रोहिणी गाउँपालिकामा एक्स–रे सेवा सुरु

हेल्थपोस्ट
प्रकाशित
२०७६ पुष २१ गते १५:१३

रूपन्देहीको रोहिणी गाउँपालिकाले एक्स–रे सेवा सुरु गरेको छ । गाउँपालिकाले धकधई प्राथमिक स्वास्थ्यकेन्द्रबाट सामान्य एक्स–रे र भिडियो एक्स–रे सेवा सुरु गरेको हो । पूर्व सरसफाइ तथा खानेपानीराज्यमन्त्री अब्दुल रज्जाकको पहलमा प्राप्त भएको एक्स–रे मेसिन सञ्चालनमा ल्याइएको छ । ग्रामीणस्तरमै एक्स–रे र भिडियो एक्स–रे सुविधा उपलब्ध भएपछि स्थानीयले सेवाका लागि सहर धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।

स्वास्थ्यकेन्द्रले स्थापनाको २४ वर्षपछि एक्स–रे सेवा विस्तार गरेको हो । ३ वर्षअघि स्वास्थ्यसेवा विभागको सहयोगमा आएको एक्स–रे मेसिन र यस वर्ष गाउँपालिकाले उपलब्ध गराएको भिडियो एक्स–रे मेसिन एकै साथ सञ्चालनमा ल्याइएको छ । स्वास्थ्यकेन्द्रको सेवाप्रवाहलाई थप गुणस्तरीय बनाउन एक्स–रे सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले बताए ।

सेवा सञ्चालन सुरु भएसँगै रोहिणी र ओमसतिया गाउँपालिकाका बिरामी भैरहवा र बुटवल धाउनुपर्ने बाध्यता हटेको छ । ‘एक्स–रे मेसिन नहुँदा दैनिक दर्जनभन्दा बढी बिरामी यस क्षेत्रबाट बाहिरिँदै गएका थिए । यसलाई मध्यनजर गर्दै सेवा सुरु गरेका छौँ,’ अध्यक्ष यादवले भने ।

मेसिनको उद्घाटन गर्दै नेपाली कांग्रेस रूपन्देहीका सभापति तथा पूर्वराज्यमन्त्री अब्दुल रज्जाकले उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । बिरामीलाई छिटोछरितो सेवाप्रवाह गर्न एक्स–से सेवाले सहयोग पुग्ने बताउँदै उनले स्वास्थ्यजस्तो संवेदनशील सेवालाई प्रभावकारी बनाउन आफू सदैव सहयोग गर्न तत्पर रहने बताए । रेडियोलोजिस्टको व्यवस्थापनका लागि गाउँपालिकालाई आग्रह गर्दै उनले ओमसतिया र रोहिणी गाउँपालिकाको स्वास्थ्यसेवालाई अझै प्रभावकारी बनाउन पहल गरिरहने बताए ।

रज्जाकले प्रत्येक गाउँपालिकामा १५ शय्यासहितको स्वास्थ्यसंस्था हुनुपर्ने सरकारी नीति रहेको बताउँदै धकधईको स्वास्थ्यकेन्द्रको विस्तार गर्न सबै लाग्नुपर्नेमा जोड दिए । ‘एक्स–रे सेवा सुरु गर्नुभन्दा पनि यसको निरन्तरता महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘दक्ष जनशक्तिसहित सेवाग्राहीलाई सही समयमा उचित सेवा दिनमा ध्यान केन्द्रित गर्न म सरोकारवालालाई आग्रह गर्छु ।’

स्वास्थ्यकेन्द्रका अध्यक्ष वीरबहादुर क्षेत्रीले उपलब्ध जनशक्तिबाटै एकजनालाई तालिम दिएर एक्स–रेसेवा सुरु गरेको जानकारी दिए । ‘उद्घाटनको अवसरमा २ दिन निःशुल्क जाँच राखेका छौँ,’ उनले भने, ‘सधैँ रेडियोलोजिस्ट उपलब्ध नभए पनि हाललाई साताको एक दिन भए पनि रेडियोलोजिस्ट हायर गरेर सेवा प्रदान गर्छौं ।’

स्वास्थ्यकेन्द्र २०५२ मा स्वास्थ्यचौकीका रूपमा स्थापित भई दुई वर्षपछि ०५४ मा स्वास्थ्यकेन्द्रमा विकास भएको थियो । स्वास्थ्यकेन्द्रबाट दैनिक गर्मीमा करिब सयजना र जाडोयाममा करिब ५० जनाले स्वास्थ्यसेवा लिँदै आएको स्वास्थ्यकेन्द्र्रका प्रमुख डा. उमेश गुप्ताले बताए । केन्द्रले इमर्जेन्सी सेवा, प्रसूति, ल्याबोरेटोरी, निःशुल्क औषधिको फार्मेसी, मेन्टल हेल्थ, पोषणलगायत सेवा प्रदान गर्दै आएकोमा एक्स–रे सेवासहित पेटभित्रका समस्याका लागि भिडियो एक्स–सेलगायत सेवाको थालनी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय