स्वास्थ्यसंस्थामा करारमा स्वास्थ्यकर्मी नियुक्त गर्न बाटो खुला, २ कार्यविधि र १ स्वास्थ्यनीति स्वीकृत

नेपाल सरकार मन्त्रिपरिषद्ले स्वास्थ्यसंस्थामा रिक्त रहेका पदमा चिकित्सक तथा स्वास्थ्यकर्मी करारमा नियुक्त गर्न कार्यविधि स्वीकृत गरेको छ । ३० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले ‘स्वास्थ्यसंस्थामा रिक्त रहेका पदमा चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७६’ स्वीकृत गरेको हो । बिहीबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सोमबारको मन्त्रिपरिषद् बैठकका २१ वटा निर्णय सार्वजनिक गरे, जसमा स्वास्थ्य क्षेत्रका ३ वटा छन् ।

मन्त्रिपरिषद्ले स्वास्थ्यका अन्य २ निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्ले ‘राष्ट्रिय व्यवसायजन्य सुरक्षा र स्वास्थ्यनीति, २०७६’ लाई स्वीकृत गरेको छ । त्यस्तै, मन्त्रिपरिषद्ले ‘सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६’ स्वीकृत गरेको छ । सरकारले बजेटमै घोषणा गरी सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्दै आएको छ ।

करार नियुक्ति अनुमतिका सकारात्मक र नकारात्मक दुवै प्रभाव
सरकारले करार नियुक्तिको बाटो खोलेसँगै यसका सकारात्मक र नकारात्मक दुवै प्रभाव देखिनेछन् । एकतातिर लामो समयदेखि जनशक्ति अभाव झेलिरहेका स्वास्थ्यसंस्थाले जनशक्ति पाउनेछन्, जुन सकारात्मक हो । यसबाट स्वास्थ्यसंस्थाको सेवाप्रवाहमा विस्तार तथा गुणस्तर वृद्धिमा मद्दत पुग्नेछ । कतिपय स्वास्थ्यसंस्थाले भएका दरबन्दीमा पनि लामो समयदेखि स्थायी पदपूर्ति हुन नसकेका कारण रिक्त हुँदा र दारबन्दी नै नभएका कारण जनशक्तिको चरम अभाव खेप्दै आएका छन् । विशेषगरी, ग्रामीण तथा दुर्गम क्षेत्रका यस्ता समस्या झेलिरहेका स्वास्थ्यसंस्थामा करार नियुक्तिको अनुमतिले ठूलो राहत मिल्नेछ ।

तर, अर्कोतर्फ अब राजनीतिक दबाबमा योग्यभन्दा पनि आफूनिकट व्यक्तिहरूलाई जागिर खुवाउन तँछाड–मछाड हुने निश्चितप्रायः छ । विगतको यस्तो अभ्यासले हाम्रो प्रशासनयन्त्र र सरकारी सेवाप्रवाहलाई नराम्ररी थला पारेको र दशकौँसम्म पनि त्यसमा सुधार ल्याउन नसकिने अवस्था सिर्जना भएको उदाहरण हामीमाझ छ । सुरुमा नातावाद, कृपावाद तथा राजनीतिक आस्थाका आधारमा आवश्यक नभएका स्थानमा पनि कर्मचारी नियुक्त गर्ने र पछि स्वतः स्थायीका नाममा लामो समयसम्म सेवा नै अवरुद्ध गरेर आन्दोलन चलाउने प्रवृत्ति दशकौँसम्म चलिरहँदा सबै सरकारकै निम्ति पनि टाउकोदुखाइको विषय बन्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय