आइओएमले ल्यायो अनलाइन काउन्सिलिङ, शतप्रतिशत मेरिट प्रणाली कायम हुने, सफ्टवेयरले नै गरिदिन्छ कलेज छनोट

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले चिकित्साशिक्षाका विद्यार्थीका लागि अनलाइन काउन्सिलिङ प्रणाली सुरु गरेको छ । आइओएमको १४ पुसको बैठकले चिकित्साका विद्यार्थी भर्नामा यसै शैक्षिक वर्षबाट लागू हुने गरी अनलाइन काउन्सिलिङ प्रणाली सुरु गर्ने निर्णय गरेको हो । यससँगै यसअघि अभ्यासमा रहेको ओपनहाउस काउन्सिलिङ विस्थापित भएको छ । अनलाइन काउन्सिलिङ सुरु भएसँगै आइओएमको प्रवेश परीक्षामा भर्नाका लागि योग्य नतिजा निकालेर बसेका हजारौँ विद्यार्थीले ठूलो राहत महसुस गरेका छन् । अब विद्यार्थीले एकातिर शक्ति, श्रम र पैसाका हिसाबले बोझिलो र झन्झटिलो ओपनहाउस काउन्सिलिङबाट मुक्ति पाएका छन् भने अर्को महत्त्वपूर्ण पक्ष उनीहरूको आफूले हासिल गरेको योग्यताअनुसार रोजेको विषय र कलेजमा पढ्ने अवसर सुनिश्चित भएको छ । अनलाइन काउन्सिलिङले मेरिट प्रणालीलाई शतप्रतिशत कायम गर्ने विश्वास आइओएमको छ ।

के हो अनलाइन काउन्सिलिङ ? के फरक छ ओपनहाउसभन्दा ?
आइओएमअन्तर्गत सञ्चालित कलेजहरूमा एमबिबिएसलगायत चिकित्साशिक्षाका विभिन्न विषय अध्ययन गर्न चाहने विद्यार्थीले आइओएमले सञ्चालन गरेको प्रवेश परीक्षामा सामेल हुनुपर्छ । यसरी प्रवेश परीक्षा दिएर योग्यताक्रम कायम गरेका विद्यार्थीले आफूले पढ्न चाहेको विषय र कलेज छनोट गर्नुपर्छ । विद्यार्थीले प्राथमिकताका आधारमा माग गरेको संस्थामा पढ्न उसले प्रवेश परीक्षामा हासिल गरेको योग्यताक्रमले भ्याउने–नभ्याउने परीक्षण गरी आइओएमले विद्यार्थीलाई योग्यताक्रम र मागअनुसार शिक्षणसंस्थामा पढाउने गर्छ । यो प्रक्रियालाई आइओएमले काउन्सिलिङ नाम दिएको छ ।

यसअघि आइओएमले ओपनहाउस काउन्सिलिङ प्रणाली आपनाउँदै आएको थियो । यसमा प्रवेश परीक्षाबाट आवश्यक संख्याभित्र योग्यताक्रम हासिल गर्न सफल विद्यार्थीले आइओएमले तोकेको मिति र समयमा तोकिएको स्थानमा भौतिक रूपमै उपस्थित भई काउन्सिलिङ लिनुपर्ने हुन्थ्यो । यदि कुनै विद्यार्थी भावितव्य वा व्यवधानका कारण तोकिएको समयमा उपस्थित हुन नसकेमा ऊ योग्यताक्रममा अगाडि भएर पनि पढ्नबाट वञ्चित हुन्थ्यो । यसका अतिरित्त योग्यताक्रमका आधारमा कलेज निर्धारण भइसकेपछि विद्यार्थी त्यहाँ पढ्न नजाने अवस्थामा प्रक्रिया थप झन्झटिलो थियो । नयाँ प्रणालीअनुसार विद्यार्थीले यी यावत् झन्झटको सामना गर्नुपर्ने छैन ।
अनलाइन काउन्सिलिङमा विद्यार्थीको योग्यताक्रमअनुसारको शिक्षणसंस्था सफ्टवेयरले नै निर्धारण गरिदिन्छ ।

विद्यार्थीले हासिल गरेको योग्यताक्रमले उसले प्राथमिकता निर्धारण गरेर माग गरेका शिक्षणसंस्थामध्ये कुनमा अध्ययनका लागि अवसर पाउँछ, त्यसको निर्धारण सफ्टवेयरबाट हुन्छ । यसमा विद्यार्थीको माग र उसको योग्यताक्रमको समायोजनबाट कलेज निर्धारण हुने हुँदा मेरिट प्रणाली शतप्रतिशत स्थापित हुन्छ । सफ्टवेयरले कलेज तोकिदिएपछि विद्यार्थीले अनलाइनमार्फत नै त्यसमा भर्ना गर्नुपर्छ । भर्ना गरिसकेपछि यदि आफूले अघिल्ला प्राथमिकतामा राखेका कलेजमा अवसर पाएका विद्यार्थीले छोडेर सिट खाली भएको खण्डमा आफू क्राइटेरियामा पर्दा ऊ स्वतः अपग्रेड हुन पाउँछ, जुन सफ्टवेयरले नै गरिदिन्छ । तर, यसका लागि उसले सुरुमा तोकिएको कलेजमा अनिवार्य भर्ना गरेको हुनुपर्छ ।

मेरिट प्रणाली शतप्रतिशत स्थापित हुने
अनलाइन काउन्सिलिङ लागू भएसँगै विद्यार्थी भर्नामा मेरिट प्रणाली शतप्रतिशत स्थापित हुने आइओएमको दाबी छ । यो प्रणालीमा विद्यार्थीले आफूले परीक्षा दिएको विषयमा मेरिटका आधारमा आफूले मागेको शिक्षणसंस्थामा अध्ययन गर्न पाउँछ । यसमा मात्र विद्यार्थीको योग्यताक्रम र मागको समन्वयले कलेज निर्धारण हुने हुँदा रत्तभर पनि चलखेल र अन्य तत्त्वको प्रभाव रहँदैन । यसअघि ओपनहाउस काउन्सिलिङमा प्राकृतिक प्रकोप, स्वास्थ्यमा समस्या, दुर्घटना, सडक जाम वा उडानमा अवरोधलगायत भावितव्यका कारण तोकिएको समयमा काउन्सिलिङमा नपुगेर अध्ययनबाटै वञ्चित हुनुपर्ने अवस्थाबाट समेत यसले मुक्ति दिएको छ ।

यस प्रणालीमा विशुद्ध उम्मेदवारको प्राथमिकीकरण गरेर माग गरेको शिक्षणसंस्था र उसले हासिल गरेको योग्यताक्रमका आधारमा सफ्टवेयरले अत्यन्त वैज्ञानिक र पारदर्शी पद्धतिबाट कलेज निर्धारण गरिदिने हुँदा मेरिट प्रणालीको पूर्णतः कार्यान्वयन हुन्छ । आफ्नो योग्यताअनुसार निष्पक्ष रूपमा अवसर आउने भएपछि विवादको सम्भावना पनि रहँदैन ।

कसरी सामेल हुने अनलाइन काउन्सिलिङमा ?
अनलाइन काउन्सिलिङका लागि आइओएमले मेरिटका विद्यार्थीलाई एउटा ‘कोड’ पठाउँछ । विद्यार्थीबाट प्रवेश परीक्षाकै वेला अनलाइन आवेदन लिएकाले सबै उम्मेदवारको डिटेल आइओएमसित पहिले नै छ ।  आइओएमले पठाएको कोडको प्रयोग गरी लगइन गरेर विद्यार्थी तोकिएको अनलाइन फर्म भर्नुपर्छ । विद्यार्थीले तोकिएको शुल्क बुझाएको बैंक भौचर नम्बर, आफ्नो र्यांकलगायत तोकिएका तथ्यहरू इन्ट्री गरेपछि अनलाइन काउन्सिलिङको पेज खुल्छ । त्यसमा उसले आफूले पढ्न चाहेका शिक्षणसंस्थाहरूलाई प्राथमिकताक्रमअनुसार सेट गर्नुपर्छ ।

‘स्वचिङ इन्टरेस्ट अन’ गर्नुपर्छ
यसमा महत्त्वपूर्ण पक्ष विद्यार्थीले ‘स्वचिङ इन्टरेस्ट अन’ गर्नुपर्छ । यसको अर्थ यदि अफ्नो योग्यताक्रमले प्राथमिकतामा अगाडि राखेको कलेजमा सुरुमा भर्ना नपाएको पछि कुनै कारणले खाली हुँदा त्यसमा जानका लागि बाटो खोलिएको हो । स्विचिङ इन्टरेस्ट अन गरेपछि विद्यार्थीले माथिल्लो प्राथमिकतामा राखेको कलेजमा सिट खाली भएमा उसको योग्यताक्रमले भेटेमा र उसले सुरुमा पठाइएको कलेजमा भर्ना गरिसकेको अवस्थामा सफ्टवेयरले नै उसलाई स्वतः ‘अपवार्ड’ गरिदिन्छ । यसको अर्थ अघिल्लो प्राथमिकतामा राखेको कलेजमा खाली हुँदा स्थानान्तरण हुनका लागि उम्मेदवारले स्विचिङ इन्टरेस्ट अन गर्नुपर्ने हुन्छ । तर, यो सुविधाका लागि उम्मेदवारले सुरुमा तोकिएको कलेजमा भर्ना गरेकै हुनु अनिवार्य छ । यो स्विचिङ सिस्टम सधैँ अपवार्ड मात्र हुन्छ, डाउनवार्ड हुँदैन, अर्थात् विद्यार्थीले भर्ना गरिसकेपछि पछिल्लो प्राथमिकतामा राखेका शिक्षणसंस्थामा झर्नुपर्ने सम्भावना भने हुँदैन ।

विद्यार्थीले प्राथमिकता निर्धारण गरेर फर्म सब्मिट गरिसकेपछि उल्लेखित प्रक्रियाअनुसार तोकिएको समयमा सफ्टवेयरले विद्यार्थीको कलेज निर्धारण गरेर जानकारी पठाउँछ । तोकिएको कलेजमा विद्यार्थीले अनलाइन भर्ना गर्नुपर्छ ।

त्रिभुवन विश्वविद्यालय आइओएमअन्तर्गत चिकित्साशिक्षा अध्यापन गराउने शिक्षणसंस्था १५ वटा छन् । त्यसमध्ये ८ वटा मेडिकल कलेज छन् जहाँ एमबिबिएस पढाइ हुन्न । महाराजगन्जसहित काठमाडौंमा ३ र मोफसलमा ५ मेडिकल कलेल आइओएमअन्तर्गत सञ्चालनमा छन् । अनलाइन काउन्सिलिङ प्रणाली लागू भएसँगै एमबिबिएसका लागि प्रवेश परीक्षामा योग्यताक्रम हासिल गरेर बसेका करिब ४ हजार ५ सय विद्यार्थी लाभान्वित हुने भएका छन् । यसका अतिरिक्त पनि बिडिएस, नर्सिङलगायतका हजारौँ विद्यार्थीलाई ओपनहाउस काउन्सिलिङको बोझिलो प्रक्रियाबाट मुक्ति मिलेको छ ।

3 thoughts on “आइओएमले ल्यायो अनलाइन काउन्सिलिङ, शतप्रतिशत मेरिट प्रणाली कायम हुने, सफ्टवेयरले नै गरिदिन्छ कलेज छनोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय