स्वास्थ्य मन्त्रालय विधिबाट चलेको छैन : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालय विधिबाट सञ्चालित नरहेको बताएका छन् । सोमबार औषधि व्यवस्था विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री ढकालले मन्त्रालयका कर्मचारीले काम गर्ने परिपाटी विधिसंगत नभएको बताएका हुन् ।

‘हामी के कम ? भनेर कसैलाई पनि नटेर्ने परिपाटी मन्त्रालयमा छ । ठूलो संगठन वा शक्तिको आडमा कसैलाई गन्नुहुँदैन भन्ने हिसाबले होला, विधिको कुराभन्दा पनि जबर्जस्तीबाट चल्छ भन्ने परिपाटी रहेको छ,’ मन्त्री ढकालले भने, ‘यो परिपाटी क्रमशः कमजोर हुँदै जान्छ । यसलाई विधिभित्रबाट हिँडाउने प्रयास गर्छु ।’

राजनीतिमा लागेर आफूले प्राप्त गरेको पद दुरूपयोगका लागि प्रयोग नगर्ने मन्त्री ढकालले दबी गरे । पदको दुरुपयोग गरेर पैसा कमाउन नभएर सेवाका लागि मन्त्रालय आएको जिकिर गर्दै मन्त्री ढकालले पैसा कमाउने काम आफूबाट नहुने बताए । विगतमा ठूला मान्छेहरूको संलग्नतामा मन्त्रालयमा अनियमिता हुने गरको खुलासा गर्दै उनले अब आफू प्रवेश गरेसँगै अनियमिताको अन्त्य हुने दबी गरे ।

‘माथि बुझाउनुपर्छ भनेर कसैले तल केही अनियमितता गर्यो भने सोझै त्यो कारबाहीमा पर्छ,’ मन्त्री ढकालले भने, ‘त्यस्ता कर्मचारीलाई म संरक्षण गर्दिनँ ।’

स्वास्थ्य क्षेत्रमा धेरै बेथित रहेको मन्त्री ढकालले बताए । ‘राज्यले पैसा तिरेर मेसिन किन्छ, बिरामीलाई सेवा गर्नुपर्ने मेसिनहरू कोठामा प्रवेश हुन पाउँदैनन्,’ मन्त्री ढकालले भने, ‘बाहिर बसेर तिनीहरूको इहलीला समाप्त हुन्छ । सेवाको पक्षभन्दा पनि त्यहाँ अतिरिक्त पक्षले काम गरेको छ । अब यस्तो परिपाटी दोहोरिँदैन ।’

मन्त्री ढकालले आस्थाका आधारमा व्यक्तिको मूल्यांकन नगर्ने तथा कसैलाई पनि आग्रह–पूर्वाग्रहका आधारमा नहेर्ने प्रतिबद्धता व्यक्त गरे । अबका दिनमा कर्मचारी कार्यालयमा आएपछि १० देखि ५ बजेसम्मको कामको लेखाजोखा सम्बन्धित प्रमुखले हेर्नुपर्ने बताउँदै मन्त्री ढकालले काम नगर्ने कर्मचारीलाई कारबाहीको दायारमा ल्याउने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय