जीवनशैलीमा सुधार ल्याए मस्तिष्काघातबाट बच्न सकिन्छ

हिँड्दाखाँदैको मान्छे अचानक बेहोस भएर ढल्छ । कतिको होसै फर्किन्न, कतिपयको होस आए पनि पहिलेजस्तो सद्दे हुन सक्दैनन् । समाजमा धेरैले सुनाउने यस्ता कहानीसँगै एउटा डरलाग्दो कारण लुकेको हुन्छ– स्ट्रोक ।

स्ट्रोकलाई ब्रेन अट्याक वा मतिष्काघात पनि भनिन्छ । सामान्य रूपमा बुझ्दा मस्तिष्कमा हुने रक्तप्रवाहमा अवरोध नै स्ट्रोक हो । ब्रेन हेम्रेज भएर वा ब्रेनमा रगतको नसा सुकेर वा नसा बन्द भएर पनि रक्तप्रवाहमा अवरोध हुन्छ । यसरी नसा बन्द भएपछि अक्सिजन जान नपाएर गिदी ड्यामेज हुने हुन्छ । यसका कारण मस्तिष्कका कोषिकाहरूलाई पर्याप्त अक्सिजन पुग्न पाउँदैन । यस अवस्थामा मस्तिष्कका कोषिका तीव्र गतिमा नष्ट हुन थाल्छन् । शरीरमा भएको यस्तो अवस्थालाई ब्रेनस्ट्रोक अर्थात् मस्तिष्काघात भनिन्छ ।

उच्च रक्तचाप, धूमपान, मोटोपन, कोलेस्टेरोल, तनाव, बढी चिल्लोजस्ता कारणले मस्तिष्काघात हुने गर्छन् । व्यायाम अभावले पनि रक्तवाहक नसामा बोसो जमेर मस्तिष्कसम्म रक्तप्रवाहमा अवरोध भई थुनिने गर्छ । त्यसैगरी, टाउकोमा कुनै आन्तरिक चोट–पटक, अत्यधिक मानसिक तनावजस्ता कारणले पनि यो समस्या निम्तिन सक्छ ।

सामान्यतया हाम्रो मस्तिष्कको बायाँ हिस्सा वा भागले शरीरको दाहिने भागलाई र दायाँ भागले शरीरको देब्रे भागलाई नियन्त्रित गर्दछन् । ब्रेनस्ट्रोकमा मस्तिष्कको जुन भाग प्रभावित भएको हुन्छ, त्यस भागसँग सम्बन्धित अंगहरूको सञ्चालनमा बाधा पुग्छ । बोलीचालीको भाषामा यसैलाई प्यारालाइटिक अट्याक भनिन्छ ।

उमेर जति बढ्दै गयो त्यति नै मस्तिष्काघातको खतरा बढ्दै जान्छ । नेपालको परिप्रेक्ष्यमा मस्तिष्काघात ५० वर्ष नाघेका मानिसमा बढी हुने गरेको पाइएको छ । लैंगिक हिसाबले पुरुषको तुलनामा महिलामा बढी मस्तिष्काघात हुने अध्ययनले देखाएको छ ।

मस्तिष्कले काम गर्न अक्सिजन र ग्लुकोज आवश्यक हुन्छ । रक्तप्रवाहमा अवरोध हुँदा अक्सिजनप्रवाहको प्रक्रिया पनि रोकिने हुन्छ, जसका कारण कोषिकाको मृत्यु भई ब्रेन अट्याक हुने गर्छ ।

लक्षण
मस्तिष्काघातपूर्व धेरैजसोमा केही आम लक्षण देखिने गर्छन् । स्ट्रोकमा कसै–कसैमा बोली लरबराउने, हातखुट्टा कमजोर हुने, मुख बांगो हुँदै जाने, शरीरको आधा भाग कमजोर रूपमा देखापर्नेजस्ता लक्षण देखिन्छन् । यसबाहेक अन्य केही लक्षण पनि देखिन सक्छन् । आँखाअगाडि अँध्यारो हुनु, रिँगटा लाग्नु, बेहोस हुनु, छारेरोग हुनु, शरीरको सन्तुलन बिग्रनु, कमजोरी महसुस हुनुजस्ता लक्षण पनि देखिन सक्छन् । यी लक्षण बढी खतरनाक हुन्छन् ।

उपचार पद्धति
मस्तिष्काघातको जाँचमा सिटी–स्क्यान सबैभन्दा सजिलो माध्यम मानिन्छ । सिटी–स्क्यानमा हेर्ने भनेको हर्मोरेज हो । सिटी–स्क्यानमा सेतो दागका रूपमा हर्मोरेज देख्न सकिन्छ । सिटी–स्क्यानमा नर्मल छ भन्नेबित्तिकै मस्तिष्काघात छैन भन्न भने मिल्दैन । सिटी–स्क्यानमा नर्मल देखिन्छ, जसका लागि तुरुन्तै एमआरआईमा डिडब्लुआई इमेज हेर्न सकिन्छ ।, तर, बिरामीको हातखुट्टामा कमजोरी छ भने स्केमिक स्ट्रोक पनि हुन सक्छ ।

मस्तिष्काघात अन्य के कारणले भएको छ भनेर हेर्न इको गर्नु जरुरी हुन्छ । मस्तिष्काघात मुटुसँग पनि अन्तरसम्बन्धित हुन्छ । मुटुमा केही थ्रोम्बस भएर त्यहाँबाट उछिट्टिएर गिदीमा गएर रगतको नसा बन्द भएर पनि मस्तिष्काघात हुने हुन्छ । त्यसैगरी, घाँटीको मेन गिदीमा लाने रगतका नसाहरू ठिक छन–छैनन् हेर्नुपर्ने हुन्छ । कहिलेकाहीँ यस्ता नसामा पनि कोलेस्टेरोल भएर नसा साँघुरो वा बन्द भएका कारण स्केमिक स्ट्रोक हुन सक्छ ।

ज्यानै जाने अवस्था
धेरैजसो ज्यानै लिने स्ट्रोक भनेको हेमोरह्याजिक हो । स्ट्रोकमा पनि सानो हेमोरहेज छ भने बिरामी पूरै निको पनि हुन सक्छ । ठूलै हेमोरहेज (३० एमएलभन्दा माथि, कहिले १ सय एमएलसम्म) छ भने बढी खतरा हुने हुन्छ । जति धेरै रगतको मात्रा बढ्दै गयो, त्यति नै स्ट्रोकले मानिसको ज्यानै लिने सम्भावना बढी हुन्छ । धेरै रगत भयो भने गिदीको प्रेसर पनि त्यही अनुपातमा बढ्छ र ब्रेन ड्यामेज पनि त्यही अनुपातमा हुन्छ । यसका कारण ब्रेन ड्यामेज भएको अवस्थामा अस्पताल पुर्याउनुअघि नै बिरामीको मृत्यु पनि हुन सक्छ ।

स्ट्रोक हुनेबित्तिकै जतिसक्दो चाँडो अस्पताल पुर्याउनुपर्छ, जहाँ आइसियू, न्युरोलोजी डिपार्टमेन्टका अलावा सिटी–स्क्यान, एमआरआईको सुविधा उपलब्ध होऊन् । यस्तो अवस्थामा सोच्ने, सरसल्लाह गर्ने, विचार गर्ने वा आफ्नो फेमिली डाक्टरसँग सल्लाह गर्नमा समय खर्च गर्नेजस्ता गल्ती गर्नुहुँदैन । किनभने, यो एउटा मेडिकल इमर्जेन्सी हो र आधुनिक सुविधायुक्त अस्पतालमा नै यसको उपचार सम्भव छ ।

दुई किसिमका स्ट्रोकमा उपचार पनि भिन्नभिन्न तरिकाको हुने गर्छ, जसमा आकाश–जमिनकै फरक हुन्छ । स्ट्रोकको प्रकृतिअनुसार नै हामीले उपचार पद्धति अगाडि बढाउनुपर्ने हुन्छ । यसमा पहिलो कुरा सिटी–स्क्यान गर्ने र अस्पताल भर्ना गरेर उपचार गर्ने हो । कुनै स्ट्रोकमा साधारण ओपिडी बेसिसमा पनि उपचार गर्न सकिन्छ भने कुनै बिरामीलाई आइसियूमा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ हेमोरहेज धेरै छन् र इन्फ्य्राक्सन ठूलो भएर गिदीमा मासइफेक्ट भएको छ भने शल्यक्रियाद्वारा नै उपचार गर्नुपर्ने हुन्छ ।

अहिलेको सन्दर्भमा सेलेक्टिभ इन्फ्य्राक्सनको केसमा टिपिए तथा थालामोटोमीको प्रयोग गर्न सकिन्छ । स्ट्रोक भएको पहिलो इभेन्टदेखि १६ घण्टासम्म बिरामीलाई अस्पताल पुर्याउन सकिएमा टिपिए, थालामोटोमीजस्ता आधुनिक प्रविधिको साहयताले थोमसहरू निकालेर पुनः रक्तसञ्चालन गराएर गिदीलाई बचाउन सकिन्छ ।

बच्ने उपाय
स्ट्रोक दिन प्रतिदिन बढ्दै छ । स्ट्रोकका बिरामीको चाप बढेसँगै न्युरो सर्जन, न्युरोलोजिस्टको चुनौती पनि बढेको छ । यसलाई न्यूनीकरण गर्न जरैबाट उपचार गर्नुपर्छ । यसबाट बच्न जीवनयापनमा सुधार ल्याउनु आवश्यक छ । धेरै चिल्लोयुक्त खानेकुरा नखाने, धूमपान तथा मद्यपान नगर्ने गर्नुपर्छ । त्यसैगरी, मानसिक तनाव नलिने, नुनिलो र तारेको खानेकुरा प्रयोग नगर्ने र नियमित व्यायाम गर्नाले स्ट्रोकबाट धेरै हदसम्म बच्न सकिन्छ । त्यसैगरी, डायबेटिज तथा ब्लड प्रेसरका बिरामीले सुगर र प्रेसरलाई नियन्त्रणमा राखेर पनि ब्रेन अट्याकबाट बच्न सकिन्छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय