नेत्रावतीमा सञ्चालित दुईदिने स्वास्थ्यशिविरमा ३०० ले लिए निःशुल्क स्वास्थ्यसेवा

‘केएमसी पूर्वविद्यार्थी संघ’ र ‘नेपालका लागि सँगसँगै’ नामक संस्थाको संयुक्त आयोजनामा धादिङमा दुईदिने निःशुल्क स्वास्थ्यशिविर सम्पन्न भएको छ । नेत्रावती गाँउपालिकामा ४ र ५ पुसमा आयोजित निःशुल्क स्वास्थ्यशिविरमा शिक्षण अस्पताल महाराजगन्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, पाटन अस्पताल, किस्ट अस्पतालमा कार्यरत अनुभवी तथा दक्ष चिकित्सकद्वारा बिरामीको निःशुल्क परीक्षणसँगै औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

नेत्रावती–५ को महेन्द्र बाराही विद्यालयमा ४ पुस र वडा ४ को कुण्डलादेवी विद्यालयमा ५ पुसमा शिविर चलाइएको थियो । शिविरबाट करिब ४०० स्थानीयले प्रत्यक्ष लाभ लिएको आयोजक संस्थाका अध्यक्ष डा. अच्युतशाली घिमिरेले जानकारी दिए ।

आयोजकले यसअघि पनि कोसीटप्पु, सुनसरी, मुगु, सिरहा तथा अन्य विकट जिल्लाहरूमा निःशुल्क स्वास्थ्यशिविर गर्दै अशक्त, बालबालिका, वृद्धवृद्धा, विपन्न तथा पहुँच कम भएकाहरूलाई स्वास्यसेवा पुर्याउँदै आएको डा. घिमिरेले बताए । ‘यसपटक धादिङ जिल्लामा कार्यक्रम लिएर आउन पाउँदा निकै खुसी लागेको छ,’ डा. घिमिरेले भने, ‘यस्ता निःशुल्क शिविरको आयोजनाले गरिब जनताको स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सक्छ ।’

शिविरमा बालरोग र नसा तथा हाडजोर्नीसम्बन्धी रोगका करिब सय–सयको हाराहारीमा बिरामीले सेवा लिएको चिकित्सक टोलीका संयोजक डा. पुरुषोत्तम अधिकारीले जानकारी दिए । त्यस्त, महिला तथा स्त्रीरोग र अन्य जनरल रोगका गरी करिब सयजनाले शिविरमा उपचार गराएको उनले बताए ।

जिल्लाका विभिन्न भागबाट घण्टौँ हिँडेर आफ्नो रोगको निदान गर्न आएका बिरामीको उपचार गरेर हँसिलो मुखसहित फर्काउन पाउँदा निकै खुसी लागेको उपचार टोलीका सदस्यहरूको भनाइ छ । ‘सेवा र विशाल भक्ति भावनाले आनन्द मिलेको छ,’ एक चिकित्सकले भने ।

काठमाडौं मोडल कलेज (केएमसी) बागबजारबाट प्लस टु (तत्कालीन) अध्ययन गरी देश–विदेशमा रहेका पूर्वविद्यार्थीले छाता संगठनको नाम दिएर खोलेको ‘केएमसी पूर्वविद्यार्थी संघ’मा १४ हजारभन्दा बढी सदस्य आबद्ध रहेको बताइएको छ । उनीहरू अहिले विश्वका विभिन्न कुनामा विभिन्न पेसामा आबद्ध छन् । भविष्यमा पनि समाजलाई टेवा पुग्ने अनुकरणीय कार्यमा सधैँ अग्रसर हुने उद्देश्य रहेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय