नर्सिङ काउन्सिलको सदस्यमा तुलाधर र श्रेष्ठ नियुक्त, मेट्रोनतर्फ भने गरिएन नियुक्ति

नेपाल नर्सिङ काउन्सिलको रिक्त दुई सदस्य पदमा सानु तुलाधर र दुर्गालक्ष्मी श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले तुलाधर र श्रेष्ठलाई काउन्सिलको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । तुलाधर क्याम्पस प्रमुख कोटाबाट र श्रेष्ठ सरकारी कोटाबाट काउन्सिलमा नियुक्त भएका हुन् ।

नियमित पत्रकारसम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले काउन्सिलमा नियुक्तिको जानकारी दिएका हुन् । तुलाधार र श्रेष्ठलाई काउन्सिलको सदस्यमा नियुक्त गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सिफारिस गरेका थिए ।

काउन्सिलमा अझै एक सदस्य पद खाली छ । क्याम्पस प्रमुख र सरकारी कोटामा नियुक्ति गरिए पनि मेट्रोनतर्फको कोटामा भने स्वास्थ्य मन्त्रालयले सिफरिस नै नगरेको बताइएको छ ।

यस्तो छ नर्सिङ परिषद्को गठनप्रक्रिया
(क) नर्सिङ विषयमा कम्तीमा स्नातक उपाधि प्राप्त गरी नर्सिङ व्यवसायमा कम्तीमा १५ वर्ष अनुभव प्राप्त गरेका व्यक्तिहरूमध्ये नेपाल सरकारबाट मनोनीत व्यक्ति –अध्यक्ष
(ख) नर्सिङ विषयमा कम्तीमा स्नातक उपाधि प्राप्त गरी नर्सिङ व्यवसायमा कम्तीमा १२ वर्ष अनुभव प्राप्त गरेका व्यक्तिहरूमध्ये नेपाल सरकारबाट मनोनीत व्यक्ति –उपाध्यक्ष
(ग) नर्सिङ क्याम्पसका क्याम्पस प्रमुखहरूमध्ये नेपाल सरकारबाट मनोनीत दुईजना –सदस्य
(घ) अध्यक्ष, नेपाल नर्सिङ संघ –सदस्य
(ङ) स्वास्थ्य सेवा विभागका महानिर्देशकले तोकेको अधिकृतस्तरको नर्स –सदस्य
(च) त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको डिनले तोकेको अधिकृतस्तरको नर्स –सदस्य
(छ) नेपाल नर्सिङ संघका साधारण सदस्यहरूमध्येबाट निर्वाचित तीनजना –सदस्य
(ज) नर्सिङ व्यवसायमा ख्यातिप्राप्त नर्सहरूमध्येबाट नेपाल सरकारबाट मनोनीत एकजना –सदस्य
(झ) नर्सिङ क्षेत्रमा १० वर्ष सेवा गरिसकेका दर्तावाला नर्सिङ व्यवसायी भई क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय अस्पताल वा अञ्चल अस्पतालमा कार्यरत नर्सिङ प्रमुखहरूमध्येबाट परिषद्को सिफारिसमा नेपाल सरकारबाट मनोनीत एकजना –सदस्य
(ञ) मेट्रोनहरूमध्ये नेपाल सरकारबाट मनोनीत एकजना –सदस्य
(ट) राष्ट्रिय जीवनमा ख्यातिप्राप्त उपभोक्ताका तर्फबाट नेपाल सरकारबाट मनोनीत एकजना –सदस्य
(ठ) प्रतिनिधि, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् –सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय