देवघाट–५ देशको पहिलो ‘सुरक्षित खानेपानीयुक्त वडा’ घोषित, यस्ता छन् सूचक

पर्यटकीय नगरी देवघाट गाउँपालिका–५ नेपालको पहिलो सुरक्षित खानेपानीयुक्त वडा घोषित भएको छ । आइतबार देवघाटको हाटबजारस्थलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले देवघाट–५ लाई नेपालको पहिलो सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरे । खानेपानी स्वच्छतासम्बन्धी १० वटा सूचक पूरा गरेपछि सो वडालाई नेपालकै पहिलो सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो ।

सबै सूचक पूरा भएकाले घोषणा, के–के छन् सूचक ?
सुरक्षित खानेपानीयुक्त वडा घोषणाका लागि सबै घरधुरी खुला दिसामुक्त घोषणा हुनुपर्छ । त्यस्तै, एक घर एक धारा कार्यान्वयन हुनुपर्छ । प्रत्येक घरमा खानेपानीको मिटर जडान हुनुपर्छ र महसुल संकलन हुनुपर्छ । सरसफाइ तथा स्वच्छता कायम हुनुपर्छ । खानेपानीको मर्मत–सम्भार कोष स्थापना हुनुका साथै समुदायमा खानेपानीको मर्मत–सम्भारकर्ताको व्यवस्था हुनुपर्छ । यसका साथै खानेपानी सुरक्षा योजना बनाइएको हुनुपर्छ । देवघाट–५ मा उल्लेखित सबै सूचक पूरा गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।

त्यस्तै, वडाको खानेपानीमा कोलिफर्म र आर्सेनिक नभएको, समुदायलाई खानेपानी गुणस्तरसम्बन्धी तालिम दिइएको तथा गाउँपालिकामा खानेपानी गुणस्तर अनुगमनका लागि कार्यविधि निर्माण भएपछि सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

परीक्षणमा पानी सीधै पिउनयोग्य प्रमाणित
वडामा देवघाट गाउँपालिकाको समन्वयमा युनिसेफ नेपालको आर्थिक सहयोग तथा उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र गोरखाको सहजीकरणमा स्वच्छ खानेपानीको कार्यक्रम सञ्चालन गरिएको थियो । वडा ५ का देवघाट, माझटोल, देउती छहरे, तारिकाखोला बोटेटोल, क्युदी दोभान, डुम्रेल देउपुर, साउने, राजापानी क र ख खानेपानी तथा सरसफाइ उपभोक्ता योजनाअन्तर्गत वितरित खानेपानी विभिन्न प्रविधि र पटक–पटकको परीक्षणपछि सीधै पिउनयोग्य र स्वच्छ भएका कारण सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको वडा ५ का अध्यक्ष यालबहादुर गुरुङले बताए ।

नागरिकलाई संवैधानिक अधिकार दिलाउने प्रयास
नेपालको संविधानको धारा ३५, उपधारा ४ मा ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ’ उल्लेख छ । नागरिकलाई सोही संवैधानिक अधिकार (मौलिक हक) को ग्यारेन्टी गराई सरकरको प्रतिबद्धता पूरा गर्न प्रत्येक वडामा सुरक्षित खानेपानी कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले बताएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले सुरक्षित खानेपानीको सुविधा पुर्याउनु चुनौतीपूर्ण कार्य भएको बताउँदै देवघाट गाउँपालिकाको प्रशंसा गरे । वडा ५ मा १० वटा खानेपानी उपभोक्ता समितिमार्फत सबै वडावासीको घरमा खानेपानीको पाइप पुर्याइएको छ । वडा ५ का १ हजार ४ सय ५६ घरधुरीका ८ हजार ८ सय १५ जनाले सुरक्षित पानी पिउन पाएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा खानेपानी उपभोक्ता समितिहरूले अझै सुधारको आवश्यकता रहेको तर्फ गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए । उनीहरूले खानेपानीको मुहानवरिपरि संरक्षण, पाइपलाइन फुटेर पानी दूषित हुने जोखिम, रिजर्भ ट्यांकीवरिपरि सरसफाइ, धाराको थप सफाइलगायत आवश्यकता औँल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय