उपेन्द्रले ‘पेन्डुलम’ बनाएका दुई निर्देशकलाई जिम्मेवारीमा फर्काएर मन्त्री ढकालले दिए विधिसम्मत चल्ने संकेत

सरकारले औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायणप्रसाद ढकाललाई जिम्मेवारीमा फर्काएर पुरानो गल्ती सच्याएको छ । विभागको महानिर्देशकका लागि कानुनतः ढकाल मात्र योग्य उम्मेदवार भएको अवस्थामा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिशोध साध्ने हिसाबले स्वार्थकेन्द्रित निर्णय गरेर महानिर्देशक नियुक्तिलाई विवादमा तानेका थिए । औषधि विभागमा ढकालसँगै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा सुनिल शर्माको पनि पुनर्बहाली भएको छ । उनी पनि केन्द्रको निर्देशकका लागि योग्यतम उम्मेदवार हुँदाहुँदै कर्मचारी समायोजनपछिको पदस्थापनका क्रममा ढकालजसैगरी राजनीतिक सिकार बन्दै विस्थापित हुन पुगेका थिए ।

१३ असारमा कर्मचारी समायोजनपछि पदस्थापनका क्रममा विभागको महानिर्देशकका लागि निर्विकल्प उम्मेदवार फार्मेसी सेवाका ११औँ तहका ढकाललाई विस्थापित गरी उनीमातहतकै १०औँ तहका पानबहादुर क्षेत्रीलाई निमित्तनिर्देशकको जिम्मेवारी दिएर मन्त्री यादवले कानुनको उल्लंघन गरेका थिए । त्यति मात्र होइन, ढकाललाई १०औँ तहका क्षेत्रीले नेतृत्व गरेको विभागमातहतको राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकमा पदस्थापन गरेर मन्त्री यादवले विगतमा कहिल्यै अभ्यास नगरिएको जुनियरको अन्डरमा सिनियरलाई जिम्मेवारी तोक्ने भूल गरेका थिए । आफ्नो मानमर्दन भएपछि कानुनी उपचारको बाटो रोजेका ढकाललाई देशको सर्वोच्च न्यायिक निकायले पुनर्बहाली गर्दासमेत मन्त्री यादवले त्यसको कार्यान्वयन नगरी ढकाललाई मन्त्रालयमा तानेर आफ्नो प्रतिशोधपूर्ण निर्णयलाई गलत दिशामै निरन्तरता दिएका थिए । अन्ततः मन्त्री यादवको सुरुमा स्वास्थ्य र त्यसपछि सरकारबाटै बहिर्गमनपछि विभागको महानिर्देशक नियुक्ति विवादले निकास पाएको छ ।

मन्त्री यादवलाई विस्थापित गरेर करिब दुई महिनाअघि स्वास्थ्यको नेतृत्वमा आएका मन्त्री भानुभक्त ढकालले मंगलबार ढकाललाई महानिर्देशकमा फर्काएसँगै ६ महिनाभन्दा लामो समयदेखि किचलोमा फसेको विभागले निकास पाएको हो । ढकालको विभागमा पुनर्बहालीसँगै तत्कालीन मन्त्री यादवले गरेको गैरन्यायिक निर्णय सच्चिएको छ भने सर्वोच्च अदालतको आदेशसमेत कार्यान्वयनमा आएको छ । विभागले तोकिएको योग्यताअनुसारको महानिर्देशक पाएको छ र ढकालमाथि न्याय भएको छ । यो निर्णयमार्फत मन्त्री ढकालले विधि र प्रक्रियाभन्दा आफू कुनै पनि मूल्यमा बाहिर नजाने पटक–पटकको घोषणाको व्यावहारिक कार्यान्वयनको संकेत दिन खोजेको रुपमा हेरिएको छ । यद्यपि, भटाभट नियुक्तिमा लागेका मन्त्री ढकालको यसअघिका केही नियुक्तिमा पात्र छनोटबारे यदाकदा जिज्ञासा भने उठिसकेका छन् ।

ढकालले बुधबार पत्र पाएलगत्तै पदबहाली गरेका गरे । ‘ढिलै भए पनि न्यायको जित हुन्छ भन्नेमा म विश्वस्त थिएँ,’ सर्वोच्चको आदेश लिएर आउँदा पनि विभागको जिम्मेवारीमा फर्किन करिब ६ महिना संघर्ष गरेका महानिर्देशक ढकालले पदबहालीपछि हेल्थपोस्टसित भने, ‘राम्रा सोच्ने मानिस पनि हुँदा रहेछन्, मलाई जिम्मेवारीमा फर्काउने मन्त्रीज्यूप्रति म आभारी छु ।’ मन्त्री ढकालको निर्णयले न्यायपालिकाको सम्मानका साथै कानुनी राज्यको अवधारणाको आत्मसात् भएको उनको भनाइ छ ।

आदलतबाट बच्न नाटकीय रूपमा ५ दिनका लागि जिम्मेवारीमा फर्काइएको अवधिलाई समेत गणना गर्दा ढकालको यो महानिर्देशकमा तेस्रो आगमन हो । करिब ३३ महिना विभागको नेतृत्व गरिसकेका ढकालले जनतालाई सुलभ र गुणस्तरीय औषधिको प्रत्याभूति गराउनु नै आफ्नो पहिलो प्राथमिकता हुने बताए ।
‘सेवाग्राहीको सन्तुष्टि नै मेरो पहिलो प्राथमिकता हो,’ महानिर्देशक ढकालले भने, ‘विभागमा संरचनात्मक र कार्यसम्पादनसम्बन्धी सुधारको खाँचो छ, त्यसतर्फ केन्द्रित हुन्छु ।’

भएको के थियो ?
ढकाललाई सरकारले १४ असोज ०७३ मा कार्यसम्पादन करार सम्झौता गरी औषधि व्यवस्था विभागको महानिर्देशकमा नियुक्त गरेको थियो । स्वास्थ्यको नेतृत्वमा यादव आएसँगै ढकालको मन्त्रीसँगको सम्बन्ध बिस्तारै चिस्सिँदै गएको थियो । विशेषगरी भारतीय औषधि कम्पनीहरूलाई औषधि आयात अनुमति दिने क्रममा मन्त्रीको इच्छाअनुकूल नचलेको भन्दै यादव ढकालसित रुष्ट भएका खबर बाहिरिएका थिए । पछि ढकाललाई जिम्मेवारीबाट हटाएसँगै मन्त्री यादवले २३ वटा भारतीय कम्पनीलाई अनुमति दिलाउनुले पनि यसलाई यादवको ढकालसितको मनमुटावको महत्त्वपूर्ण पक्षका रूपमा पुष्टि गर्छ ।

ढकाललाई विस्थापन गर्न फामेर्सी सेवाको ११औँ तहको कर्मचारी आवश्यक हुने कानुनी प्रावधान रहेको तर बहालवाला कर्मचारीमा त्यो योग्यताको अर्को व्यक्ति उपलब्ध नभएकाले खुम्चिएर बसेका मन्त्री यादवले कर्मचारी समायोजनपछिको पदस्थापनालाई आफ्नो स्वार्थपूर्तिको अवसरका रूपमा प्रयोग गरे । १३ असारमा पदस्थापनका क्रममा उनले ढकाललाई विभागमातहकको औषधि प्रयोगशालाको निर्देशकका रूपमा घटुवा गरी विभागको महानिर्देशकमा विभागमै कार्यरत १०औँ तहका पानबहादुर क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिए । तर, ढकालसित प्रतिशोध लिने मनस्थिति बनाएका मन्त्री यादवले भूल त्यसिवेला गरे जब उनले जुनियरले नेतृत्व गरेको विभागमातहतको औषधि प्रयोगशालामा सिनियर ढकाललाई पठाए । यदि उनले ढकाललाई त्यतिवेलै मन्त्रालयमा तानेको भए सायद उनको न्यायिक उपचारको बाटो मजबुत हुने थिएन र मन्त्रीको चाल सफल हुने थियो । यस्तो अभ्यास विगतमा पनि भएकै थियो ।

मन्त्री यादवको प्रतिशोध साध्ने हतारोका कारण पर्याप्त कानुनी आधार पाएका ढकाल २९ असारमा सर्वोच्चको ढोका ढकढक्याउन पुगे । आफू नियुक्त हुँदाका बखत सरकारले मन्त्रालयले १४ असोज ०७३ मा आफूसित गरेको कार्यसम्पादन करार भंग हुने गरी तथा त्यसअनुरूप मूल्यांकन नै नगरी हटाइएकाले आफ्नो पुनर्बहाली हुनुपर्ने माग उनको रिटनिवेदनमा थियो । रिटउपर दुईपक्षीय सुनुवाइ गर्दै सर्वोच्चले २१ साउनमा उनलाई महानिर्देशकबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गर्यो । तर, मन्त्री यादवले सर्वोच्चको आदेशपछि पनि आफ्नो निर्णय सच्याएनन् । ढकाललाई स्वास्थ्य मन्त्रालयले ५ असोजमा विभागमा हाजिर हुन जान पत्र त दियो, तर २४ भदौमै मन्त्रालय तानिएको पत्र ढकालले १० असोजमा पाए । यसरी मन्त्रीसितको कटुताका कारण गोलचक्करमा घुमाइएका ढकाल नयाँ मन्त्री आएको २ महिनापछि विभागमा फर्किएका हुन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा फर्काइए शर्मा
मन्त्री ढकालले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशको जिम्मेवारीमा सुनिल शर्मालाई फर्काएका छन् । शर्मा पनि केन्द्रको निर्देशकका लागि निर्विकल्प उम्मेदवार हुँदाहुँदै पनि तत्कालीन मन्त्री यादवको चालमा परेका थिए ।

केन्द्रको निर्देशकका रूपमा बहाल रहेकै अवस्थामा शर्मालाई कर्मचारी समायोजनपछिको पदस्थापनका क्रममै मन्त्रालयमा तानिएको थियो, जब कि केन्द्रको निर्देशकका लागि शर्मा नै पहिलो दाबेदार थिए । स्वास्थ्य शिक्षा प्रशासन समूह ११औँ तहमा कार्यरत शर्मा मात्र भएको अवस्थामा उनलाई विस्थापन गरी केन्द्रमै कार्यरत १०औँ तहका कुञ्ज जोशीलाई निर्देशकको जिम्मेवारी दिइएको थियो । यद्यपि, शर्माले भने कानुनी उपचारको बाटो रोजेनन् ।

मन्त्री ढकालले शर्मालाई निर्देशकको जिम्मेवारीमा फर्काएसँगै केन्द्रले तोकिएको योग्यताअनुसारको नेतृत्व पाएको छ भने शर्माले पनि न्याय पाएका छन् । उनले पनि दुई दिनअघि नै केन्द्रमा पदबहाली गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय