मन्त्री ढकालको घोषणा :  अब नर्सको पारिश्रमिकमा विभेद हुँदैन

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालहरूमा कार्यरत नर्सको तलबमा रहेको विभेद अन्त गर्ने घोषणा गरेका छन् । अब सरकारीस्तरका सबै अस्पतालमा काम गर्ने समान तहका नर्सले समान पारिश्रमिक पाउने मन्त्री ढकालले बताएका हुन् । कान्ति बाल अस्पतालको ५८औँ वार्षिकोत्सव समारोहमा मंगलबार मन्त्री ढकालले सरकारी अस्पतालमै पनि नर्सको पारिश्रमिकमा विभेद गरिँदै आएको बताउँदै यो विभेदकारी व्यवस्था अन्त गर्ने बताएका हुन् । ‘सरकारी अस्पतालमा रहनुभएका नर्सहरूको एकअर्को अस्पतालसँग जुन विभेदपूर्णखालको आर्थिक हैसियतको निर्धारण भएको छ, यसलाई ढिलो–छिटो अन्त्य गर्नुपर्छ,’ मन्त्री ढकालले भने ।

यद्यपि, बढी सुविधा लिइरहेका अस्पतालका नर्सको पारिश्रमिक घटाएर वा कम लिइरहेकाको बढाएर पारिश्रमिकमा समानता ल्याउनेबारे भने उनले खुलाएका छैनन् । यी दुवै अवस्थामा नर्सको पारिश्रमिकमा समानता ल्याउन सकिन्छ । सरकारी दरबन्दीका नर्सको न्यूनतम तलबमान निर्धारित नै हुने हुँदा कुनै अस्पतालमा थप सुविधा दिइएकै कारण सरकारी नर्सको सेवा–सुविधा असमान हुन गएको हो । अर्कोतर्फ निजी क्षेत्रमा काम गर्ने नर्समाथिको श्रमशोषण तथा नसिङ बेरोजगारीको अवस्था विकराल छ, जसको समाधानका लागि सरकारले ठूलो पहलकदमी लिनु आवश्यक छ ।

अस्पतालहरूबीच रहेको पारिश्रमिकको असमानताकै कारण एक अस्पतालमा कार्यरत नर्स अर्को अस्पतालमा सरुवा हुन खोज्ने तथा विज्ञापनमार्फत पनि जान खोज्ने प्रवृत्ति समस्याका रूपमा रहेको मन्त्री ढकालको भनाइ छ । ‘आर्थिक विभेदकै कारण वीर अस्पतालमा कहिले कर्मचारी माग्ला भनेर कान्ति अस्पतालका नर्सहरू बस्नुभएको छ,’ मन्त्री ढकालले भने, ‘अस्पतालका बीचमा समेत समानता छैन भने हामीले कसरी समाजमा समानताको कुरा गर्न सक्छौँ ? यस्ताखालका कुरालाई ढिलोछिटो बहिष्कार गर्नुपर्छ ।’

त्यस्तै, मन्त्री ढकालले डाक्टर र नर्सको अध्ययन बिदालाई एउटा नियममा ल्याउनुपर्ने बताए । ‘कति प्रतिशतसम्मलाई अध्ययन गर्न जान दिने भन्ने किटान गर्न सकियो भने नर्स तथा डाक्टरको अभाव हुँदैन,’ मन्त्री ढकालले भने । अध्ययन बिदाको प्रभावकारी नियम नहुँदा भनसुनका आधारमा केही सीमित व्यक्ति वा समूहले मात्र यसको लाभ लिइरहेको मन्त्री ढकालको ठहर छ । ‘कुनै अस्पतालमा कुनै व्यक्तिको पावर छ, सोर्सफोर्स लगाउन सक्छ भने उही मात्र अध्ययन गर्न बाहिर गइरहेको छ,’ मन्त्री ढकाले भने, ‘वार्षिक रूपमा प्रतिशत तोकेरै पढाउन थालियो भने सबैले पढ्न पाउनेछन् ।’

सरकारले लगानी गरेर डाक्टर बनाउन योगदान गरे पनि डाक्टरले आफ्नो दायित्व पूरा गर्न नसकेको मन्त्री ढकालले बताए । ‘बाहिर गएर पढेर आउनुहुन्छ तर काठमाडौं उपत्यकाभन्दा बाहिर पाइला नै टेक्न नपरोस् भन्नेखालको चिन्तन र छाप कलिलै उमेरमा डाक्टरमा परेको छ,’ मन्त्री ढकालले भने, ‘सरकारले खटाएको ठाउँमा डाक्टर जाने हो भने डाक्टरको अभाव हुँदैन ।’

मन्त्रालयको जिम्मेवारी वहन गरेको २ महिनामा सबैलाई विधिसंगत तरिकाले चलाउन निकै गाह्रो परेको मन्त्री ढकालले सुनाए । २ महिनाभित्रमा राम्रा कुराहरू पनि प्राप्त गरेको मन्त्री ढकालले तिनलाई सम्हालेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्छ भन्ने साथीहरूको साथ लिएर बहुत धृष्टताका साथ परिर्वतनको अनुभूति गराउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय