१० वर्षअघि निवारण घोषित कुष्ठरोगले विकराल रूप लिँदै, बालबालिकामा मापदण्डको ८ गुणा बढी संक्रमण

नेपाल सरकारले सन् २०१० मै देशबाट कुष्ठरोग निवारण भएको घोषणा गरेको हो । तर, प्रत्येक वर्ष कुष्ठरोगीको संख्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२० मा कुष्ठरोगीको संख्या प्रति १० हजारमा १ भन्दा कममा झार्ने लक्ष्य लिएको छ, जसमा नेपाल पनि सामेल छ । तर, धरातलको अवस्था भने त्यसतर्फ लक्षित छैन । नेपालमा कुष्ठरोगीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा निवारण लक्ष्य असफल भएको छ ।

स्वास्थ्य विभागअन्तर्गत इपिडिमिओलोजी तथा रोगनियन्त्रण महाशाखाले हालै सार्वजनिक गरेको तथ्यांकले कुष्ठरोगीको संख्या बढ्दोक्रममा रहेको देखाएको छ । आर्थिक वर्ष ०७५/७६ मा उपचारमा रहेका कुष्ठरोगी २ हजार ९ सय २१ थिए भने ३ हजार २ सय ८२ नयाँ बिरामी पत्ता लागेका थिए । त्यसैगरी, कुष्ठरोगका कारण अपांगता हुनेको संख्या करिब ३३ हजार अनुमान गरिएको छ ।

‘सन् २०१० मा निवारण भयो भनेर घोषणा गरियो, तर कुष्ठरोगका बिरामी बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले दिएको लक्ष्य पूरा गर्न सकिएन,’ महाशाखाका निर्देशक डा. विवेककुमार लालले भने, ‘दिनप्रतिदिन कुष्ठरोगीको संख्या बढ्दै गएको छ । भविष्यमा झन् गम्भीर रूप लिने देखिएको छ ।’

तीन प्रदेशमा कुष्ठरोगीको संख्या लक्ष्यभन्दा बढी
गत आर्थिक वर्षको अन्त्यमा उपचारमा रहेका बिरामीको प्रकोप (प्रिभिलेन्स दर) लाई हेर्दा ३ वटा प्रदेशमा लक्ष्यभन्दा बाहिर गएको देखिएको छ । १० हजारमा एकजनाभन्दा बढीमा कुष्ठरोग हुन नहुने मापदण्ड रहेकोमा झन्डै लक्ष्यको दोब्बरहाराहारीमा कुष्ठरोगी भेटिएको छ । प्रदेश २ मा प्रति १० हजार १.९३, प्रदेश ५ मा १.०५ र सुदूरपश्चिम प्रदेशमा १.०५ जनामा कुष्ठरोग भएको पाइएको हो ।

नेपाली समाजमा आज पनि कुष्ठरोगीलाई पापको प्रतिफल मिलेको भन्दै घृणा गर्ने मानसकिता हट्न नसकेको डा. लाल बताउँछन् । ‘समाजको घृणाका कारणले पनि कुष्ठरोगी खुलेर उपचारको दायरमा आउन सकेका छैनन्’ डा. लाल भन्छन्, ‘राज्यले उपचार निःशुल्क गर्ने व्यवस्था गरे पनि अझै कुष्ठरोगी खुलेर उपचारमा आउन सकेका छैनन् ।’

बालबालिकामा कुष्ठरोग अत्यधिक बढ्दै
नयाँ तथ्यांकअनुसार १४ वर्षसम्मका बालबालिकामा प्रति १० हजार ७.९२ जनामा कुष्ठरोग पाइएको छ, जुन निवारणको लक्ष्यभन्दा झन्डै आठगुणा बढी हो । बालबालिकामा देखिएको यस्तो नतिजाले भविष्यमा कुष्ठरोगले विकराल रूप लिने डा. लाल बताउँछन् ।

भएको जनशक्ति हटाउँदा कुष्ठरोग निवारण कार्यक्रम नियन्त्रणबाहिर
कुष्ठरोग नियन्त्रणसम्बन्धी काम पहिले महाशाखाअन्तर्गत हुन्थ्यो, तर सरकारले केही समयअघि कुष्ठरोगको कार्यक्रमलाई खुम्चाएर शाखामा राखेको छ । यसका कारण कार्यक्रमले प्रतिफल पाउन नसकेको डा. लालको बुझाइ छ ।  ‘देश संघीय प्रणालीमा गएपछि जिल्लामा भएका कुष्ठरोग हेर्ने जनशक्ति घटाइएको छ, भएका दरबन्दी हटाइएका छन्,’ लालले भने, ‘हामीले अहिले तत्कालै नयाँ स्वास्थ्यकर्मीलाई तालिम दिन सकेका छैनौँ, जसका कारण कार्यक्रमको लक्ष्य नै नियन्त्रणबाहिर गएको छ ।’

सरकारले जसरी क्षयरोगलाई प्रथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्यो, त्यसैगरी कुष्ठरोग कार्यक्रमलाई निरन्तरता दिन सकेमा कुष्ठरोगीको संख्या परिचाहन गर्न र उपचारको दायरामा ल्याउन मद्दत पुग्ने लाल बताउँछन् । नेपालमा कुष्ठरोगको संक्रमण तराईका १७ जिल्ला बढी रहेको महाशाखाले जनाएको छ । मोरङ, झापा, माहोत्तरी, सिरहालगायत जिल्लामा संक्रमतणदर बढ्दो क्रममा रहेको महाशाखाको तथ्यांक छ ।

वार्षिक १६ करोड लगानी, बालुवामा पानी
कुष्ठरोग निवारणका लागि गत वर्ष केन्द्रमा २ करोड, प्रदेशमा ४ करोड र स्थानीय तहमा १० करोड बजेट विनियोजन भएको महाशाखाले जनाएको छ । तर, १० वर्षअघि नै निवारण घोषणा गरिएको कुष्ठरोगको संक्रमणदर भने बढ्दोक्रममा छ । निवारण लक्ष्यको समयसीमामा आइपुग्दा कुष्ठरोगले उल्टै विकराल अवस्था लिने संकेत देखिँदै छ । यसरी हेर्दा सरकारको कुष्ठरोग निवारणमा भएको करोडौँ लगानी बालुवामा पनीसरह भएको छ ।

के हो कुष्ठ रोग ? कसरी हुन्छ ?
कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने सरुवा रोग हो । यो रोग लागेमा छाला तथा स्नायुलाई असर पार्ने गर्छ । यो रोग मानिसबाट मानिसमा सर्छ । उपचार नगराएको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्छ । यो रोग अरु रोगजस्तै साधारण सरुवारोग हो । तर, समयमै उपचार गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपांगता हुनबाट बच्न सकिन्छ ।

कुष्ठरोग लागेपछि छाला रातो हुने तथा छालामा हल्का फुस्रो दाग देखिने गर्छ । त्यसैगरी, अनुहारको छाला बाक्लो हुने, गिर्खाहरू देखापर्ने, स्नायुमा असर गर्दा हात तथा गोडामा छुँदा थाहा नहुने (लाटो हुने) हुन्छ । साथै, रोगप्रतिरोधात्मक क्षमता कमजोर हुनाले मांसपेशीहरू कमजोर हुने गर्छन् ।

यो रोग लागेमा कुष्ठरोगलाई चिह्न र लक्षणका आधारमा दुई प्रकारले विभाजन गरी उपचार गर्न सकिन्छ । कम कीटाणु भएमा ६ महिनासम्म र बढी कीटाणु भएमा १२ महिनासम्म नियमित औषधि खुवाएर रोग निको पार्न सकिन्छ ।
कुष्ठरोगका चिह्न र लक्षण :
१. शरीरको कुनै भागमा छुँदा थाहा नपाउनु, रातो, फुस्रो दागहरू देखापर्नु ।
२. हातखुट्टाको सतहका स्नायु सुन्निनु ।
३. बाहिरी सतहका स्नायु सुन्निनु ।
४. अनुहार र कानको लोती बाक्लो हुनु र गिर्खाहरू देखिनु ।
५. छाला चम्किलो र बाक्लो हुनु ।
६ . हातखुट्टामा नदुख्ने घाउहरू देखापर्नु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय