डाक्टरले सरकारी अस्पताललाई सम्पर्क कार्यालय बनाएर निजीमा सेवा दिइरहेका छन् : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चिकित्सकहरूले सरकारी अस्पताललाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा एक विधेयकमाथिको छलफलमा मन्त्री ढकालले सरकारी चिकित्सकले आफू कार्यरत अस्पताललाई सम्पर्क कार्यालय बनाएर सेवा भने निजी अस्पतालमा दिइरहेको बताएका हुन् । यद्यपि, स्वास्थ्यसेवाका कर्मचारी तथा चिकित्सकको पारिश्रमिक तथा सेवा–सुविधा न्यून भएकाले यस्तो अवस्था सिर्जना भएको उनको आशय थियो ।
सरकारी चिकित्सकको सेवा–सुविधा कम हुँदा सरकारी अस्पताल सम्पर्क कार्यालयजस्तो बनेको र उपचार भने निजीमा हुने गरेको जनाउँदै मन्त्री ढकालले यस्तो अवस्था अन्त गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा–सुविधामा वृद्धि गर्नुपर्नेमा जोड दिए ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनमाथिको छलफलका क्रममा मन्त्री ढकालले विद्यमान समस्या समाधानका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा–सुविधा थप हुने गरी विधेयक ल्याउनुपर्ने प्रस्ताव संसदीय समितिसमक्ष राखे । बैठकमा नेपाल स्वास्थ्यसेवाको पदपूर्तिलगायत स्वास्थ्यसम्बन्धी विविध विषयमा छलफल भएको थियो ।

छलफलमा सहभागी सांसदहरूले स्वास्थ्यसेवाको सुधारका लागि सरकारी सेवामा चिकित्सकको सेवानिवृत्त हुने उमेरहद बढाउनुपर्ने, विशेषज्ञ चिकित्सकले आमजनताको सेवा गर्ने गरी विधेयकमै व्यवस्था गर्नुपर्ने, विशेषज्ञ बन्नका लागि चिकित्सकले अनिवार्य रूपमा कर्णाली क्षेत्रमा काम गरेको हुनुपर्ने प्रावधान राख्नुपर्ने, प्रत्येक वडामा एमबिबिएस डाक्टरसहितको अस्पतालको परिकल्पना विधेयकमा गर्नुपर्ने, निजामती सेवाका कर्मचारी र स्वास्थ्यकर्मीलाई फरक दृष्टिले हेर्नुपर्ने, स्वास्थ्यकर्मीको बढुवा, अध्ययनलगायत विषयमा विधेयकमै स्पष्ट व्यवस्था गर्नुपर्नेलगायत सुझाब दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय