प्रत्येक पालिका एक अस्पतालको नीतिले कहिले समेटिएला पाल्पाको निस्दी ?

कृष्ण मल्ल
प्रकाशित
२०७६ पुष १९ गते १६:०१

पाल्पाको निस्दी गाउँपालिकाको केन्द्रको स्वास्थ्य चौकी कमजोर पूर्वाधार र जनशक्तिका बीचमा संचालनमा छ । हालको मित्याल स्वास्थ्य चौकीको आफ्नै भवन छैन् । पूर्वाधारको नाममा छाप्रोमा सिमित छ । छाप्रोका तीन कोठाबाट स्वास्थ्य चौकीले बर्थिङ सेन्टरको सेवा बाहेकका काम गर्दै आएको छ । बर्थिङ सेन्टर भने भाडाको कोठामा संचालनमा छ । जिल्लाको दुर्गम क्षेत्रमा रहेको यो अवस्थाले जनतालाई स्वास्थ्य सेवा दिन स्वास्थ्य चौकीलाई कठिनाई भएको छ ।
पालिकाभित्र रहेका स्वास्थ्य चौकीबाट नपाउने स्वास्थ्य सेवाका लागि स्थानीयले रामपुर, तानसेन र नवलपुरसम्म पुग्नुपर्ने बाध्यता छ । हिउँदका समयमा त्यहासम्म प’ग्न सकेपनि बर्षाको समयमा उपचारका लागि सडक सञ्जालले साथ दिदैन् ।

स्वास्थ्य चौकीको भवन नभएपछि सेवा थप गर्न र सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य चौकीले प्रदेश सरकारसँग गुहार मागेको छ । भाडामा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर चलाउनु परेपछि पाल्पाको निस्दी गाउँपालिकाको मित्याल स्वास्थ्य चौकीले गुहार मागेको हो । स्वास्थ्य चौकीले बजारमा दुई वटा कोठा भाडामा लिएर २०७२ सालदेखि बर्थिङ सेन्टर संचालन गरेको स्वास्थ्य चौकीका इन्चार्ज पूर्ण साह बताउँछन् ।

बर्थिङ सेन्टरका लागि दुई कोठाको भाडा मासिक ५ हजार तिर्दै आएको छ भने स्वास्थ्य चौकीको ३ कोठा पनि सेवा दिनका लागि अप्रयाप्त छन् । स्वास्थ्य चौकी निर्माणका लागि ५ रोपनी जमिन किनिसकेको उनले बताए । स्थानीय रुपमा चन्दा उठाएर करिब ५ लाखमा उक्त जमिन किनेको उनको भनाई छ . उनले प्रदेश सरकारबाट सहयोग पाइन्छ कि भने भवनका लागि सहयोगको माग गर्दै प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालय, बुटवलमा कागजात पेश गर्न आएको बताए ।

गाउँपालिकाका प्रमुख मुक्त बहादुर साहले पालिकाभित्र रहेको ७ वटा स्वास्थ्य संस्थाबाट सेवा दिइरहेको बताए । एक पालिका एक अस्पताल र एक पालिका एक क्याम्पस नीति अनुसार अस्पताल र क्याम्पसका लागि दुई ठाउँमा जमीनको व्यवस्थापनको काम अघि बढेको उनको भनाई छ । पािलकाको केन्द्र नजिक रहेको स्वास्थ्य चौकीको भवन साघुँरो ठाउँमा रहेको हुँदा बर्थिङ सेन्टर भाडाको कोठामा चलिरहेको उनले बताए । भवन आवश्यक देखिएको छ प्रमुख साहले भने, त्यसका लागि स्रोतको खोजी गर्नुपर्ने अवस्था छ ।

गाउँपालिकाको सबै वडामा बर्थिङ सेन्टर संचालन गर्ने गरी अगाडी बढाएको उनले बताए । गाउँपालिकामा रहेको ७ वडा मध्ये बाकामलाङ, मित्याल, अर्चलेमा रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर संचालनमा रहेको छ भने सहलकोट, झिरुवास, गल्था र ज्यामीरे स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छैन् । पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाले गरेको शून्य डेलिभरीको अभ्यासलाई सिकाइको रुपमा लिइएको उनको भनाई छ ।

मित्याल स्वास्थ्य चौकीको आफ्नै भवन समेत छाप्रोमा सिमित छ । गौरीशंकर माध्यमिक विद्यालयको गेटमै रहेको उक्त छाप्रोका तीन कोठाबाट स्वास्थ्य चौकीले बर्थिङ सेन्टरको सेवा बाहेकका नियमित सेवा संचालन गर्दे आएको छ । पाल्पा जिल्लाको पूर्वी भेगमा रहेको निस्दी गाउँपालिका सावीकका वाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र ज्यामिरे गाविसहरु मिलेर बनेको गाउँपालिका हो ।

निस्दी र आरुणखोला जलाधार क्षेत्रको मध्य भागमा अवस्थित जुरे लेकदेखि बेभोकेसम्म आरुणखोला, गल्धा फाँट, मुढाबास फाँट, दमार फाँट, ढुंगानाबेसी फाँटदेखि बाकामलाङको डमारा फाँट टारसम्म फैलिएको छ । मगर, बाह्मण, क्षेत्री, नेवार, ठकुरी, दलित समुदायको बसोबास रहेको छ । पूर्वमा नवलपरासी जिल्ला, पश्चिममा पूर्वखोला र माथागढी गाउँपालिका उत्तरमा रामपुर नगरपालिका. र पूर्वखोला गाउँपालिका तथा दक्षिणमा नवलपरासी जिल्ला रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय