लक्ष्मणपुर स्वास्थ्यकेन्द्रको विस्तारमा गाउँपालिकाको अग्रसरता, युनेस्को बाँकेको साथ

एक दशकदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्यकेन्द्रलाई नयाँ भवनमा सञ्चालनका लागि गाउँपालिकाले तदारुकता देखाएको छ । अत्याधुनिक सेवा सञ्चालन गर्न मिल्ने गरी ०६८ सालदेखि बाँकेको नरैनापुर–२ मा अवस्थित लक्ष्मणपुरमा प्राथमिक स्वास्थ्यकेन्द्रको निर्माण भइरहेको छ । कर्मचारी र आवश्यक उपकरण अभावमा प्रभावकारी सेवा दिन नसक्दा स्थानीय सेवाग्राही भारतीय अस्पताल धाउन बाध्य छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण अभावको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाको अनुरोधमा जिल्लास्थित एक गैरसरकारी सँस्थाले १४ लाखभन्दा बढीको स्वास्थ्य उपकरण प्रदान गरेको छ । कतार च्यारिटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले १४ लाख ६३ हजार ८ सय ९८ रूपयाँबराबरको स्वास्थ्य सामग्री गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

लक्ष्मणपुर स्वास्थ्यकेन्द्रमा बुधबार औपचारिक कार्यक्रममार्फत बाँके युनेस्को क्लबले अल्ट्रसाउन्ड मेसिन १ थान, फुल फोल्डिङ जनरल बेड ८ थान, डेलिभरी बेड २ थान, म्याट्रेस १० वटा, बिरामी बोक्ने ट्रली ५ वटा र ह्विलचेयर ५ वटा गाउँपालिकाप्रमुख इस्तियाक अहमद साहलाई हस्तान्तरण गरेको छ ।

प्राथमिक स्वास्थ्यकेन्द्रमा एकजना एमबिबिएस डाक्टरसहित १३ जनाको दरबन्दी भए पनि डाक्टरको उपस्थिति भने कमै मात्र हुने गरेको छ । विभिन्न कारण देखाउँदै डाक्टरले बस्न नमानेका कारण स्वास्थ्यकेन्द्र चिकित्सकविहीन बन्दै आएको छ ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तव, नरैनापुर गाउँपालिकाका अध्यक्ष साह, स्वास्थ्यकेन्द्रका निमित्तप्रमुख नवीन बुढाथोकी गाउँपालिकाका निमित्त स्वास्थ्य संयोजक नगेन्द्र साहलगायतको उपस्थितिमा युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी र संरक्षक प्रवेज अली सिद्दिकी, कतार च्यारिटीका कार्यक्रम अधिकृत इसाद शेषलगायतले सामग्री हस्तान्तरण गरेका थिए ।

बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले नरैनापुरका जनताको स्वास्थ्यसेवामा पहुँच विस्तारका लागि उपकरण उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत यस्तो सहयोगका लागि आफूले पहल गर्ने बताए । त्यस्तै, कतार च्यारिटी नेपालका कार्यक्रम अधिकृत इसाद सेखले आफ्नो संस्थाले बाँकेमा रहेर विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए । विशेषगरी ग्रामीण क्षेत्रमा बसोवास गर्ने नेपालीको स्वास्थ्यलाई मध्यनजर गर्दै भिडियो एक्स–रे मेसिनलगायत सामग्री सहयोग गरेको बताउँदै उनले आगामी दिनमा पनि यस्तो सहयोग जारी रहने प्रतिबद्धता जनाए ।

गाउँपालिकाका अध्यक्ष साहले नरैनापुरमा स्वाथ्यकर्मीको अभाव तथा स्वास्थ्य सुविधा नभएका कारण यहाँका जनता बिरामी पर्दा स्वास्थ्यलाभका लागि भारतीय बजार वा भारतीय झोले डाक्टरसँग भर पर्ने बाध्यता अब बिस्तारै हटेर जाने विश्वास व्यक्त गरे । सामग्री बुझ्दै गाउँपालिका अध्यक्ष साहले अझ थप सामग्री र जनशक्तिको आवश्यकता औँल्याए ।

स्वास्थ्यकेन्द्रका निमित्त प्रमुख नवीन बुढाथोकीले स्वास्थ्यकेन्द्र सञ्चालनका लागि उपलब्ध सामग्रीका कारण गुणस्तरीय स्वास्थ्यसेवा दिन आफूहरूलाई सहज हुने विश्वास व्यक्त गरे । उनले स्वास्थ्यकेन्द्र सञ्चालनका लागि दक्ष जनशक्तिको कमी भएकाले दरबन्दीअनुसारको जनशक्ति भएमा सामग्रीबाट प्रभावकारी रूपमा सेवाविस्तार गर्न सकिने बताए ।

प्राथमिक स्वास्थ्यकेन्द्रमा एकजना एमबिबिएस डाक्टरसहित १३ जनाको दरबन्दी भए पनि डाक्टरको उपस्थिति भने कमै मात्र हुने गरेको छ । विभिन्न कारण देखाउँदै डाक्टरले बस्न नमानेका कारण स्वास्थ्यकेन्द्र चिकित्सकविहीन बन्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय