पहिलोपटक धूमपान गर्ने पुरुषको संख्या घट्यो, कुल प्रयोगकर्ता ६ करोड घटे, २०२५ सम्म ४ करोड घट्ने अनुमान

विश्वमा पहिलोपटक धूमपान गर्ने पुरुषको संख्या घट्न थालेको छ । यो दाबी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसै साता जारी गरेको रिपोर्टमा गरिएको छ ।
रिपोर्टमा डब्लुएचओले भनेको छ– सुर्तीजन्य पदार्थको लतमाथि लगामको दिशामा यो ठूलो बदलाव हो । रिपोर्टमा अनुमान लगाइएको छ– २०२० को अन्तसम्म धूमपान गर्ने पुरुष २० लाख र २०२५ को अन्तसम्म ५० लाख घट्नेछन् । २०२० को अन्तसम्ममा सुर्तीजन्य पदार्थका कुल प्रयोगकर्ता करिब १ करोड घट्ने र २०२५ को अन्तसम्ममा थप २.७ करोड घट्ने अनुमान डब्लुएचओको छ ।

प्रतिवर्ष ८० लाखको मृत्यु
डब्लुएचओको रिपोर्टमा भनिएको छ– सुर्तीजन्य पदार्थ प्रयोग गर्ने महिला तथा युवतीको संख्यामा भने कयौँ वर्षदेखि लगातार गिरावट भइरहेको छ । तर, पहिलोपटक पुरुषमा पनि यो बदलाव देख्न पाइएको छ । गतवर्षसम्म यो संख्या निरन्तर बढि नै रहेको थियो । संयुक्त राष्ट्रसंघ (युएन) का स्वास्थ्य एजेन्सीहरूले धूमपान गर्ने पुरुषको संख्यामा गिरावट देखिनुलाई विश्वस्तरमा चलाइएको धूमपानविरोधी अभियानको सकारात्मक असरको संकेतका रूपमा मानेका छन् । साथै, एजेन्सीहरूले चेतावनी पनि दिएका छन् कि धूमपानविरोधी अभियानमा अझै धेरै काम गर्नु जरुरी छ, किनकि प्रतिवर्ष ८० लाख मृत्यु धूमपानका कारण हुन्छ ।

धूमपान गर्नेको संख्या अझै सवा अर्बभन्दा बढी
डब्लुएचओका प्रमुख टेड्रोस गेब्रेससले भन्छन्, ‘यो नतिजा सरकारहरूद्वारा उद्योगहरूमा गरिएको कडाइका कारण मिलेको हो ।’ पछिल्ला २ दशकमा सुर्तीजन्य पदार्थको प्रयोग घटिरहेको छ । सन् २००० मा १ अर्ब ३९.७ करोड मानिसले धूमपान गर्थे जुन २०१८ मा आइपुग्दा १ अर्ब ३३.७ करोड रहेका छन् । यस अवधिमा धूमपान गर्ने महिला तथा युवतीमा आश्चर्यजनक रूपमा कमी देखिएको छ । २००० मा धुमपान गर्ने महिला तथा युवतीको संख्या ३४.६ करोड थियो जुन २०१८ मा आइपुग्दा २४.४ करोडमा झरेको छ ।

रिपोर्टका अनुसार ६०% देशमा २०१० भन्दा पछि सुर्तीजन्य पदार्थको सेवनमा गिरावट देखिएको छ । ‘यो कमीका बाबजुद पनि हामी सन्तुष्ट छैनौँ,’ डब्लुएचओका प्रवक्ता रुडिगर क्रेच भन्छन्, ‘किनकि, अझै पनि अर्बभन्दा बढी मानिस धूमपान गरिरहेका छन्, जुन चिन्ताजनक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय