मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणमा पुरानाकै एकाधिकार

हेल्थपोस्ट
प्रकाशित
२०७६ पुष २७ गते १५:२६

नेपाली श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्था थप्न मलेसियाले आनाकानी गरेको छ । नेपाल र मलेसियाबीच गत नोभेम्बरबाटै नयाँ संस्था थप्ने प्रक्रिया सुरु गर्ने सहमति भए पनि त्यसलाई कार्यान्वयन गर्न मलेसिया उदासीन देखिएको हो । पछिल्लो समय श्रम मन्त्रालयले समेत यस विषयमा चासो दिन छाड्दा स्वास्थ्य परीक्षणमा पुरानै ३९ संस्थाको एकाधिकार कायम भएको छ ।

नेपालले स्वास्थ्य परीक्षण गर्न सबैलाई खुला गर्नुपर्ने अडान राखेर कामदार पठाउनै बन्द गरेपछि मलेसियाले बिस्तारै ती संस्था थप्ने सहमति गरेको थियो । सहमतिअनुसार नयाँ अस्पताल तथा स्वास्थ्यसंस्था थप्ने प्रक्रिया गत नोभेम्बरमै सुरु हुनुपर्ने थियो । त्यसका लागि मलेसियाबाट अनुगमन टोली आउने भनिएको थियो । तर, त्यसपछि नेपालले पनि ताकेता नगरेको र मलेसियाले पनि कुनै प्रक्रियामा नलगेको श्रम मन्त्रालयका उपसचिव दीपक ढकालले जानकारी दिए ।

‘मलेसियाबाट कुनै पनि प्रतिक्रिया आएको छैन,’ उनले भने, ‘हामी पनि अब के हुन्छ भन्ने विषयमा अन्योलमै छौँ ।’

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न ३९ वटा संस्थालाई मात्रै अनुमति दिँदा सिन्डिकेट कायम भएको भन्दै ०७५ जेठमा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले खारेज गरिदिएका थिए । श्रमिक पठाउनै बन्द गरिएपछि मलेसियासँग श्रम समझदारी भएको थियो । समझदारीमा पनि स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया पुर्याएर आउने अरू संस्थालाई पनि अनुमति दिने भनिएको थियो ।
तर, तत्कालका लागि पुरानै संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने सहमतिसँगै नयाँ संस्था थप्ने प्रक्रिया अन्योलमा परेको हो । श्रम मन्त्रालयले भने १२२ संस्था सूचीकरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय