पहिले माफिया र मार्सी भनेर उडाए, अहिले सरकारले झुक्यायो, अब अदालत जान्छु : बी एन्ड सी सञ्चालक प्रसाईं

प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सम्बन्धन माग गर्दै अब सर्वोच्चमा रिट दायर गर्ने बताएका छन् । प्रधानमन्त्रीले दुई महिनामा दिन्छु भनेको सम्बन्धन दुई वर्ष बित्दासमेत नदिएकाले अब सरकारसँग विश्वास नरहेको उनको भनाइ छ ।

आफूले सबै मापदण्ड पूरा गरे पनि सम्बन्धन नपाएकाले न्यायालय गुहार्नुपरेको उनले गुनासो गरे । पहिलेदेखि नै आफूले सम्बन्धनका विषयमा कुरा उठाएको भए पनि ‘माफिया’ र ‘मार्सी’ भनेर उडाइएको उनको गुनासो छ ।

‘झापामा भौतिक संरचना रोएर बसेका छन्, सरकार सम्बन्धन दिने पक्षमा छैन । अब मलाई सरकारले न्याय गर्दैन, त्यसैले मिडियामा आएको हुँ,’ मंगलबार पत्रकारसम्मेलन गर्दै प्रसाईंले भने, ‘ऋणले बनाएको संरचना नष्ट हुन लाग्यो, बचाइदिनुपर्यो ।’

यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका प्रसाईंले अब अदालत र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी गुहार्ने बताए । नक्कली प्रमाणपत्रका कारण ३५ जना डाक्टरलाई २७ दिन थुन्ने सिआइबीले यो विषय पनि छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

सबै प्रक्रिया पूरा गरे पनि राज्यले आफूलाई अपराधीजस्तो व्यवहार गरेको भन्दै प्रसाईंले प्रश्न गरे, ‘चेलीबेटी बेचेको छैन, लागुऔषधको कारोबार र हतियार खरिद पनि गरेको छैन, म कसरी अपराधी भएँ ?’

सम्बन्धन दिन चिकित्साशिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका प्रसाईंले उनीसँग टुँडिखेलमा ‘फेस टु फेस’ हुन चुनौती दिए । प्रसाईंले २३ पुसमा पत्रकारसम्मेलन गरी डा. गिरीले सम्बन्धनका लागि द्वारिका होटेलमा बोलाएर घुस मागेको आरोप लगाएलगत्तै डा. गिरीले त्यसको प्रतिवाद गर्दै आरोप साबित गर्न चुनौती दिएका थिए ।

‘मेरो ठाउँमा अर्को मान्छे भए उहिल्यै मरिसक्थ्यो,’ प्रसाईंले भने, ‘सर्वोच्चमा न्यायमूर्ति बसेका छन्, उनीहरूले त कुरा सुन्लान् नि !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय