छात्रवृत्तिबाहेकका सिटमा एमबिबिएस र बिडिएसको भर्ना प्रक्रिया अघि बढाऊ : चिकित्साशिक्षा आयोग

हेल्थपोस्ट
प्रकाशित
२०७६ पुष ११ गते १८:१८

राष्ट्रिय चिकित्साशिक्षा आयोगले चिकित्साशिक्षाको स्नातक तहका भर्नाप्रक्रिया अघि बढाउन विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ । आयोगले शुक्रबार एमबिबिएस, बिडिएसलगायत विषयको नयाँ भर्ना प्रक्रिया अघि बढाउन निर्देशन जारी गरेको हो । आयोगको निर्देशनमा ओपन हाउस काउन्सिलिङ गरेर नयाँ भर्ना प्रक्रिया बढाउन भनिएको छ ।

राष्ट्रिय चिकित्साशिक्षा ऐन २०७५ लागू भइसकेको र त्यसको प्रमुख कार्यान्वयक निकाय आयोगले समेत पूर्णता पाइसकेको अवस्थामा नयाँ भर्नामा ऐनका प्रावधानहरू कार्यान्वयन गरिनुपर्ने माग उठिरहेको छ । विश्वविद्यालय तथा प्रतिष्ठानहरूले ऐन जारी भइसक्दा पनि पुरानै व्यवस्थाअनुसार आवेदन माग गरेपछि नयाँ भर्ना विवादित बनेको थियो । मूलतः ऐनका ७५ प्रतिशत छात्रवृत्ति र शुल्क निर्धारणको विषय यसै शैक्षिक वर्षदेखि कार्यान्वयनमा ल्याइनुपर्ने माग चिकित्साशिक्षा अभियन्ता तथा विद्यार्थीले उठाउँदै आएका छन् ।
विवादसँगै कानुनी समस्या समेत थपिने भएपछि यस वर्षको एमबिबिएस, बिडिएस, नर्सिङलगायत चिकित्साका स्नातक तहको भर्नामा ढिलाइ भइसकेको छ । भर्नामा ढिलाइले शैक्षिक क्यालेन्डर नै प्रभावित हुने भएपछि छात्रवृत्तिबाहेकका सिटमा भर्ना प्रक्रिया अघि बढाउन निर्देशन जारी गरेको आयोगले जनाएको छ । नयाँ भर्नाका लागि विश्वविद्यालय तथा प्रतिष्ठानहरूले यसअघि नै प्रवेश परीक्षा लिइसकेका छन् । ७५ प्रतिशत छात्रवृत्ति छनोट जिम्मा भने आयोगलाई नभई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई छ ।

आयोगले यस वर्षका लागि ऐनले तोकेको सबै प्रावधानअनुसार शुल्क निर्धारण गर्न सम्भव नभएको भन्दै मुद्रस्फीतिलाई मात्र आधार मानेर गत वर्ष मन्त्रिपरिषद्ले निर्धारण गरेको शुल्कमा मुद्रास्फीति दरबराबरको रकम थप गरी यस वर्षका लागि शुल्क निर्धारण गरिसकेको छ । त्यसैगरी, सार्वजनिक मेडिकल कलेजहरूमा ७५ प्रतिशत सिट अनिवार्य रूपमा छात्रवृत्तिका लागि छुट्याउनुपर्ने ऐनको प्रावधान यसै वर्ष लागू गर्न निर्देशन भइसकेको छ । आयोगले छात्रवृत्ति छनोटको काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने भन्दै बाँकी २५ प्रतिशत सिटमा भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

आयोगले छात्रवृत्तिबाहेकका सिटको हकमा शिक्षा मन्त्रालयसँग समन्वय गरेर ओपन हाउस काउन्सिलिङको प्रक्रिया अघि बढाउन भनेको छ । मन्त्रालयसितको समन्वयमा छात्रवृत्तिबाहेकका सिटका लागि ओपन हाउस काउन्सिलिङको सूचना निकाल्न र प्रक्रिया अघि बढाउन निर्देशात्मक सूचना जारी गरेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय