म सरकारी स्कुलबाट बोर्डिङमा सरुवा भएको विद्यार्थीजस्तो भएको छु : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आफू सरकारी विद्यालयबाट भर्खरै बोर्डिङमा सारिएको विद्यार्थीजस्तो भएको बताएका छन् । शुक्रबार नेपाल चिकित्सक संघको कार्यक्रममा मन्त्री ढकालले सरकारी विद्यालयमा कक्षा ६ मा पढ्दै गरेको विद्यार्थीलाई एक्कासि बोर्डिङमा सारिँदा ऊ जसरी अलमलमा पर्छ आफू पनि कनुन मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सारिँदा त्यस्तै अलमलको अवस्थामा रहेको बताएका हुन् ।

‘सरकारीमा राम्रै गरिरहेका सरहरूले बोर्डिङमा लगे, अहिले बडो अलमलमा परेको छु,’ मन्त्री ढकालले भने । कानुन मन्त्रालयमा राम्रो नतिजा दिएकाले प्रधानमन्त्री तथा पार्टीले आफूलाई प्रत्यक्ष जनसरोकारको तथा समस्या बढी भएको स्वास्थ्यको जिम्मेवारी सुम्पिएको उनको आशय थियो । मन्त्री ढकाल एक महिनाअघि मात्र मन्त्रीमण्डल पुनर्गठनका क्रममा कानुनबाट स्वास्थ्यमा ल्याइएका हुन् ।

मन्त्री ढकालले स्वास्थ्यमा आफू भर्खर विश्वविद्यालयमा भर्ना भएर अध्ययन थालेको विद्यार्थीबराबर भएको प्रतिक्रिया दिए । ‘म भर्खर विश्वविद्यालयमा भर्ना भएर पढ्न सुरु गरेको नयाँ विद्यार्थीजस्तो भएको छु,’ मन्त्री ढकालले भने, ‘मैले धेरै पढ्न, बुझ्न र गर्न बाँकी छ ।’

मन्त्री ढकालले कानुनभन्दा स्वास्थ्य मन्त्रालयमा अलिकति ठूलो संरचना भएकाले समस्या पनि ठूलै भएको बताए । ठूलो संस्था भएकाले संस्थामा आबद्ध मानिसहरूमा शक्तिको दम्भ बढी पएको उनले बताए । ‘शक्तिको आडमा मैले जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति हाबी रहेको पाएँ,’ मन्त्री ढकालले भने, ‘तर, यसलाई नबदली हुँदैन र बदलिन्छ । यसलाई थितिमा ल्याउने काम मेरै हो ।’

समस्याको खास पहिचानमा केन्द्रित भएको बताउँदै मन्त्री ढकालले केही समस्याको पहिचान भइसकेको र केहीको अध्ययन भइरहेको बताए । समस्या पहिचान भइसकेकापछि एक्सनमा जाने तर यही मोडल र तरिकाको एक्सन लिने भन्ने विषयमा निश्चित भइनसकेको उनको भनाइ छ । ‘समस्याको पहिचान भएसँगै एक्सनमा जाने हो,’ उनले भने, ‘अब छिट्टै एक्सन सुरु हुन्छ तर यही नै हुन्छ भन्ने भने निर्क्योल भइसकेको छैन ।’

मन्त्री ढकालले मन्त्रलयमा व्यापक अनियमितता भएको बताए । थिति बसाल्ने काम पनि मन्त्रलयबाटै सुरु गर्ने उनको भनाइ छ । स्वास्थ्यमा रहेका यावत् अनियमितता शून्यमै पुर्याउने प्रतिबद्धता उनले व्यक्त गरे ।

‘म भएको ठाउँमा अनियमितता हुँदैन र आएकै दिनदेखि त्यो लागू भइसकेको छ,’ उनले भने, ‘अनियमितता शून्यमा पुर्याउँछु, म व्यवहारबाटै गरेर देखाउने मान्छे हो ।’

आफू अनियमितता नगर्ने र अरुलाई पनि गर्न नदिनेतर्फ मन्त्री ढकालले जोड दिए । यो विषयमा आफ्नै पार्टीका नेता–कार्यकर्ताको पनि कुरा नसुन्ने र सबैलाई समान व्यवहार गर्ने उनको भनाइ छ । ‘म अनियमितता गर्दिनँ र अरु कसैलाई पनि गर्न दिन्नँ,’ मन्त्री ढकालले भने, ‘यसमा म कसैको पनि प्रभावमा आउँदिनँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय