वरिष्ठ इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ प्रा.डा. यादवकुमार देव भट्ट ‘विज्ञान पुरस्कार’द्वारा सम्मानित

नर्भिक इन्टरनेसनल हस्पिटलका मुुटुरोग विभाग प्रमुख तथा निर्देशक वरिष्ठ इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ प्रा.डा. यादवकुमार देव भट्ट ‘विज्ञान पुरस्कार २०७६’ बाट सम्मानित भएका छन् । मुटुरोगको उपचारमा नेपालमा उच्च प्रविधिको इन्टरभेन्सनल (विनाचिरफार गरिने मुटुरोग उपचार) प्रविधिको सुरुवात, विकास र प्रवर्धनमार्फत नेपालीको मुटुरोग उपचारमा उल्लेख्य योगदान पुर्याएबापत प्रा.डा. भट्टलाई पुरस्कृत गरिएको पुरस्कारको संस्थापक ‘नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान’ले जनाएको छ ।

को हुन् प्रा.डा. भट्ट ?
प्रा.डा. भट्ट वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । उनले चिकित्साशास्त्रमा स्नातकोत्तर गरेलगत्तै भारतको चण्डीगढस्थित ख्यातिप्राप्त ‘पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च’बाट इन्टरनल मेडिसिनमा एमडी हासिल गरे । सन् २००० मा सोही इन्स्टिच्युटबाट मुटुरोग उपचारमा विशेषज्ञतासहितको उपाधि डिएम हासिल गरे । लगत्तै भारतको प्रसिद्ध एस्कर्टस हार्ट इन्सिटच्युटमा इन्टरभेन्सनल मुटुरोग उपचारमा दुईवर्षे गहन तालिमपश्चात् उनले सन् २००३ मा भारतकै नेसनल बोर्ड अफ एक्जामिनेसन नयाँदिल्लीबाट इन्टरभेन्सनल कार्डियोलोजीमा डिएनबी (डिप्लोम्याट अफ नेसनल बोर्ड) को उपाधि हात पारे ।

सन् २००३ मा नेपाल फर्किएर सहिद गंगालाल नेसनल हार्ट सेन्टरमा आबद्ध हँुदै उनलेसरकारी तथा सार्वजनिक क्षेत्रमार्फत मुटुरोगको उपचारमा इन्टरभेन्सनल प्रविधिको सुरुवात गरेका थिए । हाल नेपालमा विद्यमान इन्टरभेन्सनल प्रविधिमध्ये सबैजसोमा अग्रणी रहेका प्रा.डा. भट्टले हालसम्म ५ हजारभन्दा बढी कोरोनरी एन्जियोग्राफी, ३ हजारभन्दा बढी कोरोनरी एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण, हजारभन्दा बढी माइट्रल, एओर्टिक एवं पल्मोनरी भल्भोटोमी, पेसमेकर जडान, एएसडी, पिडिए डिभाइस क्लोजरलगायत अन्य थुप्रै इन्टरभेन्सनल प्रक्रिया सफलताका साथ सम्पन्न गरिसकेका छन् ।

मुटुरोगको उपचारमा उनको शैक्षिक पृष्ठभूमि, कार्य र प्राविधिक दक्षताकै कारण उनलाई चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर हस्पिटलका प्राध्यापक, मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको भिजिटिङ प्राध्यापकलगायत जिम्मेवारी प्राप्त छ । सन् २००९ यता उनी राष्ट्रपतिको चिकित्सकसमेत रहँदै आएका छन् । राष्ट्रले उनको योगदानको कदर गर्दै सन् २०१६ मा उनलाई सुप्रबल जनसेवाश्रीद्वारा विभूषित गरेको थियो ।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १२ वर्षको अनवरत सेवापश्चात् उनले त्यहाँको हृदयरोग विभागको प्रमुख पदबाट राजीनामा दिएका थिए । ४ वर्षदेखि उनी नर्भिक इन्टरनेसनल हस्पिटलको मुटुरोग विभागमा पूर्णकालीन निर्देशकका रूपमा कार्यरत रहँदै नियमित रूपमा बहिरंग तथा अन्तरंग सेवाका साथ मुटुरोग उपचारका सबैखाले इन्टरभेन्सनल प्रविधिको उच्चतम प्रयोग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय