मन्त्री ढकालले औँल्याए स्वास्थ्यका ७ समस्या, ‘सुधार गर्न सुरो हुनुको विकल्प छैन’

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्यका समस्याहरू औँल्याएका छन् । सबैभन्दा बढी समस्या मन्त्रालयमै देखेका मन्त्री ढकाल आफू नेतृत्वमा आएसँगै करिब डेढ महिनादेखि समस्या पहिचानको क्रममा रहेको बताउँदै आएका छन् । यसैक्रममा उनले शुक्रबार नेपाल अर्बुद रोग निवारण संस्थाको २९औँ केन्द्रीय सभामा स्वास्थ्यका ७ प्रमुख समस्या औँल्याएका हुन् ।

स्वास्थ्यका समस्या तथा मन्त्रालयको सुधारका लागि अब सुरो हुनुको विकल्प नभएको मन्त्री ढकालको निष्कर्ष छ । मन्त्री ढकालले समायोजनदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीको असमान सेवा–सुविधासम्मलाई समस्याका रुपमा प्रस्तुत गरेका छन् । मन्त्री ढकालले औँल्याएका स्वास्थ्यका समस्यालाई यहाँ प्रस्तुत गरिएको छ ।

मन्त्री ढकालको नजरमा स्वास्थ्यका ७ समस्या
१. समायोजनका समस्या रहेका छन् । स्वास्थ्यका ६–७ हजार कर्मचारी अझै पनि मन्त्रालयवरिपरि नै हिँडिरहनुभएको छ । धेरै कर्मचारी भन्नुहुन्छ– मरेका मानिसको पनि समायोजन भएको छ । कर्मचारीको मृत्यु भएको डेढ वर्षसम्म उसको खातामा पैसा गइरहेको रहेछ । थितिविधिको कुरालाई अलि स्थापित गर्नेतर्फ जानु जरुरी छ ।

२. डाक्टर–नर्सका हिसाबले हेर्ने हो भने अस्पतालपिच्छे सेवा–सुविधा फरक देखिन्छ । सरकारी र निजीको बीचमा मात्र विविधता होइन, वीर अस्पतालमा काम गर्ने नर्स र कान्ति बाल अस्पतालमा काम गर्ने नर्सको सेवा–सुविधामा एकरूपता छैन । यस्तो स्थिति हुँदा सेवा–सुविधा अलि बढी भएको ठाउँमा जान पाए हुन्थ्यो भन्ने सधैँभरि कर्मचारीको मनमा रहिरहन्छ ।

३. राज्यले लगानी गरेर छात्रवृत्तिमा पढाएका डाक्टर कहाँ हुनुहुन्छ भनेर आयोग नै बनाएर खोज्नुपर्ने स्थितिमा हामी गुज्रिरहेका छौँ । राज्यले लगानी गर्छ, पढ्छ । फलानो ठाउँमा सेवा गर्न जानुपर्यो भन्दा भरसक गाउँमा टेक्ने होइन, फर्केर हेर्नसमेत नपाए हुन्थ्यो भने मनोविज्ञान छ ।

४. अस्पतालभित्र दुई कुरा एकदमै डरलाग्दा हुने गरेका छन्– एउटा औषधिसम्बन्धी खरिद–विक्रीको पक्ष र अर्को उपकरण खरिद–विक्रीको पक्ष । कानुन मन्त्रालयमा हुँदा हजार र लाखभन्दा माथिको हिसाब–किताब प्रायः सुन्नुपर्दैनथ्यो । तर, स्वास्थ्य मन्त्रालयमा आएपछि अर्ब र खर्बभन्दा तलको हिसाब नै हुँदैन । त्यसले गर्दा एकदमै ज्यान जोखिममा भएको ठानेर काम गर्नुपर्ने बाध्यता छ । यसबाट कसरी मुक्त हुने र जोगिने भन्ने चुनौतीको विषय बनेको छ ।

५. हामीमा थिति बिग्रिएको छ । सरकारले दिने त तलब हो, महिना मरेपछि पाइहालिन्छ । अतिरिक्त व्यक्ति र संस्थाहरूलाई रिझाइयो भने अतिरिक्त आय–आर्जन हुन्छ भन्नेजस्ता स–सना कुराले पनि हाम्रा लोभी मन बिरक्तिएर लागेका छन् । यसले थिति र प्रणालीलाई कमजोर बनाइरहेको छ ।

६. विदेशी मित्रहरूको एकजना प्रतिनिधि आएन भने पनि तपाईं–हामीले गरेको कार्यक्रमा के समस्या रहेछन्, कसरी जाने, कुन–कुन कोणबाट कुरा उठे, त्यो त्यहाँ रिपोर्टिङ हुन्छ । कसरी राम्रो गर्ने भन्ने योजना बन्छ । तर, हाम्रोमा कस्तो हुँदो रहेछ भने कार्यक्रममा जो भाग लिन गएको छ, त्यसबाहेक अरुलाई थाहा हुँदैन । ढुक्कले भाग लिन्छ, आनन्दले बस्छ । यसले पनि हामी कसरी जाने भन्ने कुरा अरुबाट सिक्नुपर्छ । विदेशीले गर्ने गरेका राम्रा कुरा हामीले सिक्न सकेनौँ ।

७. निजी अस्पातलले १० प्रतिशत निःशुल्क सेवा दिने भन्ने विषयमा छलफल गर्नु जरुरी छ । किनभने, अस्पताल खोल्नुअघि १० प्रतिशत बेडबारे जुन सेवा दिनुपर्छ भनिएको छ, त्यो अनिवार्य कुरा हो, इच्छाको कुरा होइन । त्यो अस्पताल सञ्चालकहरूको आफन्तको कुरा हो कि अधिकारको कुरा हो ? अरुको अधिकारको कुरा हो भने त्यसलाई कसरी नियममा लैजाने, त्यसको अनुगमनतर्फ लाग्नु जरुरी छ ।

One thought on “मन्त्री ढकालले औँल्याए स्वास्थ्यका ७ समस्या, ‘सुधार गर्न सुरो हुनुको विकल्प छैन’

  1. Samayojan ma sudhar garnu parne=seventh level pho ko kramchari lai anibarya rupma sahmati biprit local level ma samayojan gareko chh. Jabaki sangh r pradeshma pani pathaunu parne ho.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय