सरकारी खोपमा भरोसा गर्दैन सम्भ्रान्त वर्ग, अभियानमा सबै समावेश नहुँदा पूर्ण खोप लक्ष्य चुनौतीपूर्ण

१५ महिनासम्मका बालबालिकालाई ११ रोगविरुद्ध सरकारले चलाइरहेको खोप अभियानमा सहरी क्षेत्रका सम्भ्रान्त वर्गका बालबालिका समावेश नहुने गरेको पाइएको छ । स्वास्थ्यसेवा विभागअन्तर्गत परिवारकल्याण महाशाखाले गरेको अन्तरक्रियामा सो विषय उठान भएको हो । सहरी क्षेत्रका सम्भ्रान्त वर्गका बालबालिका खोप क्याम्पियनमा समावेश हुने नगरेको गुनासो स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रायः धनी तथा सम्भ्रान्त वर्गले निजी अस्पतालमा गएर खोप लगाउने गरेको पाइएको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतम बताउँछन् । ‘सहरी क्षेत्रमा सरकारले दिने पूर्ण खोप पुर्याउनमा चुनौती रहेको छ,’ डा. गौतम भन्छन्, ‘केही जान्नेबुझ्ने भनिएकामा सरकारी खोप प्रभावकारी हुँदैन भन्ने सोच देखिन्छ ।’

खोप अभियानमा वार्षिक १ अर्ब ६५ करोड लगानी, तर पूर्ण खोप प्रतिशत घट्दै
सरकारले दिने गरेको विभिन्न ११ रोगविरुद्धको खोप विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप गुणस्तरयुक्त भएको डा. गौतमको दाबी छ । सरकारले खोप कार्यक्रमका लागि मात्र वार्षिक १ अर्ब ६५ करोड लगानी गर्दै आएको छ । तर, सरकारले निःशुल्क उपलब्ध गराउने खोप कार्यक्रममा सबै समावेश नहुँदा पूर्ण खोपको लक्ष्य हासिल गर्न चुनौती देखापरेको छ ।

एसियाली देशमा सन् २०२३ सम्ममा दादुरा रुवेला निवारण गर्ने विश्व स्वास्थ्य संगठनले लक्ष्य राखेको छ । यसअघि डब्लुएचओले नेपाललाई २०१९ सम्ममा दादुरा रुवेला निवारणको लक्ष्य दिए पनि चालू वर्षमा पूरा नहुने भएपछि थप ४ वर्षको समय दिएको हो । नयाँ समयसीमामा लक्ष्य पूरा गर्न नेपालले प्रतिबद्धता जनाएको छ ।

रोग निवारणका लागि खोपको प्रयोगदर ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ । तर, सन् २०११ मा ८७ प्रतिशतले पूर्ण खोप पाएका थिए भने २०१६ मा आइपुग्दा पूर्ण खोपको प्रतिशत घटेर ७८ मा झरेको थियो । खोप प्रयोगको दर बढ्नुको साटो घट्दै जानुले रोग निवारणका लागि प्रयोगदर ९५ प्रतिशत पुर्याउन ठूलै चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।

सरकारले कुनै पनि बालबालिका पूर्ण खोपबाट वञ्चित हुन नहुने ऐन–नियम ल्याएको छ । कुनै पनि अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउन इन्कार गरेमा दण्डको समेत व्यवस्था गरेको छ । तर, नियम–कानुन कागजी पानामा मात्र सीमित भइरहेको छ । फलस्वरूप ७८ प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप पाएका छन् । २१ प्रतिशत बालबालिका आंशिक रूपमा मात्र खोपको दायरामा आएका छन् भने १ प्रतिशत पूर्णतः खोपबाट वञ्चित रहेको तथ्यांक परिवारकल्याण महाशाखाले सार्वजनिक गरेको छ ।

सन् २०१९ मा ३ सय ६६ जनामा दादुराको संक्रमण, प्रदेश २ मा सबैभन्दा बढी
सन् २०१९ मा १ हजार ६ सय ४५ जनामा दादुराको आशंका गरी ल्याब टेस्ट गरिएकोमा ३ सय ६६ जनामा दादुरा पुष्टि भएको छ । ‘एकजनामा दादुराको संक्रमण भयो भने १६ जनासम्मलाई सर्ने गर्छ,’ डा. गौतम भन्छन्, ‘एकजनामा मात्र संक्रमण हुँदा पनि धेरैमा फैलिने सम्भावना भएकाले दादुराविरुद्धको खोप नियमित सञ्चालन गर्नु आवश्यक हुन्छ ।’

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी प्रदेश २ मा १ सय ५० बालबालिकामा दादुराको संक्रमण भएको पाइएको छ । सबैभन्दा कम सुदूरपश्चिममा १ जनामा संक्रमण देखिएको छ । प्रदेश ३ मा ९४, प्रदेश ५ मा ६८, प्रदेश १ मा ३२, कर्णाली प्रदेशमा ६८ र गण्डकी प्रदेशमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

३० लाख बालबालिकालाई दादुराविरुद्धको खोप दिइँदै
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवारकल्याण महाशाखाको संयोजनमा आगामी फागुन र चैतमा राष्ट्रिय दादुरा रुवेला खोप अभियान सञ्चालन गर्दै छ । अभियानको पहिलो चरणअन्तर्गत फागुन महिनामा प्रदेश १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालबालिकालाई खोप लगाइनेछ ।

दोस्रो चरणअन्तर्गत चैत महिनामा प्रदेश ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने लक्ष्य छ । देशभरका ९ महिनादेखि पाँच वर्षभित्रका करिब ३० लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइने बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ । यसअघि सन् २००४ मा पहिलो अभियान सञ्चालन गरिएको थियो । सामान्यतः हरेक चार वर्षमा चलाइँदै आएको यो अभियान २००८, २०१२, २०१६ मा पनि सञ्चालन भएको थियो ।

४९ हजार खोपकेन्द्रमा ९ हजार स्वास्थ्यकर्मी र ५५ सय स्थानीय सुपरिवेक्षक परिचालित हुने, लागत ३२ करोड
३० लाख बालबालिकालाई खोप लागउन ४९ हजार खोपकेन्द्रको स्थापना गरिने डा. गौतम बताउँछन् । ‘खोप कार्यक्रम प्रभावकारी बनाउन ९ हजार स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ भने करिब ५ हजार ५ सय स्थानीय सुपरिवेक्षक परिचालित हुनेछन्,’ डा. गौतमले भने, ‘अभियानमा खोपको अभिलेख राखिनुका साथै नियमित खोपमा छुट खोपको अभिलेख र विश्लेषण गरिनेछ ।’

कार्यक्रम व्यवस्थापनमा करिब ३२ करोड खर्च हुने अनुमान छ । यसमध्ये नेपालको खोप अभियानमा सबैभन्दा ठूलो सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय संस्था गाभी (ग्लोबल अलाएन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) ले २२ करोड र नेपाल सरकारले १० करोड बेहोर्ने डा. गौतम बताउँछन् ।

के हो दादुरा ?
दादुरा भाइरसको संक्रमणबाट लाग्ने रोग हो । यो प्रायः बालबालिकामा लाग्छ । ‘दादुरा आउँदा छालामा रातो फोका देखिने र ज्वरो आउने हुन्छ,’ डा. शर्मा भन्छन्, ‘कहिलेकाहीँ यसले फोक्सो र मस्तिष्कमा संक्रमण भएर जटिलता उत्पन्न गराइदिन सक्छ ।’

यो अत्यन्त संक्रामक भाइरसका कारण हुने रोग हो । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो । डब्लुएचओका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ । दादुरा प्यारामिक्सो भाइरस परिवारको एउटा भाइरसले गर्दा हुन्छ । यो रोग खोक्दा वा हाच्छिऊँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका स–साना कणले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने गर्छन् ।

दादुराको लक्षण
दादुराको सामान्य लक्षण हो– तीव्र ज्वरो आउनु । ज्वरोको सुरुवात दादुरा संक्रमितको सम्पर्कमा आएको १०–१२ दिनपछि हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहने हुन्छ । दादुरा आउँदा बालबालिकालाई थकान महसुस हुने तथा रुघा–खोकी लाग्ने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने हुन सक्छ । केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीन दिनपछि फैलिन्छ र हात–खुट्टामा समेत देखिन थाल्छ र ५–६ दिनपछि आफैँ फोस्रिँदै जान्छ ।

खोप लगाएपछि देखिने आमलक्षण
१. सामान्य ज्वरो आउने ।
२. सुई लगाएको ठाउँमा दुख्ने, रातो हुने वा सुन्निने ।
३. बच्चा केही समय रुने, झिँजो मान्ने ।
४. बिसिजी लगाएको ठाउँमा पाक्ने ।
५. सुई लगाएको केही दिनमा शरीरमा बिमिरा आउने ।
६. सुई लगाएको ठाउँबाट केही रगत बग्ने ।

खोप लगाएपछि केही गम्भीर तथा असामान्य लक्षण देखिएर अवाञ्छित घटना हुन सक्छन् । यस्ता घटनामा निम्न अवस्था देखिन सक्छन्–
१. खोपपछि बिरलै मात्र असामान्य अवस्था देखिन्छ । यस्ता घटनामा समयमै उपचार नहुँदा बालबालिकाको ज्यान जोखिममा पर्न सक्छ ।
२. विभिन्न चिह्न तथा लक्षण देखापर्न सक्छन् । जस्तै, उच्च ज्वरो, सुई लगाएको ठाउँ धेरै रातो हुनु तथा धेरै सुन्निएर पाक्नु, एकै स्थानमा धेरैलाई एकै समयमा उस्तै समस्या देखापर्नु ।
३. सुई लगाएको ठाउँबाट रगत बगिरहनु ।
४. बच्चा लामो समय (२—३ घण्टाभन्दा बढी) रोइरहनु ।
५. बच्चाले दूध चुस्न वा खाना खान नसक्नु वा कम गर्दै जानु ।
६. अन्य असामान्य चिह्न तथा लक्षण देखापर्नु । जस्तै, कम्पन तथा बेहोस हुनु ।

उपचार
दादुराको कुनै विशेष एन्टिभाइरल उपचार छैन । यो रोगका कारण हुने कडा जटिलताहरूलाई सहयोगी उपचार, स्याहारका माध्यमले कम गर्ने प्रयास गरिन्छ । राम्रो पोषण, पर्याप्त तरलपदार्थ सेवन र शरीरमा देखिएको पानीको कमीलाई जीवनजल ओरल रिहाइड्रेसन साल्टका माध्यमले उपचार गरिन्छ । जीवनजलले पखाला र बान्ताका कारण शरीरबाट निस्किएको तरलपदार्थको परिपूर्ति गर्छ । आँखाको संक्रमण र निमोनियाको उपचार गर्न एन्टिबायोटिकसमेत दिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय