बालिका बलात्कारमा उल्टो मेडिकल रिपोर्ट दिने २ चिकित्सक दोषी ठहर, ६ महिना कैद, २५ हजार जरिवाना

बालिका बलात्कारको घटनामा अस्वाभाविक रुपमा विपरीत मेडिकल रिपोर्ट दिएका दुई चिकित्सक दोषी ठहर भएका छन् । बलात्कृत बालिकाको मेडिकल चेकजाँचका क्रममा प्रलोभनमा आई बलात्कार नभएको रिपोर्ट दिएका तत्कालीन जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई मंगलबार विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको हो । घटनाको १६ महिनापछि दोषी ठहर गर्दै विशेषले उनीहरुलाई जनही ६ महिनाको कैद र २५ हजार जरिवानाको सजायँ तोकेको छ ।

विशेष अदालतका न्यायाधीशत्रय कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको अन्तिम फैसला गर्दै डा. सिंह र डा. गोइतलाई दोषी ठहर्याएको हो । अख्तियारले घटनाको छानबिन गरी डा. सिंह र डा. गोइतले सरकारी सेवामा रहेर अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध विशेषमा आरोपपत्र दर्ता गरेको थियो ।

दोषी चिकित्सकद्वय यसअघि नेपाल मेडिकल काउन्सिलले गरेको घटनाको अनुसन्धानका क्रममा दोषी पाइएपछि कारबाहीमा परिसकेका छन् । उनीहरुले न्यूनतम चिकित्सकीय आचर र व्यवहार तथा आचारसंहिताविपरीत मेडिकल रिपोर्ट दिएको भन्दै काउन्सिलले २५ असोज ०७५ मा दुवैको चिकित्सक लाइसेन्स निलम्बन गरेको थियो । यससँगै उनीहरुले चिकित्सकीय अभ्यास गर्न पाएका छैनन् । उनीहरुले जघन्य अपराधको घटनामा प्रलोभनमा आएर दोषीलाई जोगाउन उल्टो रिपोर्ट दिएका थिए ।

घटना के थियो ?
धनुषाको जनकनन्दिनी गाउँपालिका–२ बस्ने २५ वर्षीय किरण खत्वेले छिमेकी १२ वर्षीया बालिकालाई ८ भदौ ०७५ को राति पौने ११ बजे सुतिरहेका वेला बलात्कार गरेका थिए । आमाको मृत्यु भएको र बुबा रोजगारीका लागि भारतमा भएकाले बालिका काकीसँगै बस्दै आएकी थिइन् । घटनाको भोलिपल्ट ९ भदौमा इलाका प्रहरी कार्यालय खजुरीले जनकपुर अञ्चल अस्पतालमा पीडित बालिकाको शारीरिक जाँच गराइएको थियो । जाँचको ११ दिनपछि डा. सिंह र डा. गोइतले बालिकामाथि शारीरिक बलात्कार नभएको रिपोर्ट दिएका थिए ।

बालिकाको अवस्था नजिकबाट नियालेको प्रहरीका लागि अस्पताले दिएको मेडिकल रिपोर्टमाथि विश्वास गर्न सक्ने अवस्था थिएन । त्यसपछि प्रहरीले बालिकालाई मेडिकल जाँचका लागि सिराहा अस्पताल लगेको थियो । २५ भदौ ०७५ मा बालिकाको शारीरिक जाँच गरी सिराहा जिल्ला स्वास्थ्य कार्यालय (सिराहा जिल्ला अस्पताल)का चिकित्सक डा. राकेशकुमार सिंहले बालिकामाथि बलात्कार भएको रिपोर्ट दिएका थिए । जनकपुर अञ्चल अस्पतालका दोषी चिकित्सकद्वयले दिएको रिपोर्टमा बालिकाको भेजिना नर्मल र ह्युमेन नर्मल उल्लेख थियो । तर, सिरहा अस्पतालका डा. सिंहले गरेको स्वास्थ्यजाँचको रिपोर्टमा पीडित बालिकाको गाला र ओठमा बाइट मार्क अर्थात् गाला र ओठ टोकिएको अवस्था, भेजाइना कन्जेसन अर्थात् योनिमा चोटको अवस्था र हाइमेन रप्चर्ड अर्थात् योनिको झिल्ली च्यातिएको उल्लेख थियो ।

दुई अस्पतालमा गराइएको मेडिकल जाँचको रिपोर्ट फरक परेपछि दुवै प्रतिवेदनका प्रतिलिपि र सिडी संलग्न गरी यकिन रिपोर्टका लागि प्रहरीले मिति २ असोज ०७५ मा जिल्ला सरकारी वकिल कार्यालय धनुषा, १६ गते महान्यायाधिवक्ताको कार्यालय काठमाडौं र असोज १८ र २० गते गृह मन्त्रालयले काउन्सिललाई पत्राचार गरेको थियो । सोलगत्तै काउन्सिलले १९ असोजमा सदस्य डा. कालुसिंह खत्रीको संयोजकत्वमा प्रा.डा. हरिहर वस्ती (फरेन्सिक विज्ञ), डा. मधु तुम्बाहाम्फे (प्रसूति तथा स्त्रीरोग विशेषज्ञ) र श्री पुष्करराज नेपाल (स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव) रहेको छानबिन समिति बनाएको थियो ।

समितिले २३ असोजमा बुझाएको प्रतिवेदन तथा व्यावसायिक आचरण समितिको सिफारिसअनुसार दुवै चिकित्सक निलम्बनमा परेका थिए । समितिले चिकित्सकहरूले जाँच तथा उपचारमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको थियो । सरकारी सेवामा रहेका चिकित्सकहरूले पदीय आचरणविपरीत काम गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोलगत्तै चिकित्सकहरू पक्राउ परेका थिए ।

बालिकामाथि बलात्कार गरेर भारत भागेका आरोपी खत्वेलाई घर आएका वेला प्रहरीले ९ भदौमा पक्राउ गरेको थियो । आरोपी खत्वेले प्रहरीसँगको बयानमा आफूले अपराध गरेको स्वीकार गरेका थिए । खत्वेले आरोप स्वीकार गरेपछि दुई अस्पतालका परस्पर विपरीत दुई मेडिकल रिपोर्टसहित ४ असोजमा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरेको थियो । प्रहरीले आरोपी खत्वेले दिएको बयानको भिडियो क्लिपसमेत पेस गरेको थियो । आरोपी खत्वेले अदालतमा समेत बलात्कार गरेको स्वीकार गरेका छन् भने उनी पुर्पक्षका लागि थुनामा छन् । मुद्दाको अन्तिम किनारा लाग्न भने बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय