फिजीका नवजात २०२० को जेठो मानव, ०१९ को कान्छोमा अमेरिकी, नेपालमा बुधबार १५६७ शिशु जन्मिँदै

दक्षिणी प्रशान्त क्षेत्र ओसिनियामा अवस्थित फिजीमा बुधबार जन्म लिएका शिशु सन् २०२० को विश्वकै जेठो बनेका छन् । अंग्रेजी नयाँ वर्ष सुरु भएको बिहानै सबैलाई उछिन्दै उनले धर्तीको स्पर्श गरे । सुदूर पूर्वमा जन्मिनुको लाभ उनले वर्षकै जोठो मानवका रूपमा उठाए ।  सुदूर पश्चिमको संयुक्त राज्य अमेरिकामा मंगलबार जन्मिएका शिशु भने २०१९ को सबैभन्दा कान्छा बने । उनी झन्डै एक दिन ढिलो मात्र नयाँ वर्षले छुने पश्चिममा जन्मिएका उनी गत वर्षमा जन्मिनेमध्ये सबैभन्दा पछिल्लो मानव बनेका छन् ।

विश्वमा सबैभन्दा बढी अनुसरण गरिने अंग्रेजी क्यालेन्डर अनुसार बुधबार नयाँ वर्षको सुरुवात अर्थात् जनवरी १ हो । नयाँ वर्षको दिन विश्वभर ३ लाख ९२ हजार ७८ शिशुले जन्म लिने अनुमान युनिसेफको छ । त्यसमध्ये नेपालमा यस दिन १ हजार ५ सय ६७ शिशुले जन्म लिनेछन्, जुन विश्वको कुल जन्मको ०.४ प्रतिशत हो । यस दिन सबैभन्दा बढी शिशु भारतमा जन्मिने युनिसेफको अनुमान छ । छिमेकी देश भारतमा बुधबार ६७ हजार ३ सय ८५ शिशुले जन्म लिने अनुमान युनिसेफको छ । यस दिन संसारमा जन्मिने कुल शिशुको आधा ८ देशमै जन्मिने युनिसेफले जनाएको छ । प्रतिदिन धेरै शिशु जन्मिने देशमा भारतपछि चीन, नाइजेरिया, पाकिस्तान इन्डोनेसिया, युएसए, कंगो र इथियोपिया छन् । यस दिन चीनमा करिब ४६ हजार र इथियोपियामा साढे ८ हजार शिशुले जन्म लिने अनुमान छ । यी ८ देशले विश्वको कुल नयाँ जन्ममा करिब ५० प्रतिशत योगदान दिन्छन् ।

बालबालिकाको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्था युनिसेफले प्रत्येक जनवरी १ (नयाँवर्ष) मा जन्मिने शिशुका लागि उत्सव मनाउँछ । यसरी हेर्दा १ जनवरी नवजात शिशुका लागि विशेष दिन हो । यद्यपि, सबै नवजात शिशुका लागि आफ्नो जन्म सुखद बन्न सक्दैन । किनकि, आज पनि नवजात शिशुमृत्युदर, बालमृत्युदर तथा मृतजन्म विश्व स्वास्थ्यका लागि प्रमुख चुनौतीका रूपमा छ ।

२०१८ मा २५ लाख नवजात शिशुले जन्मेको महिनादिन नपुग्दै मृत्युवरण गरेका छन् । त्यसको करिब एकतिहाइ अर्थात् करिब ८ लाख शिशुले जन्मेकै दिन संसार छोडेका छन् । यो जीवित जन्मको मात्र तथ्यांक हो । शिशुमृत्युमा विशेषगरी समय नपुगी जन्म, डेलिभरीका क्रममा जटिलता, सेप्सिसलगायतको संक्रमण प्रमुख कारण रहेको पाइएको छ ।

अर्को दुःखद पक्ष प्रतिवर्ष करिब २५ लाख शिशु मृत जन्मिन्छन् । पछिल्ला ३ दशकमा बाल मृत्युदर घटाउनमा महत्त्वपूर्ण उपलब्धि हासिल भए पनि नवजात शिशुको हकमा भने आशातीत प्रगति हासिल गर्न सकिएको छैन । पछिल्लो समय ५ वर्षभित्र हुने मृत्युदरमा आधा कमी आएको अवस्था छ । तर, नवजात शिशुमृत्युदरमा भने यो सफलता हासिल हुन सकेको छैन । सन् २०१८ मा जन्मेको एक महिनाभित्र मृत्युवरण गर्ने शिशुको संख्या ५ वर्षभित्र मृत्युको कुल संख्याको ४७ प्रतिशत थियो, जुन २८ वर्षअघिको भन्दा ७ प्रतिशतले बढी हो । सन् १९९० मा यो संख्या जम्मा ४० प्रतिशत थियो । बालमृत्यु न्यूनीकरणमा प्रगति भइरहँदा नवजात शिशुमृत्यु घटाउनमा भइरहेको सुस्त प्रगतिका कारण यो प्रतिशत बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय