औषधि व्यवस्था विभागमा औषधि व्यवसायी संघले बनाइदियो सहायताकक्ष

हेल्थपोस्ट
प्रकाशित
२०७६ पुष ६ गते १५:३२

नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाको समन्वयमा औषधि व्यवस्था विभागमा सहायताकक्ष स्थापना भएको छ । संघको जिल्ला शाखा काठमाडौंको स्थापना भएको सय दिन पुगेको अवसर पारेर संघले विभागमा बनाइदिएको सहायताकक्षको आइतबार शुभारम्भ गरिएको हो ।

देशभरका औषधि व्यवसायीलाई विभागमा दर्ता, नवीकरणलगायत अन्य समस्या परेको खण्डमा सहजीकरण गर्ने माध्यमका रूपमा सहायताकक्षको स्थापना गरिएको शाखाका महासचिव शुभमान श्रेष्ठ बताउँछन् । ‘कुनै लाभका लागि नभई विशुद्ध सेवाका लागि यो कदम चालिएको हो,’ श्रेष्ठ भन्छन्, ‘यसबाट व्यवसायी तथा सेवाग्राहीलाई समेत फाइदा पुग्नेछ ।’

सहायताकक्ष उद्घाटन कार्यक्रममा जिल्ला शाखा काठमाडौंले वेबसाइट निर्माण गर्न लागेको जानकारी दिइयो । व्यवसायीका साथै आमजनतालाई सेवा दिने गरी वेबसाइट निर्माण हुन लागेको श्रेष्ठले बताए । ‘कुनै पनि व्यवासायीले आफूबारेका सम्पूर्ण डाटा त्यस वेबसाइटमा राख्न पाउनेछन्,’ श्रेष्ठले भने, ‘मेम्बर नभएका मानिसले पनि डाक्टरको रिपोर्टलगायत तथ्य फोल्डर बनाएर वेबसाइटमा राख्न सक्नेछन् । यसले १० वर्षपछि पनि कुन डाक्टरलाई देखाएको थिए, के भएको थियो भन्ने जानकारी लिन एप्स खोले पुग्छ ।’

काठमाडौं शाखाले व्यवसायी मेम्बरलाई केही समस्या आइपरेको खण्डमा सहुलियत दिनका लागि अक्षयकोषको समेत स्थापना गरेको छ । ५० हजारबाट सुरु गरिएको अक्षयकोष वर्तमान कार्यसमितिको ३ वर्षे कार्यकालभित्र ठूलो आकारमा फैलाउने लक्ष्य रहेको श्रेष्ठले बताए । ‘भविष्यमा कुनै व्यवसायी सदस्यले दीर्घरोग लागेर राहत नपाएको महसुस गर्नुनपरोस्,’ श्रेष्ठले भने, ‘जीवनभर संस्थालाई बनाउन लागिपरेको सदस्यलाई आफूले नसक्ने अवस्था आएपछि संस्थाले केही राहत प्रदान गर्छ ।’

संघको काठमाडौं जिल्ला शाखाअन्तर्गत १ हजार ७ सयको हाराहरीमा सदस्य छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय