डडुवा गाउँपालिकामा शून्य ‘होम डेलिभरी’का लागि आमासमूह परिचालन, पशुलाई समेत निःशुल्क स्वास्थ्यसेवा

हेल्थपोस्ट नेपाल

बाँकेको डुडुवा गाउँपालिकामा स्वास्थ्यसेवालाई प्रभावकारी बनाउन आमासमूहलाई सक्रिय रूपमा परिचालन गरिने भएको छ । गाउँपालिकाअन्तर्गत संस्थागत सुत्केरीलाई प्रभावकारी बनाउन प्रोटोकलअनुसार नियमित गर्भवती जाँच गराउन प्रोत्साहन गर्ने, खोपसेवा, स्वास्थ्यशिक्षा, परिवारनियोजनजस्ता विभिन्न सेवालाई प्रभावकारी बनाउन आमासमूहलाई परिचालन गरिने भएको हो ।

गाउँपालिकामा ५९ वटा आमासमूह क्रियाशील छन् । गाउँपालिकाले २०७८ सम्म घरमा हुने डेलिभरीलाई शून्यमा झार्ने अभियानअन्तर्गत संस्थागत सुत्केरीमा विशेष जोड दिएको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार आयोजना गरेको प्रथम एकीकृत चौमासिक समीक्षा कार्यक्रममा अध्यक्ष चौधरीले गाउँपालिकामा स्वास्थ्यसेवालाई प्रभावकारी तथा सुदृढ बनाउनमा आमासमूहको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले गाउँपालिकाले थालेको स्वास्थ्यसेवा अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले खोप, संस्थागत सुत्केरी, परिवारनियोजन, पोषण, टिबी, स्वास्थ्य सरसफाइलगायतबारे व्यापक छलफल तथा समीक्षा गरी समस्या पहिचान गर्ने र तिनको समाधान गर्न समुदायस्तरमा तथ्यांक संकलन गरी त्यसका आधारमा कार्ययोजना निर्माण गर्ने बताए ।

गाउँपालिकामा चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा ४ सय महिलाले स्वास्थ्यसंस्थामा पुगी सुरक्षित प्रसूति गराएका छन् भने ४६ जनाले घरमै बच्चा जन्माएको तथ्यांक छ । समीक्षा कार्यक्रममा गाउँपालिका वाडा १ देखि ६ सम्मका विभिन्न स्वास्थ्यसंस्थाका इन्चार्जले आ—आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, कार्यपालिका सदस्य लीलावती यादव, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धिताललगायतले धारणा राखेका थिए ।

यसैबीच, नागरिकको स्वास्थ्यलाई गाउँपालिकाले प्राथमिकतामा राखेको जानकारी दिँदै डुडुवा गाउँपालिकाका नागरिकका लागि स्वास्थ्यसंस्थाबाट पाउने सम्पूर्ण सेवा–सुविधा निःशुल्क गरिएको अध्यक्ष चौधरीले जानकारी दिए । अहिले गाउँपालिकाले सेवाग्राहीबाट नामदर्ताबापत समेत पैसा नलिने गरेको चौधरीले जानकारी दिए । ‘स्थानीय निकायमा यस्तो सेवा उपलब्ध गराउने सम्भवतः हाम्रो गाउँपालिका पहिलो हो,’ उनले भने, ‘मानिसलाई मात्र नभएर पशुलाई समेत निःशुल्क स्वास्थ्यसेवा उपलब्ध गराइरहेका छौँ ।’ अहिले गाउँपालिकाका सबै नागरिकको स्वास्थ्यअवस्था थाहा पाउनका लागि स्वास्थ्य कार्डसमेत जारी गरेको अध्यक्ष चौधरीले बताए ।

स्वास्थ्यसेवामा कुनै कन्जुस्याइँ तथा लापरबाही हुन नदिन कर्मचारीलाई उत्प्रेरित गर्दै सेवा–सुविधामा कुनै कमजोरी भए कर्मचारीलाई सुविधा थप गर्न आफू तयार रहेको अध्यक्ष चौधरीको भनाइ छ ।

गाउँपालिका क्षेत्रभित्रका बासिन्दाको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले २ वटा वडामा बहुउपयोगी ल्याबसमेत सञ्चालनमा ल्याएको उनले बताए । गाउँपालिकाको वडा २ बेतहनी र वडा ५ मा रहेको स्वास्थ्यचौकीमा सञ्चालन भएको ल्याबमा सम्पूर्ण परीक्षण निःशुल्क हुने गरेको उनले जानकारी दिए । ल्याबमा गाउँपालिकाका सेवाग्राही तथा बिरामीको दिसा–पिसाब, रगत, खकार, सुगर, टाइफाइड, मलेरिया, ज्वरोलगायत परीक्षण परीक्षण भइरहेको अध्यक्ष चौधरीले बताए ।

यसैबीच, गाउँपालिका कार्यालयले पशुमा देखिने गरेको परजीवी रोग नियन्त्रणका लागि समेत अभियान सञ्चालन गरेको बताइएको छ । गाई, भैँसी, पाडापाडी, बाच्छाबाच्छीलगायत पशुमा हुने गरेका जुका, जुम्रा, उपियाँ, नाम्ले, माटेलगायत किरा नियन्त्रणका लागि सो अभियान सञ्चालन गरेको अध्यक्ष चौधरीको भनाइ छ । पशुचौपायालाई परजीवी किराहरूबाट जोगाई स्वस्थ राख्न उनीहरूको कार्ड बनाएर स्वास्थ्यकर्मीलाई घरदैलोमै पठाएर परजीवी नियन्त्रणक औषधि खुवाउने गरिएको छ ।



Leave a Reply

Your email address will not be published.