लुम्बिनी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सुरु, सरकारीस्तरमा प्रदेश ५ मै पहिलो डायलाइसिस सेवा

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा डायलाइसिस सेवा सुरु भएको छ । यससँगै लुम्बिनी प्रादेशिक अस्पताल डायलाइसिस सेवा लिने प्रदेश ५ कै पहिलो सरकारी अस्पताल बनेको छ । सुरुमा ५ बेडबाट सुरु हुने डायलाइसिस सेवा भविष्यमा आवश्यकताअनुसार क्षमता विस्तार गर्दै लगिने अस्पतालले जनाएको छ ।

प्रदेश ५ मा सरकारीस्तरमा पहिलो डायलाइसिस सेवाको सामाजिक विकासमन्त्री सुदर्शन बरालले एक कार्यक्रमबीच शुभारम्भ गरे । सेवाको उद्घाटन गर्दै मन्त्री बरालले बिरामी भएर अस्पताल आउनुपूर्व सबै नागरिकलाई मिर्गौलासम्बन्धी जनचेतना जगाउनु आवश्यक रहेको बताए । मन्त्री बरालले जनताको मिर्गौलाको आयु बचाउने गरी काम गर्न चिकित्सकलाई आग्रह गरे । विभिन्न बाध्यता र समस्या लिएर आउने बिरामीसँग राम्रो व्यवहार गर्न र ठिक ढंगले उपचार गर्नसमेत उनले निर्देशन दिए ।

मन्त्री बरालले लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा थप गर्दै लैजाने प्रतिबद्धतासमेत जनाए । उनले यसै वर्षदेखि अस्पतालमा न्युरो सेवा विस्तार गर्न लागिएको जानकारी गराए । हेमोडायलाइसिस मात्र नभएर सबै सेवाको निरन्तरता जरुरी रहेको उनको भनाइ थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा. राजेन्द्र खनालले अस्पताल उपचारको क्षेत्रमा प्रदेशकै आशाको केन्द्रविन्दु भएकाले यहाँबाट प्रवाहित हुने सेवाबारे सबैलाई सुसूचित गर्ने दायित्व भएको बताए । डा. खनालले अस्पतालको सेवामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

सेवारम्भका अवसरमा अस्पतालका हेमोडायलाइसिस विभाग प्रमुख डा. शक्ति बस्नेतले डायलाइसिस सवाबारे जानकारी गराएका थिए । डा. बस्नेतले अहिले ५ बेडबाट डायलाइसिस सेवा दिने र पछि आवश्यकता अनुसार थप गर्दै लैजाने जानकारी दिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. गोपीकृष्ण खनाल, स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमा शंकरप्रसाद चौधरी, अस्पतालकी नर्सिड अधिकृत ज्योति पौडेललगायतले डायलाइसिस सेवारम्भबारे धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय