोकिने देखिएका छैनन् । उनले मंगलबार पत्रकारसम्मेलन गरी बी एन्ड सीलाई सम्बन्धन दिलाउन अब सर्वोच्च अदालतको ढोका ढकढक्याउने बताइसकेका छन् । सबै मापदण्ड पूरा गरेर कानुनबमोजिम प्रक्रियामा जाँदा पनि सम्बन्धन नदिएर सरकारले आफूलाई धोका दिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय