धमाधम नियुक्ति गर्दै स्वास्थ्य मन्त्रालय, विवादमुक्त बन्न सकेन निर्णय

लामो समयदेखि रिक्त स्वास्थ्यअन्तर्गतका विभिन्न काउन्सिल र निकायमा मन्त्रालयले एकपछि अर्को नियुक्ति गर्दै आएको छ । करिब एक हप्ताको बीचमा मन्त्रीस्तरीय निर्णयबाट ४ पदाधिकारीसहित विभिन्न नियुक्ति भए । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र मानिने मन्त्री भानुभक्त ढकाललाई राम्रो काम गर्नका लागि कतैबाट असहयोगको गुन्जायस नभएको अवस्थामा नियुक्तिमा प्रश्न उब्जिनु पनि संशयपूर्ण बनेको छ । यसअघि तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चिकित्सा, नर्सिङ, फार्मेसीलगायतका काउन्सिल र प्रतिष्ठानमा नियुक्तिका लागि गरेका सिफारिससमेत प्रधानमन्त्रीले अड्काएका थिए, जुन यादवको सरकारबाट बाहिरिने अनेक कारणमध्ये एक थियो ।
ढकालले मन्त्रालयबाट यादवले गरेका सिफारिस फिर्ता लिने र नयाँ सिफारिस गर्ने निर्णय लिइसकेका छन् । यसबीचमा ढकालले पटक–पटक राजनीतिक अस्थाका आधारमा पक्षपात नगर्ने र विधि र प्रक्रियालाई नभत्काउने प्रतिबद्धता दोहोर्याइरहँदा उनका प्रत्येक निर्णयलाई सोही प्रतिबद्धताको कसीमा जाँच्नुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

काउन्सिलमा अखिल कार्यकर्ताको नियुक्ति
ढकालको सिफारिसमा मन्त्रिपरिषद्को ७ पुसको बैठकले दुई महिनादेखि रिक्त नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार पदमा डा. कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । तत्कालीन मन्त्री खगराज अधिकारीको सिफारिसमा सदस्य भइसकेका अधिकारी स्वयम् मन्त्री ढकाल र वर्तमान अध्यक्ष डा. भगवान् कोइरालाको समेत अरुचिका बाबजुद रजिस्ट्रार बनेको नेकपानिकट चिकित्सकहरू बताउँछन् ।

अध्यक्ष डा. कोइराला डा. सुप्रभात श्रेष्ठलाई रजिस्ट्रार बनाउन चाहान्थे । तर, अधिकारीलाई पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीको दबाबमा रजिस्ट्रार बनाइएको स्रोतको भनाइ छ । काउन्सिलका सदस्यहरूको नियुक्तिका सन्दर्भमा प्रधानमन्त्रीकी फिजिसियन डा. दिव्यासिंह शाहको समेत प्रभावले काम गरेको बुझाइ नेकपानिकट चिकित्सकको छ ।

सोही बैठकले करिब १ वर्षदेखि रिक्त काउन्सिलको ५ सदस्यमा गरेको नियुक्तिको निर्णय पनि विवादरहित हुन सकेन । डा. हरिहर वस्ती, डा. सुप्रभात श्रेष्ठ, डा. प्रेनितकुमार पोखरेल, डा. सन्ध्या चापागाईं र किशोरविक्रम मल्ललाई नियुक्त गरेको थियो । यीमध्ये उपभोक्ताको कोटामा तत्कालीन एमालेनिकट अखिलका पूर्वअध्यक्ष मल्ललाई ल्याएपछि काउन्सिलजस्तो उपभोक्ता हितमा काम गर्नुपर्ने संस्थामा कार्यकर्ता भर्तीको अपजस मन्त्री ढकालले बोक्नुपरेको छ ।

गंगालालमा पनि राजनीतिक आस्था नै आधार
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको कार्यकारी निर्देशकमा स्वास्थ्यमन्त्री ढकालको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले ७ पुस (सोमबार) डा. चन्द्रमणि अधिकारीलाई नियुक्त गरेको छ । यसअघि अस्पतालका निमित्तनिर्देशकका रूपमा डा. युवराज लिम्बूलाई पूर्वस्वास्थ्यमन्त्री यादवले गत साउनमा जिम्मेवारी दिएका थिए ।
लिम्बूको नियुक्ति तत्कालीन मन्त्रीका सल्लाहकार डा. केके राईको दबाब र प्रभावमा भएको थियो । निर्णय तथा क्लिनिकल क्षमतामै प्रश्न उठेका लिम्बूको नियुक्ति गंगालालभित्र धेरै वरिष्ठ चिकित्सकका लागि असन्तुष्टि र चित्तदुखाइको विषय थियो ।  तर, मन्त्री ढकालले तुलनात्मक रूपमा लिम्बूभन्दा वरिष्ठ चिकित्सकबाट रुचाए पनि अधिकारीलाई ल्याउँदा पार्टीनिकटता हेरेको र वरिष्ठतालाई पन्छाएको आरोप वरिष्ठ चिकित्सकहरूको छ । अधिकारीको नियुक्तिमा राष्ट्रपतिको प्रभाव रहेको गंगालालका चिकित्सक बताउँछन् । कुनै वेला नमुना सरकारी अस्पतालको उपमा पाएको गंगालाल बिस्तारै अधोगति र राजनीतिक खिचातानीमा फस्न थालेको छ ।

राजनीतिक सन्तुलन मिलाउन गरियो प्रतिष्ठानको निर्देशकमा नियुक्ति
मन्त्री ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णयबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) मा डा. निरेश थापालाई नियुक्त गरेका छन् । यसअघि प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले रेक्टरका लागि डा. थापासहित डा. भरतमणि पोखरेल र डा. बद्री बडूको नाम सिफारिस गरेका थिए । वरिष्ठताका आधारमा अन्य डाक्टर पर्ने भए पनि मन्त्री ढकालले सिफारिसमा डा. थापालाई छाने । त्यसैगरी, प्रतिष्ठानको अस्पताल निर्देशनमा डा. मंगल रावल नियुक्त भएका छन् । मल्ल प्रदेशमन्त्रीका भाइसमेत हुन् । पदाधिकारीमा राजनीतिक सन्तुलन मिलाउन मल्ललाई नियुक्त गरेको बताइएको छ । यद्यपि, रावललाई प्रतिष्ठानकै कोटामा विशेषज्ञ पढेर सोही ठाउँलाई कर्मथलो बनाइरहेको सन्दर्भमा रिवार्ड गरिएको बुझाइ कतिपय चिकित्सकको छ ।

अदालतले सरुवा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएर पनि फर्कन सकेनन् औषधि व्यवस्था विभागका महानिर्देशक ढकाल
स्वास्थ्य मन्त्रालयमा पदाधिकारी नियुक्ति प्रक्रिया प्रमुख रूपमा उठेको छ । औषधि व्यवस्था विभागमा ११औँ तहमा कार्यरत फार्मेसी सेवाका कर्मचारी विभागको महानिर्देशक नियुक्तिका लागि योग्य हुुने कानुनी व्यवस्था छ । तर, करिब ६ महिनादेखि फार्मेसी सेवाका ११औँ तहलाई पन्छाएर १०औँ तहका पानबहादुर क्षेत्रीलाई निमित्त दिइएको छ । अघिल्लो मन्त्रीले गरेको सो निर्णय सच्याउन ढकालले कुनै तदारुकता देखाएका छैनन्् । त्यसैगरी, मन्त्रालयअन्तर्गतका अन्य थुप्रै निकायमा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई अगाडि बढाइएको सन्दर्भमा समेत मन्त्रीको निर्णयले उनको ‘विधिसम्मत’ रटानको परीक्षा हुने मन्त्रालयका अधिककारीहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय