कर्णाली सरकारको निर्णय : निजीमा काम नगर्ने सरकारी चिकित्सक तथा कर्मचारीलाई तलबको १३५% सम्म भत्ता

कर्णाली प्रदेश सरकारले दुर्गममा स्वास्थ्यसेवाप्रवाहका लागि प्रोत्साहन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आकर्षक भत्ता दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गतका सरकारी स्वास्थ्यसंस्थामा काम गर्ने चिकित्सकलाई भौगोलिक विकटता र तहअनुसार तलबको ५० देखि १३५ प्रतिशतसम्म मासिक प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । यसका साथै सरकारले कर्णालीमा कार्यरत सरकारी चिकित्सक तथा कर्मचारीको परिवारको स्वास्थ्यबिमा समेत गरिदिने भएको छ ।

सरकारले प्रदेशअन्तर्गत काम गर्ने सरकारी कार्मचारीलाई समेत मासिक ४ देखि १० हजार भत्ता दिने भएको छ । तर, सरकारी सेवामा रही निजी अभ्याससमेत गर्ने चिकित्सक तथा कर्मचारीले भने प्रोत्साहन भत्ता नपाउने निर्णय सरकारको छ । प्रदेश सरकारले यो निर्णय १ माघदेखि नै लागू गर्ने जनाएको छ । चिकित्सक तथा कर्मचारीको प्रोत्साहन भत्ताका लागि सरकारले १२ करोड रूपैयाँ विनियोजन गरिसकेको छ । चिकित्सक तथा कर्मचारीलाई प्रोत्साहन भत्तासहित सरकारले उनीहरूको परिवारको स्वास्थ्यबिमाको प्रिमियमसमेत तिरिदिनेछ ।

कर्णाली सरकारले चिकित्सकका लागि प्रतिशतमा भत्ताको व्यवस्था गरेको भने कर्मचारीलाई मासिक ४ देखि १० हजार दिने भएको छ । प्रदेशका १० जिल्लालाई भौगोलिक तथा पूर्वाधारका हिसाबले ४ समूहमा विभाजन गरी प्रोत्साहन भत्ता निर्धारण गरिएको छ । एउटै जिल्लामा काम गर्ने चिकित्सकमध्ये पनि तहअनुसार फरक–फरक भत्ता निर्धारण गरिएको छ । सबैभन्दा बढी ११औँ तहका चिकित्सकले सबैभन्दा बढी १३५ प्रतिशतसम्म प्रत्साहन भत्ता पाउने भएका छन् । तर, प्रोत्साहन भत्ता पाउन कुनै पनि चिकित्सक तथा कर्मचारीले निजी अभ्यास गरेको हुन नहुने व्यवस्था सरकारले गरेको छ ।

विकटताका हिसाबले ४ समूहमा जिल्लाको वर्गीकरण, कसलाई कति भत्ता ?
कर्णाली सरकारले प्रदेशअन्तर्गतका जिल्लाहरूलाई भौगोलिक तथा पूर्वाधारका हिसाबले विकटताका आधारमा ४ समूहमा वर्गीकरण गरेको छ । यसमध्ये सबैभन्दा विकट जिल्लाको समूहमा मुगु, डोल्पा र हुम्लालाई राखिएको छ । यी ३ जिल्लामा काम गर्ने सरकारी चिकित्सक तथा कर्मचारीलाई सबैभन्दा बढी भत्ता दिइने भएको छ । यहाँ काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले निम्नबमोजिम भत्ता पाउने भएका छन्–
११औँ तहका चिकित्सकलाई – तलबको १३५%
९–१० तहका चिकित्सकलाई – तलबको १२५%
८औँ तहका चिकित्सकलाई – तलबको १००%
स्वास्थ्यकर्मीलाई – मासिक १० हजार

त्यस्तै, विकटताका हिसाबले दोस्रो समूहमा कालिकोट र जुम्ला जिल्लालाई राखिएको छ । यी दुई जिल्लामा कार्यरत चिकित्सक तथा कर्मचारीले मुगु, डोल्पा र हुम्लाभन्दा कम र अन्य तीन समूहका जिल्लाभन्दा बढी भत्ता पाउनेछन् । यहाँ काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले निम्नबमोजिम भत्ता पाउने भएका छन्–
११औँ तहका चिकित्सकलाई – तलबको १००%
९–१० तहका चिकित्सकलाई – तलबको ९०%
८औँ तहका चिकित्सकलाई – तलबको ७५%
स्वास्थ्यकर्मीलाई – मासिक ८ हजार

तेस्रो समूहमा सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेख परेका छन् । यी ३ जिल्लामा काम गर्ने सरकारी चिकित्सक तथा कर्मचारीले सुर्खेतमा कम गर्नेको बढी प्रोत्साहन भत्ता पाउनेछन् । यहाँ काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले निम्नबमोजिम भत्ता पाउने भएका छन्–
११औँ तहका चिकित्सकलाई – तलबको ९०%
९–१० तहका चिकित्सकलाई – तलबको ८०%
८औँ तहका चिकित्सकलाई – तलबको ६०%
स्वास्थ्यकर्मीलाई – मासिक ६ हजार

विकटताका हिसाबले अन्तिम समूह अर्थात् सबैभन्दा कम विकट जिल्लामा राजधानी सुर्खेत परेको छ । प्रदेशको दक्षिणी सिमानामा पर्ने सुर्खेत कर्णालीको सबैभन्दा सुगम जिल्ला हो । सुर्खेतमा काम गर्ने चिकित्सक तथा कर्मचारीले सबैभन्दा कम प्रोत्साहन भत्ता पाउने भएका छन् । यहाँ काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले निम्नबमोजिम भत्ता पाउने भएका छन्–
११औँ तहका चिकित्सकलाई – तलबको ७५%
९–१० तहका चिकित्सकलाई – तलबको ७५%
८औँ तहका चिकित्सकलाई – तलबको ५०%
स्वास्थ्यकर्मीलाई – मासिक ४ हजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय