एन्टिबायोटिकको आत्मकथा : १० वर्षपछिको म

लामो समयको युद्धपछि आज म काम नलाग्ने बेकम्मा धुलो र पानी भएको छु । जीवाणु कीटाणुहरूसँगको मेरो युद्धको गाथा कुनै महाभारतभन्दा कम छैन । आज मेरो अस्तित्व त छ तर म कसैका लागि केही काम गर्न नसक्ने भइसकेको छु । मेरो आफ्नो कुनै साख छैन । कुनै समय मेरो निकै दुरुपयोग गरेको थियो नि त मनुष्य जातिले । हो, आज त्यसैको प्रतिफल भोग्दै छन् मनुष्य ।

उदेकलाग्दो विषय त यो छ कि, मलाई बनाउन सक्ने बुद्धि भएको मनुष्य प्रजातिले मलाई चलाउन भने रत्तिभर जानेन । सायद, मलाई चलाउने कडा कानुन बनाउन सकेनन् मनुष्यले । त्यसैले त म जथाभावी प्रयोगमा परेँ । जसले पनि प्रयोग गर्न सक्यो, मेरो व्यापार गरेर मान्छेले अथाह कमाए ।

पहिले मेरो जन्मको इसिहास कोट्याउनु सान्दर्भिक होला । अहोरात्र खटिएर मलाई जन्म दिने दिग्गजहरूमा मेरो सादर नमन छ । मलाई बनाउन ब्रह्मजीलाई सृष्टिको रचना गर्नभन्दा पनि कठिन परेजस्तो लाग्छ मनुष्यलाई । मेरो जन्मदाता महान् वैज्ञानिकहरूको दिमागका कोषिकालाई धेरै कसरत परेको थियो होला । कति रात अनिदो बिते, हिसाबै छैन । हजारौँपटक मोलिक्युल नमिलेर एक्स्पेरिमेन्ट फेल भयो होला । कैयौँ दिन–रात एक गरेर हजारौँले गरेको प्रयासले मेरो जन्म भएको थियो । हो, मेरो जन्मदाता त्यही सर्वश्रेष्ठ मनुष्य नै हो, जोसँग विचार गर्न सक्ने सरदर १४०० ग्रामको कमलो ब्रैन खप्परभित्र सुरक्षित छ । त्यस्तो सौभाग्य अरु कुन प्राणीसँग छ होला र !

विचार त हो, सुविचार र कुविचार दुवै हुन्छन् । केही मनुष्यको सुविचारले म मनुष्यको कल्याणका लागि जन्मिएँ । ती सुविचारले ओतप्रोत, अनवरत नयाँ खोजमा तल्लीन मनुष्यलाई शब्दकोशले वैज्ञानिक भनेर चिनाउँछ, जो आफ्नो जीवनको उत्तरार्धसम्म मेरो गुणस्तर बढाउने भगीरथ प्रयत्न गर्दागर्दै समाधिस्थ भए । उनीहरूले मलाई जन्माउने प्रक्रियामा लामो प्रसव वेदना भोगेका थिए । आज त्यो वेदनाको मुल्यांकन र महत्त्व नबुझेका मनुष्य देखेर मलाई साह्रै पिर लाग्छ ।

कुनै समयमा मनुष्य साह्रै पीडित र त्रस्त थिए । कीटाणुले अनेकतरहबाट आक्रमण गरेका थिए । असंख्यक मनुष्य किसिम–किसिमका रोगले ग्रस्त थिए । धेरैले ज्यान गुमाए, भाग्यमानी मात्रै रोगलाई परास्त गरेर बाँच्न सफल भए । त्यसवेला मेरो उत्पत्तिले मनुष्यलाई जीवन दिएको थियो । कतिको ज्यान जोगियो, त्यसको लेखाजोखा इतिहासले गर्ला । मेरो सदुपयोगले रोगका कीटाणु परास्त हुँदै थिए । कीटाणुको संसारमा बेस्सरी हल्लिखल्ली मच्चिएको थियो ।

अस्तित्वको संघर्ष नैसर्गिक गुण हुनुपर्छ । त्यसैले त रोगका कीटाणु बलिया हुने जुक्ति निकाल्न थाले । मेरो मोलिक्युलको पहिचान गरेर प्रतिरोध गर्न थाले । जहाँ चाह हुन्छ, त्यहाँ उपाय निस्किन्छ । म बिस्तारै निष्प्रभावी बन्न पुगेँ । कीटाणुको आक्रमणले मनुष्य थला परे । अनि मनुष्यले अझै शक्तिशाली बनाउन थाले मलाई । मेरा नयाँ रूप आउन थाले । मेरो बनावट परिवर्तन गरेर मलाई सुरक्षित बनाउने ध्याउन्नमा मनुष्यले परिश्रम गरे । मेरा नजिकका मिल्दाजुल्दा दाजुभाइको उत्पत्ति हुँदै गयो । एक प्रकारले भन्दा कीटाणु र मेरो प्रथम विश्वयुद्ध नै चलेको थियो । हामी एक–आपसमा लुकामारी खेल्दै थियौँ ।

सुरुसुरुमा त मलाई उत्पादन गर्ने थोरै मात्रै कम्पनी थिए । पछि व्यापार राम्रो देखिएकाले र आम्दानीको सजिलो माध्यम भएकाले मनग्य कमाउने स्वार्थले धेरैले लगानी गरे । सायद, बजारमा मलाई बनाउने कम्पनी जंगलमा उम्रिने च्याउभन्दा कम थिएनन् । मेरा मिल्दाजुल्दा नामकरण पनि गरे ।

बजारमा म छ्याप्छ्याप्ती फिँजारिन थालेँ । प्रतिस्पर्धाको होडबाजी चल्न थाल्यो । त्यही होडबाजीले कमिसन, बोनस आदिको प्रलोभन जन्मायो । जति कमिसन र बोनसको कुरो झाँगिदै गयो, त्यति मेरो गुणस्तर खस्किँदै गयो । मलाई बिस्तारै कमसल बनाउँदै लगे । स्वार्थमा लिप्त भएपछि ओजस्वी दिमागको अर्थ ! बजार व्यापक देखिएपछि मबारे न्यून ज्ञान भएकाले पनि मलाई चाउचाउ बेचेसरी बेच्न थाले । किनबेचका हिसाबले म किराना पसलका दैनिक उपभोग्य सामानसरह बनाइएँ । मेरो गुणस्तर मापन गर्ने एकाइ नै पैसामा बिक्न थाले । स्वार्थ र पापको घना सञ्जाल मौलाउँदै गयो । म निरीह थिएँ । मलाई जोगाउन खोज्ने सिमित असल ब्यक्तिहरू निमुखा थिए ।

मेरो प्रचार–प्रसारमा लाखौँ खर्च हुने हुनाले मेरो मूल्य उत्पादन लागतको कैयौँ गुणा बढी हुन थाल्यो । त्यसको आर्थिक भार सोझै बिरामीमै पर्ने नै भयो । उद्योगी–व्यापारीका लागि म यस्तो निरपेक्ष लाभकारी उत्पादन परेँ, जसलाई किन्दा आजसम्म न कोही उपभोक्ताले ‘डिस्काउन्ट’ माग्यो न त बार्गेनिङ नै गर्यो । स्वभावतः बिरामी परेका वेला मान्छेलाई धन वा अन्य कुरासित भन्दा आफू निको हुनुसँग मतलब हुन्छ ।

मेरो प्रचार गर्न कम्पनीहरूले हेर्दा चिटिक्क देखिने टाई–सुट लगाएका, वाक्पटुता भएका र कमिसनको बार्गेनिङ सेट गराउन सिकाइएका मनुष्य भर्ती गर्न थाले । उनीहरूको काम डाक्टरलाई मबारे गुणगान गाउन र पर्चामा लेख्न प्रेरित गर्ने थियो । वास्तवमा डाक्टरलाई औषधिको ज्ञान गराउन सजिलो होस् भन्ने नीति हुनुपर्छ । तर विडम्बना, यो आपसी होडबाजीमा परिणत भयो । एक हिसाबले भन्नुपर्दा सबैको दिमाग भुट्ने काम भयो ।

गुणस्तरका हिसाबले मलाई सबै कम्पनीले उस्तै निकाल्न सकेनन् र चाहेनन् पनि । म गुणस्तरहीन हुँदै गएँ । यद्यपि, केही गुणस्तरीय कम्पनीले मेरो गुणस्तर कायम नराखेका भने होइनन् । तर, त्यस्ता कम्पनीको पहिचान गर्न बिरामीमा प्रयोग गरेर हेर्नुबाहेक कुनै उपाय भएन । सबै डब्लुएचओबाट सर्टिफाइड भएपछि को–कस्तो कसरी थाहा पाउनु !

मेरो प्रयोग सहरतिर समेत डाक्टरले सही तरिकाले गरेनन् भने गाउँतिरको अवस्था त दयनीय हुने नै भयो । गाउँतिर मेरो कडा प्रयोग हुन थाल्यो । ब्रह्मास्त्र अन्तिममा मात्र प्रयोग गर्ने हतियार हो भन्ने सुनेको थिएँ शास्त्रमा, तर मेरो कडा रूपको भने सुरुमै प्रयोग हुन लाग्यो । कीटाणुलाई बम पड्काएजस्तै भयो । गोली हान्नुपर्नेमा बम पड्काउँदा धेरै कीटाणु मरे पनि । सुरु–सुरुमा तत्कालको प्रभाव पनि राम्रै देखियो । बिरामी पनि छिटो निको हुने हुनाले मेरो प्रयोगमा हस्पिटल तथा क्लिनिक रमाउन थाले । बिरामी पनि फलानो हस्पिटलमा रोग छिटो निको हुन्छ भनेर आकर्षित भए । हस्पिटल पनि सेवा नै गर्न भनेर बसेका त पक्कै थिएनन् । सबैको स्वार्थ मिलेको टुलुटुलु हेर्नेबाहेक म के नै गर्न सक्थेँ र ! म त पातोभित्र गोली भएर कि त सिसाभित्र झोल भएर बसेको हुन्छु ।

ममाथिको बलात्कार देखेर आवाज उठाउने नभएका पनि होइनन् । तर, स्वार्थको सञ्जाल धेरै बाक्लो भएर होला, सरकार, कानुन सबै मौन थिए । आकलझुकल कारबाही गरेको नाटक नभएको पनि होइन । तर, स्वार्थका अगाडि सबै चिज गौण थिए । मेरो आफ्नै तागत हुँदो हो त सायद कतै नभेटिने गरी गायब हुने थिएँ । मेरो उत्पत्ति गरेकोमा आज ती कर्मठ वैज्ञानिकका आत्मा आँसुले भिजेका होलान् । रोगको पहिचान गरेर मेरो सही प्रयोग गर्ने सद्विचार भएका डाक्टरलाई मनुष्यले पत्याउन छाडे । उनीहरू पनि विवश भएर मेरो कडा रूपको प्रयोग गर्न थाले । त्यसो नगरे हातमुख जोर्न गाह्रो पर्ने भयो ।

बम पड्किँदा सबै तहसनहस त हुन्छ, तर कोही–कोही भने बाँच्ने पनि गर्छन् । त्यस्तै, कीटाणु जगत्मा बँचेका कीटाणुले अस्तित्वरक्षाका लागि अफूलाई सुदृढ बनाउन थाले । त्यसपछि त बलिया र अस्त्रशस्त्रले सुसज्जित कीटाणु निस्किएर आक्रमण गर्न लागे । एटम बमले ध्वस्त भएको जापानको धुलोबाट नवीन अत्याधुनिक विकासको उदय भएजस्तै कीटाणु उदाउन थाले । बिस्तारै नयाँ ट्रेनिङसहित लडाइँमा आएका कीटाणुसँग मेरो जोर चल्न छाड्यो । लामो समयसम्म मेरो नयाँ मोलिक्युल निकाल्ने अन्वेषण नभएकाले मेरो पहिलेको अवस्थाले मनुष्यलाई रोगबाट जोगाउन धौ–धौ देखिन्छ । समयमा मेरो प्रयोग गर्ने उचित उपाय नखोजिएमा अहिले रहेको मेरो साख विलीन हुनेमा कुनै द्विविधा छैन ।

उही
निरीह एन्टिबायोटिक
सन् २०३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय