नारायणकाजी र गिरिराजमणिको नाममा चिकित्साशिक्षा आयोगका उपाध्यक्ष गिरीले २० करोड घुस मागेको बी एन्ड सी सञ्चालक प्रसाईंको दाबी

झापास्थित प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले मेडिकल कलेजको सम्बन्धनका लागि चिकित्साशिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूसित २० करोड घुस मागेको आरोप लगाएका छन् । राजधानीमा पत्रकारसम्मेलन गर्दै प्रसाईंले उपाध्यक्ष गिरीमाथि यस्तो आरोप लगाएका हुन् ।

प्रसाईंले १५ मंसिरमा आफू आयोगमा सम्बन्धनको निवेदन दिन जाँदा निवेदन लिन अस्वीकार गरी साँझ द्वारिका होटद्वलमा बोलाएर डा. गिरीले घुस मागेको बताए । प्रसाईंका अनुसार गिरीले आफूले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पैसा दिनुपर्ने भन्दै घुस मागेका थिए ।

गिरीले २० करोड वा १० प्रतिशत सेयर आफ्नो आफन्तको नाममा ट्रान्सफर गते मात्र सम्बन्धन दिन सक्ने बताएको प्रसाईंको दाबी छ । प्रसाईंले यसबीचमा आयोगले मापदण्ड नबनाई सिटिइभिटीअन्तर्गत सम्बन्धन बाँडेको तर आफूलाई सम्बन्धन नदिएको भन्दै दुःख व्यक्त गरे ।

गिरीले घुस मागेपछि आफूले भोलिपल्टै नेकपाका अध्यक्ष प्रचण्डलाई सोको जानकारी गराएको समेत प्रसाईंले खुलासा गरे । ‘यत्रो २० करोड मैले कहाँबाट दिने ?   प्रसाईंले भने, ‘१–२ करोड भए हेर्न सकिन्थ्यो, यत्रो पैसा कसरी डाइभर्ट गर्न सकिन्छ ?’
पैसा दिन नसके आफ्नो सम्धीको नाममा मेडिकल कलेजको १० प्रतिशत सेयर नामसारी गरिदिन डा. गिरीले भनेको प्रसाईंले बताए । ‘गिरीले सम्धीको नाममा सेयर पास गरिदिए मात्र सम्बन्धन दिन्छु भने,’ प्रसाईंले भने ।

सरकारले चिकित्साशिक्षा ऐन जारी गर्दा उपत्यकाबाहिर मेडिकल कलेज खोल्न सकिने व्यवस्था आफ्नै बी एन्ड सी कलेजका लागि राखेको दाबी उनको थियो ।

ममाथि षड्यन्त्र भयो : उपाध्यक्ष डा. गिरी
उपाध्यक्ष डा. गिरीले भने प्रसाईंले लगाएको आरोप सरासर गलत भएको दाबी गरेका छन् । हेल्थपोस्टसँग कुराकानी गर्दै डा. गिरीले भने, ‘आरोप लगाएर मात्र हुन्छ ? प्रमाण दिनुस् ।’ आयोगका अन्य पदाधिकारीसँग परामर्श गरेर मात्र आरोपबारे थप कदम चाल्ने गिरीले बताए । डा. गिरी र प्रसाईं दुवै नेकपानिकट मानिन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय