विशेषज्ञ पर्खिंदै केन्द्रमातहतको बाँके प्रखर क्यान्सर अस्पताल, ३० विशेषज्ञ आवश्यक तर एक मात्र उपलब्ध

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विधिवत् रूपमा सञ्चालनमा आएको पनि २ वर्ष बित्नै लागिसकेको छ । तर, आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकको अभावमा अस्पताल सञ्चालनमै समस्या देखिएको छ । जसोतसो अस्पताल सञ्चालन भएको देखिए पनि विशेषज्ञयुक्त सेवाका लागि बिरामीले हप्तौँसम्म कुर्नुपर्ने बाध्यता कायमै छ ।

आवश्यकता र दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक तथा अन्य जनशक्ति अभाव हुँदा अस्पतालमा सेवा लिन आएका क्यान्सरपीडित बिरामीले कि हप्तौँसम्म डाक्टर कुरेर बस्नुपर्छ, या त चितवन वा काठमाडौं रेफर हुनुपर्छ । अस्पतालमा जनशक्ति अभावका कारण उपचार सम्भव नभएको भन्दै चिकित्सकले नै अन्यत्र जान सल्लाह दिने गरेको गुनासो बिरामीको छ । घाँटीको क्यान्सर लिएर केमोथेरापीका लागि हुम्लाबाट बाँके झरेका ५४ वर्षीय सुत्तबहादुर रावल केही दिनदेखि खजुरास्थित क्यान्सर अस्पताल प्रांगणमा घाम तापेर बसिरहेका छन् ।  रावलले २ वर्षदेखि केमो लिइरहेका छन् । अस्पतालमा केमोथेरापी गराउने एक मात्र चिकित्सक प्रदीप भण्डारीलाई पर्खिरहेको उनी बताउँछन् । क्यान्सरको पूर्ण उपचार सेवा दिने उद्देश्यले सञ्चालित क्यान्सर अस्पतालले अझै उद्देश्यअनुरूप सेवा प्रदान गर्न सकिरहेको छैन । त्यसको एउटै कारण छ, विशेषज्ञ चिकित्सक अभाव ।

‘अस्पतालसँग आवश्यक मेसिन छन्, पूर्वाधार छन् । अधिकांश कुरा पर्याप्त मात्रामा छन्, तर एउटै समस्या छ– पर्याप्त कर्मचारी र चिकित्सक छैनन्,’ अस्पताल निर्माणको सुरुवातकर्ता प्रखर परोपकार मिसनका अध्यक्ष एवम् खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले भने । अस्पतालमा पछिल्लोपटक स्वास्थ्यराजमन्त्री आएका वेला अस्पतालका समस्याबारे अवगत गराएको अध्यक्ष कक्षपति बताउँछन् । ‘अस्पतालमा विशेषज्ञ पठाउने आश्वासन पाएका छौँ,’ अध्यक्ष कक्षपतिले भने ।

अस्पताल सञ्चालनमा आएपछि साबिकको मध्य र सुदूरपश्चिम विकासक्षेत्रका क्यान्सरपीडितले उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने आशा लिइएको थियो । ११ असार ०७५ देखि सञ्चालनमा आएको अस्पतालले चिकित्सक अभावमा क्षमताअनुरूप सेवा दिन नसक्दा बिरामीले चितवन र काठमाडौं धाउनुपर्ने बाध्यता कायमै छ । हाल अस्पतालले केमोथेरापी, इमर्जेन्सी, ओपिडी, डे केयर, एक्स–रे, सामान्य प्याथोलोजी, फार्मेसीलगायत सेवा सञ्चालन गरिरहेको छ । तर, विशेषज्ञ चिकित्सक अभावमा क्यान्सर भए–नभएको पत्ता लगाउनै पनि बिरामीले चितवन वा काठमाडौंमै पुग्नुपर्ने बाध्यता छ ।

अस्पताल हाल निमित्तप्रमुखको भरमा सञ्चालनमा छ । लेखाअधिकृत विमल श्रेष्ठले प्रशासन सम्हालिरहेका छन् । अस्पतालमा काजमा निर्देशकका रूपमा आएका डा. विश्वराम पौडेलको १६ असोजदेखि काज फिर्ता भएपछि उनको ठाउँमा नयाँ प्रमुख पठाइएको छैन ।

निर्देशक नहुँदा खाता सञ्चालनमा समस्या आएपछि कर्मचारीले तलबसमेत पाउन सकेका थिएनन् । मंगलबारदेखि निमित्तप्रमुखलाई अख्तियारी दिएर कर्मचारीलाई तलब खुवाउने प्रक्रिया अघि बढेको छ । पौडेल हुँदा स्तनक्यान्सरका बिरामीले सेवा पाइरहेकोमा अहिले सो सेवा पनि ठप्प भएको श्रेष्ठले बताए । उनका अनुसार ३० भन्दा बढी विशेषज्ञ डाक्टर आवश्यक भएकोमा हाल क्यान्सरका एकजना विशेषज्ञ डाक्टर, २ जना प्याथोलोजिस्ट र २ जना एमबिबिएस डाक्टर मात्रै उपलब्ध छन् ।

अस्पतालमा तत्काल थप प्याथोलोजिस्ट, अंकोलोजिस्ट, सर्जनलगायत विशेषज्ञ चिकित्सक उपलब्ध गराइए मात्र थप सेवा दिन सकिने श्रेष्ठको भनाइ छ । ७८ जना कर्मचारीको अस्थायी दरबन्दी माग गरी पठाइए पनि हालसम्म कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले चितवन र काठमाडौंबाट आएका बिरामीलाई मात्रै फलोअप सेवा दिने गरेको श्रेष्ठले बताए । क्यान्सरको शंका लागी आएका बिरामीको सामान्य जाँच गरी चितवन तथा काठमाडौं रेफर गर्ने गरिएको छ ।

अस्पतालले गत आर्थिक वर्षमा मात्रै ४ हजार ५ सयभन्दा बढी बिरामीलाई सेवा दिएको थियो । हाल दैनिक २० देखि ५० जना बिरामी अस्पतालसम्म पुग्ने गरेका छन् । १ सय २५ जनाले नियमित केमोथेरापी सेवा लिइरहेका छन् । तीमध्ये सबैभन्दा धेरै बाँकेका ४५, बर्दियाका ३३, सुर्खेतका १३, दैलेखका ७, कैलालीका ४, जाजरकोटका ३, सल्यानका ५, अछाम, दाङ, डोटी र मुगुका २–२, कालिकोट, प्यठान, जुम्ला, रुकुमका १–१ जना छन् । अस्पताल सञ्चालनमा आएपछिको २ वर्षे अवधिमा ३ जना बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा धेरैजसो पाठेघरको क्यान्सरका बिरामी आउने गरेको अस्पतालको तथ्यांक छ ।

एक दशकअघि प्रखर परोपकार मिसनको अगुवाइमा महायज्ञ सञ्चालन गरी संकलित रकमबाट निर्माण सुरु भएको अस्पताल विभिन्न उतार–चढाव पार गर्दै हाल केन्द्र सरकारमातहत सञ्चालनमा छ । स्थानीयस्तरमा एनजियोमार्फत सञ्चालित सामुदायिक अस्पताललाई तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्न प्रक्रिया बढाइएको थियो । थापाले परोपकार मिसनसितको सहकार्यमा क्यान्सर अस्पतालका लागि आवश्यक यन्त्रउपकरण खरिद तथा पूर्वाधार विकासका लागि आवश्यक बजेट मन्त्रालयबाट उपलब्ध गराएका थिए । तर, निर्वाचनपछि बनेको नेकपा सरकारले विशिष्टीकृत अस्पताललाई स्थानीयस्तरमै छोडिदिएपछि प्रमुख प्रतिपक्षी दलले केन्द्र सरकारमातहत ल्याएर सुविधासम्पन्न बनाउनुपर्ने माग राख्दै गत वर्ष धेरै दिनसम्म संसद् अवरुद्ध गरेर थियो । विपक्षी दलको निरन्तरको विरोधपछि सरकारले खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताल र तनहुँस्थित गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्रलाई पनि केन्द्र सरकारमातहत ल्याउने निर्णय गरेको थियो ।

गत वर्ष ४ चैतमा मन्त्रिपरिषद् बैठकले अस्पतालको गठन आदेश २०७३ अनुसार विजयकुमार पाठकलाई अस्पताल विकास समितिको अध्यक्ष मनोनयन गरेको थियो । उक्त समतिमा प्रखर परोपकार मिसनका तर्फबाट तीनजना सदस्य छन् । तर, समितिको क्रियाशीलताप्रति मिसनका अभियन्ताहरू खुसी छैनन् । संघीय समाजवादी फोरम नेपाल बाँकेका युवा नेतासमेत रहेका पाठकले अस्पतालको व्यवस्थापनमा ध्यान नदिएको उनीहरूको गुनासो छ ।

प्रखर परोपकार मिसनका सचिव सतिस निरौला समितिको गतिविधिबारे आफू अनभिज्ञ रहेको बताउँछन् । ‘केन्द्र सरकारमातहत गइसकेपछि हाम्रो भूमिका गौण हुँदै गयो । तर, विकास समितिले पनि आफ्नो भूमिका निभाएन कि भन्ने महसुस भइरहेको छ,’ उनले भने । पाठक अध्यक्षमा मनोनीत भएपछि एकपटक मात्रै समितिको बैठक बसेको अस्पताल प्रशासनले जनाएको छ । अध्यक्ष पाठक भने आवश्यकताअनुसार मात्रै बैठक बसेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय