२ महिनापछि पायो मेडिकल काउन्सिलले रजिस्ट्रार, सदस्य नियुक्त गर्न १ वर्ष लाग्यो

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. कृष्ण अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अधिकारीलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । डा. अधिकारीले यसअघि काउन्सिलको सदस्यका रूपमा काम गरिसकेका छन् । काउन्सिलमा गत कात्तिकदेखि रजिस्ट्रार पद रिक्त थियो ।

मन्त्रिपरिषद्ले काउन्सिलमा करिब १ वर्षदेखि रिक्त पाँच सदस्यसमेत नियुक्त गरेको छ । नवनियुक्त सदस्यमा डा. हरिहर अवस्थी, डा. सुप्रभात श्रेष्ठ, डा. प्रेनितकुमार पोखरेल, डा. सन्ध्या चापागाईं र किशोरविक्रम मल्ललाई नियुक्त गरेको स्रोतले जानकारी दिएको छ । डा. सुप्रभात श्रेष्ठ यसअघिको कार्यकालमा पनि काउन्सिलको सदस्य थिए । गत जेठमा प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि सकिएसँगै रिक्त अध्यक्ष पदमा करिब ५ महिना ढिलो गरी सरकारले प्रा.डा. भगवान कोइरालालाई नियुक्त गरेको थियो ।

सर्टिफिकेटमा साइन गर्नेलगायत महत्त्वपूर्ण काम काउन्सिलको रजिस्ट्रारलाई छ, जुन अन्य कसैलाई प्रत्यायोजन गर्ने नियम छैन । २ महिनादेखि रजिस्ट्रार पद रिक्त हुँदा नियमित कामहरू प्रभावित हुँदै आएका थिए ।

यस्तो काउन्सिलको गठनप्रक्रिया
काउन्सिलमा देहायका सदस्यहरू रहने व्यवस्था छ :
(क) दर्तावाला चिकित्सकका रूपमा कम्तीमा २० वर्षको अनुभव हासिल गरेको र चिकित्सासम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त चिकित्सकमध्ये नेपाल सरकारबाट मनोनीत – अध्यक्ष
(ख) दर्तावाला चिकित्सकहरूले कम्तीमा १५ वर्षको अनुभव हासिल गरेका दर्तावाला चिकित्सकमध्येबाट तोकिएबमोजिम निर्वाचन गरी पठाएको चिकित्सक एकजना – उपाध्यक्ष
(ग) अध्यक्ष, नेपाल चिकित्सक संघ – सदस्य
(घ) आधुनिक चिकित्साशास्त्रसम्बन्धी विषयमा अध्ययन हुने विश्वविद्यालय वा स्वास्थ्यविज्ञान प्रतिष्ठानका डिन वा शिक्षाध्यक्षमध्ये नेपाल सरकारबाट मनोनीत एकजना – सदस्य
(ङ) उपभोक्ताहरूमध्ये नेपाल सरकारबाट मनोनीत एकजना – सदस्य
(च) दर्तावाला चिकित्सकमध्ये तोकिएबमोजिम निर्वाचित चिकित्सक ८ जना – सदस्य
(छ) अध्यक्ष, नेपाल दन्तचिकित्सक संघ – सदस्य
(ज) दन्तचिकित्सकबाहेक चिकित्सासम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधिप्राप्त चिकित्सकमध्ये नेपाल सरकारबाट मनोनीत ३ जना – सदस्य
(झ) कम्तीमा स्नातकोत्तर उपाधिप्राप्त दन्तचिकित्सकमध्ये नेपाल सरकारबाट मनोनीत २ जना – सदस्य

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय