आइओएमअन्तर्गत यी ५३९ विद्यार्थीलाई ‘पेइङ’मा एमबिबिएस भर्ना अनुमति, ३ माघभित्र भर्ना गरिसक्नुपर्ने

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले आफूमातहतका ८ वटा मेडिकल कलेजमा एमबिबिएसको ‘फुल पेइङ’ कोटामा भर्नाका लागि विद्यार्थी मनोनयन गरेको छ । शैक्षिक सत्र ०७६÷७७ को एमबिबिएस शैक्षिक कार्यक्रममा पेइङ कोटामा भर्नाका लागि अनलाइन कलेज प्रायोरिटी सेट गरेका परीक्षार्थीको पूर्वमनोनयन सूचीउपर दाबीविरोधको अवधि सकिएपश्चात् आइओएम डिन कार्यालय परीक्षा नियन्त्रण महाशाखाले योग्यताक्रमअनुसार कलेजहरूमा आवेदकको भर्ना सूची प्रकाशन गरेको हो ।

आइओएमले आफूमातहतका कलेजमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्तिमा त्रिविअन्तर्गतका कलेजमा भर्नाका लागि मनोनयन कन्फर्म गरेका परीक्षार्थी र कलेजका विभिन्न कोटामा भर्नाका लागि मनोनयन भएका परीक्षार्थीको सिट हटाई बाँकी सिट तथा विदेशी परीक्षार्थीको सिटमा भर्ना भई बाँकी रहेका सिटमा नेपाली पेइङ कोटातर्फ परिवर्तन गरी कायम हुन आएको एमबिबिएसका सिटमा भर्नाका लागि अनलाइन कलेज प्रायोरिटी सेट गरेका परीक्षार्थीको मनोनयन मनोनयन गरेको हो । छात्रवृत्ति कोटामा भर्नाका लागि भने मन्त्रालयले मनोनयन गर्ने व्यवस्था छ ।

३ माघभित्र भर्ना नगरे मनोनयन रद्द हुने
मनोनयनमा परेका विद्यार्थीले ३ माघभित्र तोकिएको कलेजमा तोकिएको शुल्क बुझाई अनलाइन भर्ना गरिसक्नुपर्ने आइओएमले जनाएको छ । निर्धारित मितिभित्र भर्ना गर्ने उम्मेदवारको नाम यस वर्षको योग्यताक्रमको सूचीबाटै हाट्नेछ अर्थात् उसले भर्ना पाउनेछैन ।
ऐनको व्यवस्थाअनुसार मनोनयनमा परेका विद्यार्थीले चिकित्साशिक्षा आयोगले तोकेको कुल शुल्कको एकतिहाइ रकम भर्नाको समयमा बुझाउनुपर्छ । यसअनुसार यसपटक भर्ना हुँदा विद्यार्थीले उपत्यकाभित्रका कलेजमा १३ लाख ४१ हजार ८३ रूपैयाँ ३३ पैसा र उपत्यकाबाहिरको हकमा १४ लाख ७८ हजार ६ सय ७५ रूपैयाँ हिमालयन बैंकमा बुझाई तोकिएको भौचर नम्बर अनलाइन अपलोड गर्नुपर्नेछ ।

राष्ट्रिय चिकित्साशिक्षा ऐनले सार्वजनिक मेडिकल कलेजको हकमा कुल सिटसंख्याको ८० प्रतिशत छात्रवृत्तिका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी, अन्य मेडिकल कलेजको हकमा स्वदेशी लगानीमा सञ्चालितले १० प्रतिशत र विदेशी लागानीमा सञ्चालितले २० प्रतिशत कोटा अनिवार्य रूपमा छात्रवृत्तिका लागि छुट्याउनुपर्ने प्रावधान छ । यसअन्तर्गत हाल मेडिकल कलेजतर्फ महाराजगन्ज मेडिकल कलेजलाई मात्र ल्याइएको छ । यद्यपि, आर्मीको कलेज र काठमाडौं विश्वविद्यालयको कलेज पनि सार्वजनिकअन्तर्गत आउनुपर्ने आवाज उठिरहेका छन् ।

८० प्रतिशत मन्त्रालयको छात्रवृत्ति र कलेजको छात्रवृत्ति कटाएर मनोनयन गरिँदा महाराजगन्जमा जम्मा दुई विद्यार्थीले मात्र पेइङमा पढ्ने अवसर पाएका छन्, जब कि अधिकांश योग्यताक्रमका परीक्षार्थीले अनलाइन कलेज प्रायोरिटी सेट गर्दा पहिलो रोजाइमा महाराजगन्जलाई राखेको पाइएको छ ।

यसअघि आइओएमले २५ पुसमा पेइङ कोटामा भर्नाका लागि परीक्षार्थीको पूर्वमनोनयन सूची प्रकाशन गरेको थियो । पूर्वमनोनयन सूचीमा प्रकाशित नामावलीउपर कुनै दाबीविरोध भए निवेदनका लागि आइतबार बिहान १० बजेसम्मको समय दिइएको थियो । त्यसअघि आइओएमले प्रवेश परीक्षामा योग्यताक्रम हासिल गरेका परीक्षार्थीलाई अनलाइन कलेज प्रायोरिटी सेट गर्ने समय दिएको थियो । आइओएमले यसपटक अनलाइन काउन्सिलिङलाई कार्यान्वयनमा ल्याएर पुरानो ओपनहाउस काउन्सिलिङको झन्झटिलो प्रक्रियाबाट विद्यार्थीलाई मुक्ति दिएको हो ।

कुन कलेजमा कतिको मनोनयन ?
महाराजगन्ज मेडिकल क्याम्पस २
नेपलिज आर्मी इन्स्टिच्यु अफ हेल्थ साइन्सेस ४८
चितवन मेडिकल कलेज ९०
किस्ट मेडिकल कलेज ८१
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस ८०
गण्डकी मेडिकल कलेज ८६
नेसनल मेडिकल कलेज ९०
जानकी मेडिकल कलेज ६२

सूची हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय