शिशुको निःशुल्क उपचार र लापरबाही पाइए कारबाही गर्ने सहमतिपछि सेवा सुचारु

जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा ५ दिनदेखि भड्किएको तनावले निकास पाएको छ । सुत्केरी गराउने क्रममा बिहीबार महिलाको मृत्युपछि पीडितका आफन्त र अस्पतालबीच चर्किएको विवाद आइतबार प्रहरी प्रशासनको रोहबरमा सहमति भएसँगै टुंगिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी श्याम ज्ञवालीका अनुसार नवजात शिशुको निःशुल्क उपचार गर्ने र उपचारमा लापरबाही देखिएमा दोषीलाई कारबाही गर्ने सहमति भएको छ । घटनाको नेपाल मेडिकल काउन्सिलको टोलीबाट छानबिन गराइनेछ ।

सहमतिपछि अस्पतालको सेवा सुचारु भएको प्रहरी वृत्त बौद्धका डिएसपी प्रदीपकुमार पौडेलले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । मृतकका आफन्तबाट आफूहरूलाई धम्की आएको भन्दै शनिबारदेखि अस्पतालका कर्मचारीले आकस्मिकबाहेकका सेवा बहिष्कार गरेका थिए ।

भोजपुर षडानन्द नगरपालिका–८ की २४ वर्षीया सुनिता राईको बिहीबार राति नेपाल मेडिकल कलेजमा डेलिभरीका क्रममा मृत्यु भएको थियो । अस्पतलको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा सामान्य तोडफोडसहित प्रदर्शन गरेका थिए । सुत्केरी गराउने क्रममा भ्याकुम लगाउँदा आमाको पाठेघरसमेत चुँडिएर मृत्यु भएको आफन्तको दाबी छ । नवजात शिशुको भने अवस्था सामान्य रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय