चरम अभावको मुखमा सर्पदंशको भ्याक्सिन, न्यून बजेट र भारतमाथिको निर्भरताले निम्तिँदै जोखिम

सर्पदंश (सर्पको टोकाइ)को उपचारमा निर्विकल्प रूपमा प्रयोग हुँदै आएको भ्याक्सिनको चरम अभाव हुने देखिएको छ । सर्पदंशपश्चात् समयमा भ्याक्सिन लगाउन नसकेको अवस्थामा मृत्यु टार्न सक्ने उपचारपद्धतिको विकास हालसम्म चिकित्साविज्ञानले गर्न सकेको छैन । यस्तो संवेदनशील र विकल्परहित भ्याक्सिनको अभाव भएमा आकस्मिक भवितव्यमा पर्ने जनावरको टोकाइका बिरामीको जीवनमाथि खेलबाड हुने निश्चित छ ।

सरकारले देशभरका तोकिएका स्वास्थ्यसंस्थाबाट सर्पदंशको भ्याक्सिन निःशुल्क उपलब्ध गराउँदै आएको छ । तर, बजेट अभावका कारण भ्याक्सिन अपुग हुन थालेको स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमिओलोजी तथा रोगनियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लाल बताउँछन् ।

जनशक्तिको चरम अभाव
सर्पदंश, रेबिजजस्ता घातक रोगका लागि केन्द्र सरकारमातहतमा छुट्टै शाखाको स्थापना गरिएको छ । ‘केन्द्रमातहतमा जम्मा ३ जनाको दरबन्दी छ,’ डा. लाल भन्छन्, ‘त्यसमा पनि हाल २ जना मात्रै कार्यरत छन् ।’ प्रदेश र स्थानीयस्तरमा यस कार्यक्रमका लागि हालसम्म कत्ति पनि जनशक्ति परिचालन हुन नसकेको महाशाखको भनाइ छ । सर्पदंशको उपचार केन्द्रको निगरानीमा सरकारी तथा निजीस्तरबाट चलेको छ । तर, सबै स्वास्थ्यसंस्थामार्फत सेवा तथा गुणस्तरको सुनिश्चितता एवम् आवश्यक उपकरण दिन नसकिएको डा. लाल बताउँछन् ।

संघीय अवधारणाअनुरूप नीतिगत रूपमै प्रत्येक प्राथमिक अस्पतालसम्म यो सेवा पुर्याउनुपर्ने बाध्यता छ । सर्पदंशविरुद्धको भ्याक्सिन सबै स्वास्थ्यसंस्थामा पुर्याउन हाल आयात हुँदै आएको परिमाणमा कैयौँ गुणा वृद्धि गर्नुपर्ने महाशाखाको भनाइ छ ।

२ करोड विनियोजन, ३० हजार भाइल आयात, तर माग कैयौँ गुणा बढी
आर्थिक वर्ष ०७६/७७ का सरकारले सर्पदंशको औषधि खरिदका लागि २ करोड विनियोजन गरेको छ । सर्पदंशको औषधि तथा भ्याक्सिन नेपालमा उत्पादन हुुँदैन । भारतमा पनि नेपालका जस्तै सर्पका प्रजाति पाइने हुँदा नेपाल सर्पदंशको औषधिमा भारतमा निर्भर छ । अन्य देशमा उत्पादित औषधि नेपालको सन्दर्भमा तुलनात्मक रूपमा कम प्रभावकारी हुने भएकाले नेपाल भारतमा निर्भर हुनुपरेको विज्ञहरूको भनाइ छ ।

महाशाखाले बजेटको अनुपातमा सर्पदंशको औषधि आयात गर्दै आएको छ । यस वर्ष ३० हजारको हाराहारीमा मात्र भाइल ल्याउन सिफारिस गरेको महाशाखाले जनाएको छ । तर, माग भने यसको कैयौँ गुणा हुने अनुमान महाशाखाको छ ।

मूल्य डेढगुणा बढ्यो तर बजेट पुरानै
गत आर्थिक वर्षको भन्दा यस वर्ष सर्पदंशको भ्याक्सिनको मूल्य यस वर्ष ५० प्रतिशतले बढेर आउने भएको छ । तर, बजेट भने साबिकै हिसाबले विनियोजन हुँदा समस्या आएको डा. लाल बताउँछन् । अघिल्लो वर्ष सरकारले करिब २ करोड रूपैयाँबराबरको सर्पदंशविरुद्धको भ्याक्सिन खरिद गरेको थियो । तर, अबको बजेटमा बढेको मूल्यको अनुपातमा सरकारले बजेट नबढाएका कारण भ्याक्सिन अभाव हुने देखिएको हो । यसअघि सरकारले सर्पदंशविरुद्धको एक भ्याक्सिन (भाइल) का लागि करिब ७ सय रूपैयाँ खर्चिंदै आएको छ ।

घोडामा विष दिएर बारम्बारको परीक्षणपश्चात् गरिन्छ उत्पादन, पशुअधिकारकर्मीको विरोधले उत्पादनमै समस्या
सर्पदंशको औषधि उत्पादन गर्दा घोडालाई सर्पको विष दिएर उसको शरीरमा प्रतिविष (एन्टिपोइजन) उत्पादन गरेर परिष्कृत गर्दै बनाइन्छ । तर, भारतमा हाल पशुअधिकारबारे आवाज बुलन्द हुँदै जाँदा सर्पदंशको औषधि उत्पादनमै समस्या आएको निर्देशक डा. लाल बताउँछन् । ‘भारतमा पशुअधिकारको विषयमा आवाज उठिरहेको छ । व्यापारीकरणका लागि पशुअधिकार हनन गरिएकोमा विरोध भइरहेको छ,’ डा. लाल भन्छन्, ‘तर, जीवन बचाउने औषधि भएका कारण सीमित मात्रामा उत्पादन गर्न भारत सरकारले अनुमति दिएको छ । नेपालले विशेष छुटअन्तर्गत थोरै मात्रामा औषधि पाइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय